काँडाको फुल - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काँडाको फुल

  • सन्जित फलना

गोधुली साँझको पहेँलो खस्दैगरेको फाल्गुनन्द चोकको सडकमा बस झ्याप्प रोकियो । बाहिर सिमसिम पानी परिरहेकोले खलासिले ढोका उघार्दा बाछिटा हुरुरु सिटभित्र छिर्यो । उसले एकएक गर्दै यात्रुहरुलाई ओराले । सबै यात्रुहरु आ–आफ्नो सरसामान बोक्दै बसबाट छिटछिटो ओर्ले । म पनि डिकिबाट ब्याग झिकेर ढोकाबाट बाहिर निस्किएँ । पानीले सडक चिप्लो बनाएको थियो । निस्कनु बित्तिकै बाछिटाले भेटाइहाल्यो । म हतारहतार एउटा होटलतिर दौडिएँ ।

‘दाइ’ – कसैले हतारमा बोलाएझैँ लाग्यो । यसो पछाडि फर्केर हेरेँ ।
हातमा बालक बोकिरहेकि एकजना वहिनि सडकमा दुईवटा ब्यागहरु बिसाएर उभिरहेकि थिइन् ।
‘यो झोला उयाँ परसम्म बोकिदिनुस न’ – ओँठभरि आसाको मुस्कान फिजाउँदै उनले मलाइ आग्रह गरिन् ।

त्यतिखेरै खलासिले ढोकामा ‘ढ्याप ढ्याप’ गरेर ड्राइभरलाई हिँड्ने संकेत गर्यो । ड्राइभरले हुइँया गाडी हुइँकायो । बसको चक्काले सडकको हिलो उछिट्याएर ति बहिनिको लुगाभरि लाग्यो । मैले केहि नबोलि उनको छेउ गएर ब्याग उठाएँ । व्याग निक्कै गह्रौँ थियो । पानी अझ जोडले पर्न थालेकोले ब्याग बोकेर छिटोछिटो होटलतिर लागेँ । उनि पनि दगुर्दै मेरो पछिपछि आइन् ।

मैले होटलको एउटा टेबलमा ब्यागहरु राखेँ । अनि भिजेको टाउको र कपडाहरु पुछेँ । उनि पनि टेवलमा बसेर नानिलाई वर्किले गुम्स्याँउन थालिन् । त्यसपछि घोप्टिएर अघि गाडीले भिजाएको लुगा पुछिन् । हेर्दा भर्खरको जस्तो देखिने ति वहिनिले साधारण कुर्ता सुरुवाल लगाएकि थिइन् । कपाल खज्मजिएर भुङ्ग उडेको थियो । पानीले भिजेर सिउँदोमा सिन्दुर लत्पतिएको थियो । न त अनुहार मा कुनै श्रृङ्गार थियो न त गलामा कुनै गहना नै । हातमा भने कुनै धामको चिनोजस्तो एउटा पुरानो डोरि बाँधेकि थिइन् । समग्रमा एक साधारण गाउँले केटि देखिन्थिन् ।

‘अनि कहाँबाट आएकि वहिनि चैँ ?’ – जिज्ञासु हुँदै सोधेँ ।
उनले मलाइ पुलुक्क हेरि अनि घोप्टिँदै जवाफ दिईन् – ‘माथि स्यावाबाट ।’
‘ए अनि कतासम्म हिँडेको नि ?’ – भित्र होटलतिर हेर्दै फेरि सोधेँ ।
‘यैँ सम्म आको ।’ – नानिको भिजेको लुगा फेरिदिँदै उनले विस्तारै जवाफ फर्काइन् ।

साँझ ढलेर झमक्क अध्याँरो हुँदै थियो । सडकछेउको विल्डिङहरु काला काला देखिन थालिसकेका थिए । विल्डिङका वरपर तन्किएको विजुलीका तारहरुमा बसेर भिजेका प्वाँखहरु फट्कार्दै चराहरु कल्याङमल्याङ गरिरहेका थिए । पानी जोडजोडले पर्न थालेकोले बाहिर सवारि र मान्छेहरुको भिड कम हुँदै जाँदै थियो ।

