जोडी फोटो - Mangsebung News
  • शुक्रबार, कार्तिक ०५, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जोडी फोटो

  • सन्जित फलना

देशमा दोस्रो चरणको महामारी सुरु भएको हल्ला एकाएक फैलिन थाल्यो । मानिसहरु डराउँदै रेडियो र टिभीमा समाचार सुन्न झुम्मिए । संक्रमणदर बढेर नयाँ रेकर्ड कायम भयो…. दैनिक कोभिड केस पुष्टि हुनेको संख्या झण्डै दस हजार पुग्यो …… । प्राय यस्तै समचारहरु हरेक बुलेटिनको हेडलाइन बन्न थाल्यो । जोखिम र असुरक्षा बढेकोले देशबासिहरुलाई सचेत र सुरक्षित हुन सरकारले आग्रह गर्न थाल्यो । जोखिमको सम्भावित क्षेत्रहरुमा मान्छेहरुको चहलपहल प्राय सुन्य भयो । देशका हरेक शहरहरुमा लकडाउन सुरु हुने निश्चित देखियो । गाउँबाट सहर झरेका मजदुर, बिद्यार्थी र ब्यवसायीहरु कुम्लो कुटुरो बोकेर आ–आफ्नो गाउँ फर्कन थाले ।

‘हाउ सेसेको आमा ! यसपालिको कोरोनाले त लाग्नेबित्तिकै मार्छ हरे नि हौ’ – नोकियाको साधा सेटमा साँझको समचार सुनिरहेको हर्कबोली ओछ्यानबाट खोक्दै बोल्यो ।

‘खै सबैले तेसोइ भन्छ’ – चुलाबाट खान उतार्दै जङ्गरानी बोली ।

‘भोलि राति १२ बजेबाट दमकमा पनि लकडाउन हुने हरे हौ’ – हर्कबोलिले फोन सिरानीमा राख्दै जङ्गरानीलाई सुनाइन् ।

जङ्गरानीले केही पनि प्रतिक्रिया नदिइ खाना पस्किन थाली ।

‘त्यसै बिरामी मान्छे । ज्यान जोगाउन गाह्रो भो है’ – हर्कबोली उदास हुँदै बोल्यो ।

‘आ एकदिन मर्नै पर्ने हो । काल आए मरुङ्ला नि, बेकार केको टेनसेन ? लु भात पस्किँए है’– खाना पस्किँदै जङ्गरानी बोलिन् ।

जङ्गरानीले खाना पस्केर हर्कबोलिको ओछ्यानमा लगिदिइन् ।

‘यो कोरोना कि सोरोनाको सातोले नि नछोड्ने भो हौ’ – ओछ्यानमा खाना राखिदिँदै जङ्गरानी बोली ।

‘लु तँ पनि खा है’ – खाना मुछ्दै हर्कबोलीले सोध्यो ।

‘भरै सेसेसङ्ग खान्छु’ – जङ्गरानीले भित्ताको फोटो पुछ्दै जवाफ दिइन् ।

‘कहाँ गाकोछ भात खाने बेला त्यो चैँ’– हर्कबोली ।

‘वाइफाई चलाउनु गयो होला नि हौ साथीहरुको तिर’– जङ्गरानी ।

‘यस्तो बेला डुलिराखोस जाँठा ’ – हर्कबोली ।

भोलिपल्ट बैसाक १९ गतेको दिन दमकबाट खचाखच मान्छेहरु खाँदेर पहाडको ट्याक्सीहरु आउन थाल्यो । गाउँ फर्किने पाँचथरको घुर्विसे पन्चमी, सप्तमी र रवितिरका मान्छेहरुको भिड हेर्नलायक देखिन्थ्यो । माङसेबुङकै ट्याक्सीले पनि दुई तीन ट्रीप गर्न थाल्यो । तराई झरेकाहरु आ–आफ्नो घर फर्किदा माङसेबुङमा माहामारीको निक्कै त्रास र जोखिम बढ्यो ।

बाहिरबाट आउनेलाई कसैले पनि रोक्ने कुरो भएन । उनिहरु ओइरिएपछी गाउँ पुर्ववत अवस्थामा नरहने भयो । वार्डका समितिहरु ट्याक्सीमा सचेतनाको बिगुल फुक्दै गाउँ वरिपरि हिँड्न थाले ।
‘अनिवार्य माक्स लगाउने…’
‘बिस मिनेटसम्म नियमित हातखुट्टे धुने……’
‘ब्यक्ती ब्यक्तिबिच कम्तिमा दुई मिटरको दुरि कायम गर्ने…’
आदि इत्यादि ।

