बाढीपहिरोका कारण पानीजन्य रोगबाट सचेत रहन स्वास्थ्य मन्त्रालयको अपील - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाढीपहिरोका कारण पानीजन्य रोगबाट सचेत रहन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । बाढीपहिरोको कारण पानीजन्य रोगहरु फैलन सक्ने भन्दै सबैमा सचेत रहन स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।

सरकारले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपील गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गरी केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजक हुनु जरुरी रहेको बताएका हुन् ।

‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले अहिलेको विषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउने कार्य गरिरहेको र बाढीपहिरोका कारण बेपत्ता भएका नागरिकहरुको खोजी तथा प्रभावित व्यक्तिहरुको उद्धारमा सरकारका सबै संयन्त्र परिचालन भएको र यस कार्यमा सहयोग गर्न समेत अपील गरिएको डा. अधिकारीले बताए ।

 

सम्बन्धित खवर