‘अनि अब कता जान्छौँ ?’ – मैले फेरि सोधेँ ।

उनले अघिकै जसरि मलाई पुलुक्क हेरेर घोप्टिइन् । तर यसपल्ट मेरो प्रश्नको उत्तर दिइन । त्यत्तिकैमा उनको नानि रुन थाल्यो । उसले संकोच मान्दै अर्कोपट्टि फर्किएर कुर्ता सुर्किइन् अनि नानिलाई दुध चुसाइन् । मैले साहुजीलाई एकप्लेट थुक्पा र दुईकप चिया मगाएँ । साहुजीले भित्र किचनतिर फर्केर कामदारलाई अर्डर दियो । एकैछिनमा एकप्लेट थुक्पा लिएर एकजना कामदारले हाम्रो अघिल्तिर राखिदिए ।

‘दाइ चिया बन्दैछ । एकैछिन पर्खिदिनुस है’ – यति भनेर

त्यो कामदार किचनतिरै लाग्यो ।

‘ल वहिनि चिसो छ यो थुक्पा खाउ’– मैले सहृदयि हुँदै बहिनिलाई भने । उनले थुक्पा खान अफ्ठ्यारो मानिन् । तर मैले कर गरेपछि भने उनले नखाई धर पाइनन् । एकैछिनमा चिया पनि आइपुग्यो । उनको अघि एक कप राखिदिँदै एक कप आफैले पिउन थाले । चिसोमा चियाको चुस्किले भित्रसम्म तताइदियो । चिया पिइसके पछि मैले बिल तिरे ।

त्यतिन्जेलसम्म झमक्कै अँध्यारो भइसकेको थियो । वाहिर लगभग पानी रोकिने छाँटकाँट थिएन । भोलिपल्ट विहानै संखुवासभा जानु थियो मलाई । त्यै भएर आज राति यहिँ होटलमा बस्ने निर्णय गरे ।

‘खै त मेरो जवाफ दिइनौ नि, अब कता जान्छौ भनेको ?’ – मैले फेरि सोधे ।

‘थाहा छैन’ – यति भनेर उनले अघिकै जसरि टाउको निहुराइन । उनको यस्तो उत्तरले मलाइ एक्कासि सिरिङ्ग बनायो । साथसाथै आश्चर्यचकित पनि । झरिमा रुझेर दमक रातको झिलिमिलि बत्तिहरुमा जसरि खुल्न चाहिरहेको थिएन त्यसरि नै खुल्न चाहिरहेकि थिइनन् उनि पनि मेरो सामुन्ने ।

‘अनि यहाँ कसलाइ भेट्न आएको त ?’ – मलाई जसरि पनि रहस्य खोतल्नु थियो ।

‘म त काम खोज्न आको दाई । वरु मिल्छ भने यहाँ साहुजीलाई भन्दिनु न’ – उसको यस्तो उत्तरले यसपल्ट भने मलाइ नमिठो झट्का लाग्यो । के भनुँ के नभनुँ भयो । एकमनले त उनलाई त्यहिंँ छाडेर भागुँ जस्तो नि भयो । तर मेरो स्वाभिमान र पुरुषार्थले रोकिएँ । अर्को कुरा मलाई उनिबारे थप जान्न इच्छा बढ्यो । त्यसपछि मैले आज यहिँ होटलमा बस भनेर खान र बस्न ब्यवस्था मिलाइदिए ।

राति सङ्गै खाना खायौँ । त्यसपछि उनको ब्याग बोकेर साहुजीले देखाएको कोठातिर लागेँ । उनि मेरो पछिपछि आइन् । साहुजीले हाम्रो लागि दुईवटा कोठा देखाइदिनु भएको थियो । मैले एउटा कोठामा उनको ब्यागहरु राखिदिएँ । उनले व्यागबाट तन्नाहरु निकालेर नानिको निम्ति ओछ्यान बनाइन् । अनि कम्वल र ढसनाहरु पनि निकालिन् । मैले सव टुलुटुलु हेरिरहेँ ।

‘तपाइँलाई दुख भयो है दाइ ?’ – उनले कृतज्ञता ज्ञापन गर्दै भनिन् ।

‘के को दुख हौ ! गर्न सकेको त गरिहाल्छु नि !’ – मैले भने । उनि नानि सुताउने तर्खर गर्दै थिइन् ।

‘अनि ज्वाइँ चैँ खै त ?’ – मलाई उनको वारे जान्ने हुटहुटि बढेकोले मुख खोल्न मन लागिहाल्यो ।

उनले एकपटक मेरो अनुहार पुलुक्क हेरिन् अनि लामो सास तानेर सवै बेलिबिस्तार लाउन थालिन् ।

