संगीतलाई प्रेम गर्छु : उमा सङबाङफे - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीतलाई प्रेम गर्छु : उमा सङबाङफे

शुरुमा सांगीतिक क्षेत्रमा आफ्ना पाइला चाल्दै गर्दा गायिका उमा सङबाङफेलाई परिवारबाट खुब गाली खानु परेको थियो । तर पनि डटेर गीत संगीतमानै लागेर सुमधुर, कोकिल आवाजमा गीतहरु गाउन थालेपछि पछिल्लो समयमा परिवारबाट साथ र सहयोग समेत मिल्न थालेको उमाको भनाई छ । यसरी सुख दुःखको अनुभूतिहरु संगाल्दै, सांगीतिक यात्रामा संघर्ष गर्दै, गीत संगीतमानै स्थापित हुन अवसरको पर्खाइमा रहेकी गायिका उमा सङबाङफे पछिल्लो पुस्ताकी उम्दा प्रतिभा हुन् । सबैसँग घुलमिल हुन सक्ने भएपनि लजालु, हँसिलो र मिजासिलो स्वभावले उनको चिनारी झल्काउने सम्भावना बोकेकी प्रतिभा हुन् उनी ।

‘बसैमा चडी आउनु है सानु’ बोलको लोक आधुनिक गीत पहिलो पटक रेकर्ड गरेर गायिकाको रुपमा दर्बिलो उपस्थिति जनाएकी उमा गीत संगीतप्रति उत्साहित भएर कला क्षेत्रमा होमिएकी बताउँछिन् । आफ्नो कला प्रतिको उत्साह र जोसलाई नै प्रेरणाको स्रोत मान्ने उनी साथीसंगीहरुको हौसलालाई शक्तिको रुपमा लिएर अघि बढ्दै गरेको उनी बताउँछिन् । त्यसमा अहिले आएर परिवारको समेत माया र सपोर्ट मिसिन्दां थप उर्जा मिलेको उनको भनाई छ ।

संगीतले सबैलाई मोहित बनाउने उनको भनाई छ । संगीत सुर, ताल र भावनाको संगम भएकोले यसको माध्यमबाट मनका भावहरु सजिलैसँग पोख्न सकिने उमा बताउँछिन् । किरात धर्म सम्वद्ध सांस्कृतिक समिति किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय कलाकार समेत रहेर कला क्षेत्रमानै भविष्य खोजिरहेकी उनी कला क्षेत्रमा सोचे अनुरुपको सहज परिस्थिति नरहेको तर निरन्तर संघर्ष, मिहेनत र लगनशिल भएर अघि बढ्यो भने कलाक्षेत्रमा बाँच्न सकिने उमा बताउँछिन् । भविश्यमा समेत गीत संगीतमानै रहेर समाज र देशको लागि जीवन व्यतित गर्ने गायिका सङबाङफे बताउँछिन् ।

प्रेम आत्मिय भावनाको रुप हो, प्रेम महसुस गर्नु हो, प्रेममा संसारका सवै प्राणीहरु रमाइरहेका हुन्छन् भन्दै मुसुक्क मुस्कुराउदै, आफ्नो प्रेम प्रसंगमा केहीँ नबताएकी उमा इलामको माङसेबुङ–३, इभाङमा जन्मेकी हुन् । हाल दमकमा बस्दै आइरहेकी उनी संगीतको अलावा पढाइलाई निरनतरता दिँदैं आएकी छन् । सुरभी कला केन्द्र दमकबाट संगीतको औपचारिक शिक्षा लिइरहेकी उमा गीत संगीतको गहिराईसम्म डुबुल्की मार्नै संकल्पका साथ संघर्षको मैदानमा उत्रेकी प्रतिभा हुन् ।

हालसम्म बसैमा चढी आउनु है सानु, भिरमा बस्ने भिर मौरी, उभौली बर्खा बेलामा जस्ता गीतहरुमा र थुप्रै कोरसहरुमा आवाज दिइसकेका उमाले चाडै अन्य गीतहरु बजारमा ल्याउने बताउँछिन् । गायनको अलावा मोड्लिङको समेत अनुभव बटुलेकी उमाले तीन वटा गीतमा मोडलिङ गरेकी छन् । सधैं आफनै मिहेनत र लगनशिलतामा विश्वास राख्दै र हिम्मत जुटाउँदै अघि बढ्ने अठोट लिएकी उमा संगीतप्रति प्रेम रहेको छ र जीवनको अन्तिम पलसम्म संगीतलाई प्रेम गरिरहने उमा बताउँछिन् ।

प्रस्तुति :आन्छुमे नसान

(प्रस्तुत फिचर माङसेबुङ मासिकको फागुन अंकमा प्रकाशित फिचर हो)

सम्बन्धित खवर