मुन्धुममा वर्णित व्याधिहरु - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुन्धुममा वर्णित व्याधिहरु

  • आङबुहाङ अबोध अविरल

थालनी

भनिन्छ — सुनेपछि देखिन्छ, देखेपछि भोगिन्छ । यस्तै भएको छ—विश्व व्याधि नेपालीका लागि । कोरोना उब्जिएको, फैलिएको, मानिसलाई दुःख दिएको र ज्यान लिएको अप्रिय समाचार सञ्चार माध्यमबाट सुनियो, देखियो । पोहोर शहरमा कोरोना आयो । यो साल भने गाउँसम्मै पुगिसक्यो यमराज बनेर । कोरोना व्याधिले लाखौंलाई सताइसकेको छ । करिब दश हजारको ज्यान लिइसकेको छ ।

समय बित्दै जाँदा नयाँ रोग र महामारीहरुले आइरहेका छन् । पछिल्लो तीन दशकमा करिब १० वटाजति महामारीले मानिसको ज्यान लिइसकेको छ । सार्स, इबोला, वर्डफ्लु, स्वाइन फ्लु, एच.आइ.भि. र कोरोना आदि महामारीहरु हुन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अध्ययन गरिने मुलुकहरुमा फैलिएको महामारी र रोगबारे धेरै तथ्याङ्क पाइन्छ । तर, वैज्ञानिक अनुसन्धान र स्पष्ट आलेखनको अभाव भएको हाम्रो समाजमा कस्ता रोग र महामारीहरुले हाम्रा पुर्खाहरुलाई सताएको थियो भन्ने कुरा हामीलाई कमैमात्र थाहा छ । तर, हजारौं वर्ष मौखिक परम्परामा रहेको र महागुरु फाल्गुनन्दले लिखित रुपमा ल्याउनुभएको किरात साम्जिक मुन्धुममा थुप्रै व्याधिहरुको उल्लेख पाइन्छ । जसले हाम्रो समुदायसँग कस्ता व्याधिहरुको अनुभव छ भन्ने अनुमान गर्न सकिन्छ ।

मुन्धुममा वर्णित व्याधिहरु

किरात साम्जिक मुन्धुम भाग १—८ मा मानिसलाई सताउन अनेक व्याधिहरु उल्लेख भएका छन् । ‘आदुक्किले कुदाप्माङ ताजेक्मा साम्जिक मुन्धुम’, ‘आदुक्किले खन्जमा ताजेक्मा साम्जिक मुन्धुम’, ‘आदुक्किले तेनेबा साम्जिक मुन्धुम’, ‘आदुक्किले थुङदाङबा साम्जिक मुन्धुम’, ‘आदुक्किले पुङ्साम साम्जिक मुन्धुम’ लगायतका मुन्धुममा विभिन्न व्याधिहरुको उल्लेख गरेको पाइन्छ ।

कुदाप्माङ ताजेक्मा मुन्धुम (पृष्ठ १८ र १९) मा उल्लेख भएका केही व्याधिहरु यस्ता छन्—‘मिधुङ मिराक तुङ’, ‘सुदङ—मुदङ तुङ’, ‘हक्सिप्मा हक्याम्मा तुङ’, ‘इरेम ताप्लेम लमा तुङ’, ‘थाप्मा तुङ’, ‘थक्पा कुबु यङघङ कुस्सा तुङ’, ‘सेमुरिक यघङवा तुङ’, ‘पाधुङगेन लेत्ङामा तुङ’, ‘वैक्चामा तुङ’, ‘साक्फाक चिरेप्मा तुङ’, ‘खोङभाक्केन यङाप्मा तुङ’ र ‘केत्तकेन् योभाप्मा तुङ’ । यस्तै, ‘पित्चागेन् साम्भोक तुङ’, ‘मेवा कुनाम तुङ’, ‘सेन्दाङ कुला तुङ’, ‘मुन्धुम खेसे तुङ’, ‘मुन्धाम शेरी तुङ’, ‘तरक ताङसाङ तुङ’, ‘केजङ सुरित तुङ’, ‘मिधुङ मिराक तुङ’, ‘चभत्थुङवा तुङ’, ‘इक्सा साम्बेक तुङ’ र ‘आबुकुसिङ थत्लक्मा तुङ’ ।

