काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ ।
महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमा विभाजित जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको जनाएको हो ।
सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको उनले बताए ।
यादव समूहको प्रेस विज्ञप्ति
यसैगरि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरे लगत्तै ठाकुर पक्षले पनि यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासनको निर्णय भएको जसपाका नेता केशब झाले बताए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।