आज गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिंदै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिंदै

कास्की । आज (शुक्रबार) गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिंदैछन् ।

आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा यसबारे जानकारी गराइसकेको प्रवक्ता खड्काले बताए ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ । गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद छन् ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ ।

सम्बन्धित खवर