नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराईलाई ढाकाटोपी ओडाएर कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष कोकिला ढकाल । तस्वीर :सुनिता राई
इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाको नवनिर्वाचित युवराज भट्टराई (विप्लव) नेतृत्वको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ ।
बुधवार सम्पन्न निर्वाचनमा विजयी भएसँगै भट्टराई नेतृत्वको नयाँ निर्वाचित कार्यसमितिले निर्वाचन समितिबाट निर्वाचित भएको आधिकारिक प्रमाणपत्र पाएपछि शुक्रबार कार्यभार सम्हालेको हो ।
शाखाका निवर्तमान अध्यक्ष कोकिला ढकाल नेतृत्वले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई नेपाली टोपी ओढाएर कार्यभार हस्तान्तरण गरेकी थिइन् ।
नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका भट्टराईले प्रेस संगठन नेपालका सुजन तिमसिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । भट्टराइले खसेको १ सय ५५ मतमध्ये १ सय ६ मत प्राप्त गरेर निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी तिमसिनाले ४८ मत मात्र प्राप्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष ख्याम भुजेल र सुनिता राई, सचिव भीम चापागाई, सहसचिव प्रेम अधिकारी र ज्ञानु लिम्बू तथा कोषाध्यक्ष राम योङहाङले जिम्मेवारी सम्हालेका छन् ।
यस्तै सदस्यहरुमा सुजाता सुनुवार, तीलबिक्रम दर्जी, काकीराम लावती, रमेशकुमार पराजुली, गोविन्द भट्टराई, किरण पौड्याल, गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा, बालकृष्ण बस्नेत र भगीरथ भण्डारी रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु
जिल्लाका १ सय ७५ सदस्यहरुमध्ये १ सय ५५ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।
यस्तै केन्द्रीय परिषद सदस्यमा प्रभाकर प्रधान, विजयशेखर भट्टराई, कौशिला खिम्दुङ राई, राजकुमार दाहाल र शिव मुखिया निर्विरोध निर्वाचित भएका छन् । प्रदेश परिषद सदस्यमा गोविन्द पौडेल, जीवन शर्मा, दिनेशकुमार महत र वेदमाया मुखिया (सोनु), गोविन्द लामिछाने, सोमनाथ सुनुवार, विमल दाहाल, योगेन्द्र शंकर, रीता राई, प्रविण सेलिङ, सङसेमी माङयुङ र सरीता राई निर्विरोध निर्वाचित भएका छन् ।
इलाममा नेपाली कांगेंस निकट नेपाल प्रेस युनियन, नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी निकट प्रेस मञ्चबीच गठबन्धन भएको थियो भए नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन नेपाल एकल चुनावी मैदानमा उत्रेको थियो ।
निर्वाचन समितिका संयोजक केशवकुमार धौरालीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य उत्तम पौडेल, नवनिर्वाचित प्रदेश समिति सदस्य तोयानाथ भट्टराई, निवर्तमान प्रदेश उपाध्यक्ष सोम सुसेलीलगायतको समेत उपस्थिति थियो । कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने गोपाल निरौला र वविता मैनालीलाई निर्वाचन समितिका तर्फबाट धन्यवादपत्र समेत प्रदान गरिएको थियो ।