यसरी नै ‘पोक्ला कुलुम खाक्क्राक्मा तुङ’, ‘थेगेक तुङमा तुङ’, ‘निङवा इमा तुङ’, ‘याम्सोमा तुङ, फक्वा लेङवा तुङ’, ‘नाम्धुप्पे लाधुप्पेरे पोधुप्मा तुङ’, ‘सावाजा लम्मा तुङ’, ‘सिक थाक तुक्मा तुङ’, ‘लुङमा तुक्मा तुङ’, ‘साम्पोक तुक्मा तुङ’, ‘लाङभो हुक्भो ओमा तुङ’, ‘येत्फुङ ओमा तुङ’, ‘थक्लिगेन साम्माङ तुङ’, ‘साम्मागेन केमाङ तुङ’, ‘इक्सा साम्बेक कुघा तुङ’, ‘तुतिगेन कुमो तुङ’, ‘अजमा तुङ, पिरिप्मा तुङ’ आदि ।

कुदाम्पमाङ क्रोधित भएमा कारण साढे तीन दर्जनबढी बेथा र व्याधिहरु उब्जिने मुन्धुममा उल्लेख भएको पाइन्छ । माङनै हावा हुरी, अग्नी, जल, चट्याङ, पृथ्वी र आकाश सबैका धनी माङ भएको र माङ क्रोधित भए यी सबै व्याधिको रुप लिएर मानिसलाई दुःख दिने मुन्धुममा उल्लेख छ । मुन्धुममा उल्लेखित केहीँ व्याथाहरु शरीरमा हुने विभिन्न विराम र दर्दका बारेमा छन् । केही चाहीँ प्राकृतिक तत्वहरुमा हुने असन्तुलन र खललको बारेमा छन् ।

शरीरमा दर्द सिर्जना गर्ने केही व्याधिहरु ‘सुदङ मुदङ तुङ’ (लाटिने बौंलाउने), हक्सिप्मा हक्याम्मा तुङ (चिलाउने दुख्ने), इरेम ताप्लेम लमा तुङ (लल्याक लुल्युक हुनु), थाप्मा तुङ (ज्वरो आउनु), थेगेक तुङमा तुङ (टाउको दुख्ने), निङवा इमा तुङ (रिङगटा चल्ने), याम्सोमा तुङ (शरिर चिलाउने), फक्वा लेङवा तुङ (पानी फोकाहरु आउने), नाम्धुप्पे लाधुप्पेरे पोधुप्मा तुङ (सोला हान्ने), सावाजा लम्मा तुङ (मौरीले चिलाए जस्तो), सिक थाक तुक्मा तुङ (दिमाग दुख्ने), लुङमा तुक्मा तुङ (मुटु दुख्ने), साम्पोक तुक्मा तुङ (पेट दुख्ने), लाङभो हुक्भो ओमा तुङ (हात गोडाका जोड्तीहरु दुख्ने) आदि उल्लेख छन् ।

माङ क्रोधित भए प्राकृतिक तत्वहरु नै तुङ (व्याधि) को रुपमा मानिसमा आइलाग्ने मुन्धुममा उल्लेख छ । मुन्धुममा थक्पा कुबु यङघङ कुस्सा तुङ (कित पतङग रोग), सेमुरिक यघङवा तुङ, पाधुङगेन लेत्ङामा तुङ, सेन्दाङ कुला तुङ, मुन्धुम खेसे तुङ (तारा रोग), मुन्धाम शेरी तुङ (चट्याङ रोग), तरक ताङसाङ तुङ (चट्याङ), केजङ सुरित तुङ (हावा), मिधुङ मिराक तुङ (अग्नी), चभत्थुङवा तुङ (पानी), इक्सा साम्बेक तुङ (पृथ्वी) उल्लेख छन् । प्राकृतिक वस्तुमा आउने असन्तुलन र विरामले मानिसलाई सताउने उल्लेख छ ।

