इलाम कांग्रेस सभापतिमा खड्काको प्यानलसहित उम्मेद्वारी घोषणा - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम कांग्रेस सभापतिमा खड्काको प्यानलसहित उम्मेद्वारी घोषणा

इलाम । नेपाली कांग्रेस इलामको सभापतिमा कांग्रेस नेता डम्बर खड्काले उम्मेद्वारी घोषणा गरेका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनमा इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् ।

खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए । खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छन् ।

खड्काको टिमबाट क्षेत्र नम्बर १ को सभापतिमा भीष्म प्रधान र २ बाट मनबहादुर बुढाथोकीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमा भने खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छैन ।

त्यस्तै, पालिका सभापतिमा समेत खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छ । इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बाँकी पालिकामा सहमतिको प्रयास भइरहेकाले अहिले सभापतिको उम्मेद्वार घोषणा नभएको खड्काले जानकारी दिए । सहमति नभए आफ्नो टिमबाट उम्मेद्वारी दिने उनको भनाइ छ । जिल्ला समितिको अन्य पदाधिकारीमा मातहतको कमिटीको निर्वाचन भइसकेपछि उम्मेद्वारी घोषणा हुने बताइएको छ ।

खड्काले आफूले पहिलो चरणमै सभापति जित्ने दाबी गरे । ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ,’ उनले भने, ‘मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दाबी छ ।

इलाममा कांग्रेसको सभापतिका लागि चारजना आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीनजनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।

सम्बन्धित खवर