सानैमा बुवा बितेर आमाले दुखले हुर्काएकि फुङमालाई गाउँमा सवैले फुङ भन्थे । फुङ फुलजस्तै सानैबाट राम्री थिइन् । तर अनुहार राम्रो भएपनि नियति राम्रो हुन सकेन फुङमाको । पाँच कक्षा पढेर बिध्यालय जान पाइनन् उनि । कारण थिए उनका भाइबहिनि । आमाले मेलापात र गाईबाख्रा भ्याउनुपर्ने भएकोले सानो भाइबहिनिहरु हेर्नुपर्ने जिम्मा उनको हुन्थ्यो । भाइबहिनि हरुको राल सिङ्गान पुछ्दिनदेखि दिशापिसाव सोहोर्ने सम्म काम उनैले गरिन् । बेलाबेला भाईबहिनि बोकेरै उनि घराधन्दाको कामपनि भ्याउँथिन् । सानैबाट मिजासिलि र बोलक्कड फुङमालाई गाउँलेहरुले खुबै फुर्क्याउँथे । उनले बिस्कुट र चाउचाउको लागि भाइबहिनिलाई घरमा सुताएर गाउँलेहरुलाई धेरैपटक काम सघाइन् ।

यसरिनै हुर्कि फुङमा । दुखहरुसङ्ग खेल्दै । नियतिसङ्ग जुद्द्दै घरि स्कुसको झ्याङसङ्गै जेलिन्थिन् उनि घरमा । घरि लहरासङ्गै जेलिन्थिन् जङ्गलमा । आफुले पढ्न नपाएपनि भाइबहिनिले भने राम्रोसङ्ग पढ्न पाओस भन्ने सोच्थि उनि । भाईबहिनिहरु आफै हिँडडुल गर्न सक्ने भएपछि भने आमालाई मेलापातको काममा सघाउन थालि । बिहानै उठेर एकभारि घाँस ल्याउने दैनिकि हुन्थ्यो उनको । त्यसपछि भने घरको काम र मोर्चा बनाउन सरसामान जुटाउन लाग्नुपर्थ्यो । सप्तमी बजारमा हरेक शनिबार मोर्चा बेच्न जान्थिन् उनकि आमा । आमालाई मोर्चा बनाउन सघाउँदासघाउँदै बिस्तारै मेलापात नि आफै गर्न सक्ने भइन् । त्यहिँ दशामी मेलामा पहिलोपटक भेटेकि थिइन् मणिलाई ।

मणि अर्थात डोरमणि बस्नेत । घर फुएँताप्पा । फुएँताप्पा बाट एउटा थोत्रो बाइक चढेर लगभग हप्तैपिच्छे बजार आउँथ्यो उ । बजारमा मर्चा बेचिरहने फुङमालाई एकोहोरो देखेपछि मनपराउन थाल्यो । अनि सोल्टिनिको साइनो गाँसेर मर्चा किन्ने निहुँ गर्दै बिस्तारै नजिकियो । मिठो गफ गर्न थाल्यो । मणिले घरमा सानो खुद्रा पसल छ त्यहाँ लगेर मोर्चा बेच्छु भन्दै भन्थ्यो उनलाई । फुङमा पनि बैसको उकालो टेक्दै थिइन् । सप्तमी बजार माथिको फुङ्सेन डाँडाँहरुजस्तै पुक्क पुक्क उठ्न थालिसकेको थियो उनको छाति । एँसेलुजस्तो रसिलो हुन थालेको थियो उनको अधर । कोहि केटाले जिस्काउँदा भित्र कताकता काउकुति हुन थालेको थ्यो उनलाई । उनलाई त्यसरि पहिलोपटक खेदो गर्ने मणि नै थियो । सुरुसुरुमा त मणिलाई उनले खासै मतलव गरिन । तर एकोहोरो भेटघाट र बोलचालले भने अलिअलि प्रभाव पार्न थाल्यो । कसैसङ्ग नलजाउने उनलाई आफैसङ्ग लाज लाग्न थाल्यो । त्यसै बोलक्कड र सोझि उनि कतिखेर मणिको मायाँजालमा परिन् थाहै पाइन ।