आदुक्किले खन्जमा ताजेक्मा मुन्धुम (पृष्ठ ३३ र ३४ मा) मा ‘साक्फाक्तिङ चिरेप्मा तुङ (सुकेनास)’, ‘फोङभाक्केन यङाप्मा तुङ’, ‘हुक्चिल्लेक लाङ्चिल्लेक तुङ (हातखुट्टा पल्टिने विराम)’ ‘अजमा, पिरिप्म तुङ (छाद्ने छेर्न विराम)’ लगायत थुपै्र व्याधिहरुको उल्लेख पाइन्छ । खन्जमा माङ क्रोधित भएर ‘तते खाङला’ (देव दण्ड दिने) उल्लेख गरेको छ । यसैगरी आदुक्किले तेनेबा साम्जिक मुन्धुममा शरिरका विभिन्न अंङगहरु बाँधिने व्याधिहरु उल्लेख छन् । जस्तै ‘थक खेङमा तुङ (जीउ कस्ने विराम)’, ‘मिक खेङमा तुङ (आँखा बाँध्ने विराम)’, ‘हुक खेङमा तुङ (हात बाँध्ने विराम)’, ‘लाङ खेङमा तुङ (खुट्टा बाँध्ने विराम)’ (पृष्ठ ३८) । तेनेबा माङले दण्ड दिन चाहेमा यस्ता व्याधिहरु मानिसको शरीरमा देखा पर्ने उल्लेख भएको पाइन्छ ।

मुन्धुम समाजको अनुभवहरुसमेत संग्रहीत छन् । वि.सं. १९७० को दशकदेखि महागुरु महागुरु फाल्गुनन्दले मुन्धुमलाई लिपिवद्ध गर्नुभएको पाइन्छ । वहाँ आफैमा मुन्धुमसावा हुनुहुन्थ्यो । महागुरुमा माङ लिन्छिनमा (प्रवेश) गरेपछि मुन्धुम फुर्ने र त्यसलाई वहाँको चेलाहरु, खास गरेर रनधोज नेम्बाङले किरात सिरिजङगा लिपिमा लिपिवद्ध गर्ने गर्थे । मुन्धुममा उल्लेख भएको व्याधिहरुले मानव समुदायले युगौयुगदेखि भोग्दै आएको व्याधिहरु हुन् ।

खाँचो मुन्धुमी औषधि पद्धतिको अनुसन्धान

मुन्धुममा उल्लेख व्याधिहरुको वैज्ञानिक अध्ययन र अनुसन्धान हुन सकेको थिएन, अझै पनि छैन् । ति व्याधिका वैज्ञानिक उपचार पद्धति विकास भएको थिएन, छैन । तर, तिनलाई निको पार्न या, साम्बा र सिदासाम्बाहरु विभिन्न जडिबुटीहरुको प्रयोग गर्दथे । यो परम्परागत औषधि पद्धति थिए ।

आधुनिक औषधि र उपचार पद्धतिको प्रभाव समाजमा नभइञ्जेल यिनै मुन्धुमी औषधि पद्धति समाजको औषधाी उपचारको आधार थिए । त्यसबेला धेरै ठूला महामारीहरुले समाजलाई प्रताडित पारेको थियो । त्यस्ता महामारीबाट बच्न अनेक जडिबुटीहरु प्रयोग गरिए । बेगल उपचार पद्धति विकास गरिएका थिए । ती प्रयोग आफैमा परिक्षण पनि थिए । विश्व पूँजीवादी प्रणालीमा प्रवेश गरेसँगै मुन्धुमी औषधि पद्धति हराउँदै गएका छन् । विश्वमा नयाँ भाइरसको जन्म र महामारीहरुको फैलिंदै जाने क्रम छ । आधुनिक औषधि विज्ञानले औषधि पत्ता लाउन नसकेको कोरोनाको महामारी आइरहेका छन् । यस्तो बेला परम्परागत मुन्धुमी औषधि पद्धति उपयोगी हुन सक्छ । खाँचो यसको वैज्ञानिक अध्ययन्को छ ।

(लेखक मङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको साउन अंकमा प्रकाशित लेख हो)

 

सम्बन्धित खवर