आधा दशक अगाडि पूर्वाञ्चल स्तरिय सिङिगङ रियालीटी सो ‘तिम्रो धुन मेरो स्वर’ मा सहभागी भएर पाँचौ एपिसोडबाटै बाहिरिएपछि भने गीत संगीतको यात्रा टुङ्गिएछ भनेर गीत संगीतलाई त्यागेर गरीबीका कारण देशको सेवा गर्दै घरको आर्थिक स्थितिलाई समेत सुधार गर्ने सपना बोकेर आर्मीमा जागिर खान भर्ति हुन खोज्दा आर्मिबाट पनि आउट भएपछि पुनः गीत संगीतमा लागेको हुँ भनेर मन भित्रका तितामिठा पलहरु सेयर गर्ने, गीत संगीतमा जीवन खोजिरहेका प्रतिभा हुन् विरपन थेगिम लिम्बू ।
पन्ध्र वर्षको छँदादेखिनै गीत संगीतको आकाशमा उडान भरेका वीरपनलाई थाहै भएनन् उनको गरीबीनै बाधक बन्छ भनेर । तब मात्र महसुश भयो जब गरीबीकै कारण आफ्नो प्रतिभालाई स्रोता दर्शक सामु पु¥याउन सकेन । तर पनि अलिकति पनि हरेश खाएन् वीरपनले । अन्तत, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सदस्य तथा कलाकारमा आवद्ध भएपछि भने गीत संगीतमा अघि बढ्नलाई टेवा मिलेको उनको भनाई छ ।
किरात स्पन्दन भाग–७ मा संग्रहीत गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको गीत ‘कोक्माहिम केयुङमा तरेमा’ गीतमा गायिका थोकफेला लिङ्देनसँगै आवाज भर्न पाएपछि पहिलो पटक गीत रेकर्डिङको समेत अनुभव वटुलेका गीतकार तथा गायक वीरपनले त्यो समयलाई अत्यन्तै खुशीको क्षण सम्झन्छन् । भिडियोको छायाँकन समेत सकिएको र चाडैं सार्वजनिक गर्ने वताउने उनी स्वर सम्राट नारायण गोपालको गीत सुनेरै गीत संगीतमा लाग्ने प्रेरणा मिलेको र उहाँको गीत सुन्दा सुन्दै कैयौं पटक रोएको समेत वताउँछन् ।
संगीतलाई सुख दुःखको सहाराको रुपमा परिभाषा गर्न रुचाउने वीरपन गीत संगीतबाट यस्तो आनन्द मिल्छकि जो कोहीले मन मुटु भित्रको दुख, दर्द सजिलै भूलेर आनन्द लिन सक्छ, जो कोहीको लागि मल्हमपटि बन्न सक्छ भनेर सुनाउँछन् । धेरै अगाडिनै गीति एल्वम निकाल्ने सोच भएपनि गरीबीकै कारण नसककेको बताउँने उनले हालसम्म ‘कोक्माहिम केयुङमा तरेमा’ ‘यो धर्तीमा’, ‘केनिङवा सिगाङ’ लगायका गीतहरुमा आवाज भरिसकेका छन् भने ‘कोक्मानु फाङजङ’ र ‘केनिङवा सिगाङ’ को शव्द सृजना गरिसकेका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका ३ आम्चोक, रातमाटेमा असोज २८ गते जन्मेका वीरपन परिवारको माया आर्शीवाद र सपोर्ट भरपुर रहेको बताउँछन् । उनी परिवारकै माया, सपोर्ट र हौसलाको कारण गीत संगीतमा निरन्तर लागि परेको सुनाउँछन् । सरल जीवन तर अर्थपूर्ण जीवन व्यतित गनुपर्छ भन्ने कुरामा विश्वास राख्ने वीरपन, सरल अनि मिजासिलो स्वभाव र सहयोगी भावनोले भरिएको मनकारी अनि जो कसैसँग खुलेरै हासिमजाग गर्ने प्रतिभा हुन् ।
प्रस्तुति : आन्छुमे नसान
(प्रस्तुत फिचर माङसेबुङ मासिकको चैत अंकमा प्रकाशित फिचर हो)