त्यसपछि उनिहरुको मायाँ सप्तमीको साँघुरो बजारहरुमा नआँट्ने भयो । फुङसेनको खुला डाँडाँहरुजस्तै फराकिलो बन्यो । फक्ताङलुङजस्तै अग्लियो । फुङमाको आँखाले बजार आउनबित्तिकै सबैभन्दा पहिले मणिलाई खोज्थ्यो । मणिको हालत पनि उहिँ । भर्खर सत्र पुगेकि उनलाई आफुभन्दा तिन बर्ष जेठो मणिले एकदिन अचानक भगाउने प्रस्ताव राख्यो । उनलाइ एक्कासि यस्तो प्रस्तावले झसक्क झस्कायो । आमा र भाइबहिनिले के भन्ला भनेर सोचिन् । दुख बुझेकि उनले आफु पढ्न नपाएनि भाइबहिनिलाई पढाउने खुब धोको राखेकि थिइन् । कम्तिमा उनले आमाको दुखलाई आधानै हल्का गरेकि थिइन् । अर्को कुरा यो सब एक्कासि भइरहेको थियो । त्यै भएर मणिको प्रस्ताव उनलाई ठट्टाझैँ लाग्यो ।

तर प्रारभ्ध र लेखान्तले मान्छेलाई डोर्याउँछ क्यारे । या त परिस्थिले यसरि गुजार्छ । आफ्नो नाम लेख्नमात्रै जानेकि उनले भाग्यमा के लेखिएको थियो बुझ्न सकिन । त्यहिँ अन्जान भाग्यले डोर्याएर एकदिन उनलाई मणिको घर पुर्याइ छाड्यो । खासमा त्यो दिन छिट्टै मर्चा बेचेर घर फर्कने सुरसारमा थिइन् फुङमा । मणिले बजारबाट अलि परको चौतारिमा भेट्न बोलायो । थुन्से ओखरबोटे बोजुकोमै छाडेर चौतारीमा गइन् उनि । लगभग आधाघण्टा गफ गरेपछि मणिले उहिँ प्रस्ताव गरेर हत्ते गर्न थाल्यो । फुङमाले धेरै इन्कार गरिन् । तर बिचमा बलियो भएर उभिदियो मायाँ । अन्तत मणिको जिद्दिअघि उनको केहि जोर चलेन । मोर्चा बेचेको आठ नौ सय झोलामा थियो । त्यहिँ बोकेर उनि सुटुक्क मणिसङ्ग फाच्चा हिडिन् ।

यस्तो मायाँ र बिस्वासले खुसि भएर फुएँताप्पा पुगेकि उनलाई पहिलो गाँसमै ढुङ्गो पर्यो । घर भित्र्याउनको साटो सासुको अस्विकारले उनि छाँगाँबाट खसेजस्तै भइन् । एक त लिम्बुनी ।अर्को कुरा भर्खर सत्र बर्षकि । उनले सासुबाट भेट्नु नभेट्ने बचन खेपि । जहाँबाट आइ त्यतै फर्किने धम्किसमेत पाई तर ससुरा र मणिले जे भयो सकियो भनेर बिस्तारै सम्झाउँदै गएपछि भने उनको चर्कोपना अलि मत्थर भयो । फुङमाले घरमा प्रवेश त पाइ तैपनि एउटा न एउटा बहाना बनाएर दिनमा सासुबाट बचन पाएकै हुन्थि।उनि एकैछिन बस्न पाउँथिन घरमा । गाईभैँसि र खेतबारि उनकै जिम्मामा हुन्थ्यो । खुद्रा पसलको गफ त्यसै फकाउन गरेको रहेछ मणिले । मणिसङ्ग बिहे गरेर खुसि हुनको साटो दुखि बनेकि उनलाई माइतबाट नि आमाले खुब नराम्रो भनेछ ।
त्यसको अनुहार पनि हेर्न नपरोस भन्दै मुर्मुँरिदै आमा रोएको खबर उनले एकदिन बजार जाँदा ओखरबोटे बोजुबाट सुनिन् । काम गर्न नभ्याएर मोर्चा बेच्न पनि छोडिछ उनकि आमाले ।

सासुको मन नफर्केसम्म बच्चा नजन्माउने सोच थियो उनको । मणिसङ्ग नि त्यस्तै सल्लाह गरेकि थिइन् । तर एउटै ओछ्यान भएपछि कहिले हो कुन्नि पेट बसि हालेछ । मासिक रजस्वला हुन हप्तादिन अघिबाट उनलाई अचानक चक्कर लाग्न थाल्यो । टाउको नि दुखेजस्तो भयो । सुरुमा त उनले कामको चाप र पिरले होला भनेर मणिलाई केहिपनि सुनाइनन् । तर हुनुपर्ने समयमा पनि रजस्वला नभएपछि भने मनमा चिसो पस्यो । अनिमात्रै सुनाइन् मणिलाई । मणिले रवि बजार घुम्ने बहाना बनाएर जाँच गर्न लग्यो । डक्टरले फुङमाको पिसाव प्रेग्नेन्सि किटमा हालेर जाँच गर्यो । छाति र गुप्ताङ्गको अलि माथिसम्म जाँच गर्यो । अन्तत फुङमा दुइजिउकि भएको प्रमाणित भयो । बाँसको टुक्राजस्तो देखिने त्यो प्रेग्नेन्सि किटमा दुइवटा रातो धर्का बसेको रहेछ । यसरि दुइवटा धर्का बस्दा पेट बसेको हुन्छ भन्ने पहिलोपटक जानिन् फुङमाले । अब उनिहरुलाई फसाद पर्यो । जेनतेन आँट गरेर मणिले बच्चा फाल्ने राय सुनायो । तर डक्टरले पहिलो बच्चा यस्तो गर्न दिएन । त्यसपछि निरास भएर उनिहरु घर फर्के । घर फर्कुन्जेल आपसमा केहिपनि बोलेनन् । दुबैको अनुहार निरासाले रातो भएको थियो ।

बिस्तारै फुङमाको पेट बढ्न थाल्यो । घरपरिवार र छिमेकि सबैले थाहा पाए । पेट बोकेर एकदुई महिनाबाट मणिको स्वभाव भने एक्कासि बद्लिन थाल्यो । उ फुङमासङ्ग झर्किन र रिसाउन थाल्यो । घरको काम सघाउन छाडेर बाहिर–बाहिर डुल्न थाल्यो । घरमा एकमात्र सहारा भन्नु नै मणि थियो उनको लागि । उसले नै यसो गरेपछि नलाग्नु दुख लाग्यो फुङमालाई । तर दुख मानेर नि के गरोस बिचरिले । उनले यसलाई नि नियतिनै सम्झेर जबरजस्ति पचाउन थालि । पछिपछि त बानि लाग्यो । उनि एक्लै भएको बेला घरमा खुब रुन्थिन् । बेलाबेला भित्तामा टाउको नि ठोक्काउथिँन् । उनको निदारमा कालोकालो खत प्रष्ट देखिन्थ्यो ।

पुसको चिसो महिना उनले बच्चा जन्माइन् । सुरुमा त झण्डै पराणै गएको थियो । धन्न फर्कि । छिमेकि दिदि र भाउजुहरुले खुबै सहयोग गरे उनलाई । कार्किनि दिदिको मायाँ र सहयोग बिशेष अतुलनिय थियो । तेलले टाउको सेकाई दिनेदेखि कपाल कोरिदिनेसम्म काम उनैले गरिदिइन् । मणि बाहिर बाहिर हिड्थ्यो । त्यतिबेलै हो उनलाई पहिलोपटक लोग्नेमान्छेहरुसङ्ग घृणा लागेको ।

छोरो जन्मेको खबर उता माइतमा पनि पुगेछ । तर उताबाट कुनै प्रतिक्रिया आएन । आमाको मन दुखाएकोमा उनलाई हिनताबोध भयो । भाइबहिनिको खुब याद आयो । दिमागमा माइतघर नाच्न थाल्यो । नानिलाई दुध चुसाउँदै बालापन र गाउँघर सम्झिन थालिन् । दमालि साथिहरुसङ्ग घाँसदाउरा गरेको याद गर्न थालिन् । बिगतका फ्ल्यास ब्याकहरु एकएक गर्दै आँखाअघि उघृन थाल्यो । तर छोराको मायाँले ति सब सम्झनाहरु दुर गरिदियो ।

छोरो एकदुइ महिनाको भएपछि उनले पहिलेजस्तै काम गर्न थालि । भ्याएको बखत खेताला नि धाउँथिन् । सम्भावित दुख सम्झेर यसरि अलिअलि पैसा बनाउन थालि । मणि प्राय दिनैजसो गाउँ डुल्थ्यो । र साँझ मातेर आइपुग्थ्यो । उनलाई लोग्नेको छेउ पर्न मन त पर्थेन तर एउटै ओछ्यान मणिले कतिखेर खुट्टा चढाइहाल्थ्यो । तर यसपटक भने फेरि पेट बोकिने डरले फुङमा सजक र चलाख भएकि थिईन् ।

यसरिनै बित्यो एक बर्ष । दुखदुखजस्तो खुसि बाँढेर । सुखसुखजस्तो दुख बाँढेर।समग्रमा अलि बढि पिडा थपेर ।

अब त उनलाई लोग्नेको खासै वास्ता नि लाग्न छाडेको थियो । उनि घाँसदाउरा गर्दा जङ्गलमा चराचुरुङ्गिहरुसङ्ग गुनगुनाउँथिन् । खेतबारिमा खोल्सा खोल्सिहरुसङ्ग सुसेल्थिन् ।
उनको लागि चौतारि र देउरालिहरु सबैभन्दा प्रिय थिए।जहाँ बिसाउँथि उनि उच्छवासहरु।मनको भारिहरु । उ घाँसदाउरा बिसाएर ति चौतारिहरुमा घण्टौँ टोलाउथि । सरसर चल्ने बतासहरुमा केस फिजाउँथि र आफैलाइ स्फुर्ति भएजस्तो भान गर्थि।

चौतारीमा टोलाउँदा टोलाउँदै एकदिन कसरी हो कुन्नि उनलाई घर छाड्ने मनसाय भयो । हतारहतार घर आइन् । अनि स्थिति बुझ्न थालिन् । लोग्ने सधाझैँ गाउँमै हुन्थ्यो । ससुरा र सासु आ–आफ्नै काममा ब्यस्त । उनले त्यसरात खाना खाइसकेर सब घरधन्दा सकिन् । अनि कोठामा पसेर खेताला गरेर जमाएको पैसा झिकिन् । लगभग पाँच, छ हजार भएको रहेछ । ठिक त्यहिँ रात चैँ मणि घर आएन । उनले ब्यागमा आफ्नो, अनि छोराको सब कपडाहरु ठिक पारिन् । ढसना र तन्नाहरु अर्को ब्यागमा ठिक पारिन् । त्यसरात उनलाई निद्रै परेन । छटपटि र उकुसमुकुस भइरह्यो उनको मन । धन्न दुईबजे निद्रा पर्यो । बिउझँदा साढे चार बजेको थियो । आधाघण्टाजत्ति उनि ओछ्यानमै ढल्किरहिन् । जाडोको बेला प्राय मान्छेहरु अबेला मात्रै उठ्थे । पाँच बजेपछि भने उठेर नानि अनि ब्यागहरु बोकेर हतार हतार रवितिर लागिन् । बाटोमा धन्न कसैले देखेनन् । रवि पुग्दा साढे ६ बजेको थियो । रविमा बिहानको खाजा खाइन् । लगभग सात बजेपछि दमकको बस आइपुग्यो । हतारहतार ब्यागहरु चढाएर सिटमा बसिन् । साढेसाततिर बस हिड्योँ । झ्यालबाट रविको डाँडाकाँडा, धुपिसल्ला र तुँवालोले हल्का छेलिएको मधुरो फक्ताङलुङ हेर्दै उनि दमक झरिन् । उनलाइ कतिखेर दमक पुगुँमात्र भइरहेथ्यो । तर सडक निर्माण हुँदैगरेकोले चारघण्टाजत्ति माङमालुङ जङ्गलमा बटो जाम भयो ।

उनले आफ्नो कहानी सुनाइरहँदा कतिबेला हो कुन्नि आँसु चुहिएको पत्तै पाइन रैछ । मैले रुमाल दिएँ । उनले रुमालले आँसु पुछिन् । उनको त्यस्तो हृदयबिदारक कहानीले मलाई मर्ममै प्रहार गर्यो । र पुरुष हुनुको हिनता बोध नि भयो । त्यसपश्चात भोलि काम खोजिदिने आश्वासन दिँदै आफ्नो कोठामा लागेँ । अनि दमकको साथी मिलनलाई कल गरेर सबै सुनाएँ । गोर्खाली चोकमा उसको भर्खरै खोलेको एउटा ग्यारेज थियो– ‘विलर्स एम्पायर’ । संयोगले त्यहाँ एकजना खाना बनाइदिने कामदार चाहिएको रहेछ । मैले उसङ्ग भोलिबिहानै बहिनि भेटाइदिने कुरा गरेर ओछ्यानमा पल्टिएँ ।

बिहान ति बहिनिलाई मिलनसङ्ग भेटाएर खाँदबारीको गाडी चढेँ । बाटोभरि ति बहिनिको अबोध, शान्त र सुन्दर अनुहार झलझलि याद आइरह्यो ।

सम्बन्धित खवर