बिद्यालय र पसलहरु सबै बन्द भए । मान्छेहरुले बाँसका किल्लाहरु गाडेर दोरि टाँङ्दै आ–आफ्ना घरहरुमा प्रवेस निषेध गरे । सडकमा सवारीहरुको चहलपहल पुरै ठप्प भयो । बाटोमा खेलिरहने केटाकेटीहरु घरभित्रै बस्न थाले । छिमेकीहरु गुँड लागेको चरिजस्तै आँगनमा निस्किएर रित्ता बाटा र सुनसान वातावरण हेर्दै टोलाउन थाले । टोलका सरोकारवालाहरु सेनिटाइजर छर्किदै घरघर डुल्न थाले ।

दमको दिर्घरोगी हर्कबोली थलिएको पनि लगभग एक महिना भएको थियो । सेसेले क्लिनिकमा गएर नियमित सालबुटामोल ट्याबलेट ल्याउँथ्यो । घरमा एउटा गाई र तिनचारवटा बाख्राहरु थिए । उसकी आमाले बाख्राहरु घरछेउछाउनै चराउँथीन् । उनी पनि सन्च त कहाँ हुन् र, बाथले चिसोमा घरिघरी गाह्रो बनाई रहन्थ्यो । तैपनि सेसेलाई हल्का होस भनेर घरको घरधन्दा सम्हाल्ने गर्थिन् । गर्मी महिनातिर र ठिकै हो जाडो समयमा चैँ भर्सक घरधन्दा गर्न नपरोस झैँ हुन्थ्यो ।

‘लिसिबुङ्गे जेठालाई पनि कोरोना देखापर्यो रे नि’

डढेलो जस्तै हल्ला फैलिन के बेर, गाउँमा पहिलोपटक महामारी देखापरेपछि सबैजना त्रासित भए । हप्तादिनबाट रुघा खोकी र ज्वरोले आक्रान्त लिसिबुङ्गेलाई बिराम नओर्लिएपछि स्वास्थ्यकर्मी बद्री सरलाई नि शंखा लाग्यो । त्यसपछी वार्डको पहलमा गाउँपालिकाबाट कीट झिकाएर जाँच गर्दा कोरोना देखायो । सुरुमा त लिसिबुङ्गे आफू संक्रमित भएको सुनेर एकदमै डरायो । तर बद्री सरले सान्तवना दिएर रोगलाई जित्न सकिने आत्मविस्वास दिएपछि भने उसको चिन्ता अलि मत्थर भयो । संक्रमित लिसिबुङ्गे भए नि डर र त्रासले भने गाउँका सबैजनालाई गिँजोल्यो । सबैले लिसिबुङ्गे संक्रमित हुनमा उसका छोरा हाङसिङलाई शंखा गरे । हाङसिङ दमकबाट अलिअली बिरामी हुँदै घर आएको थियो ।

हर्कबोलिलाई पनि अब पर्नु पिर पर्यो । दमले थलिएपनि उ बिरामी लिसिबुङ्गेलाई हेर्न अस्ति भर्खरै गएको थियो । दिउँंसोभरि नजिकै बसेर दुखसुख र महामारीको गफ गरेको थियो । उसले यी सब कुराहरु जङ्गरानीलाई सुनायो । जङ्गरानीले डराउनु हुँदैन भनेर ढाडस दिईन् । तैपनि उसलाई मनको बाघले खाइनै रह्यो । त्यसै पनि दिर्घरोगि । फेरि दिर्घरोगिहरु संक्रमित भयो भने गाह्रो हुन्छ भनेर बद्री सरले भनेको थियो । पक्कै पनि लिसिबुङ्गेबाट आफुलाई नि असर पर्यो होला भन्ने सोच्दै उ दिनरात दुखित भइरह्यो ।

मनको बाघले खान्छ भनेझै हर्कबोलीलाई ज्वरोले च्यापी हाल्यो । हाटखुट्टा गलेझैँ हुन थाल्यो । खाना रुच्न छाड्यो ।

बुबालाई लक्षण देखिएपछि सेसेले हतारहतार बद्री सरलाई फोन गर्यो । बद्री सरले हर्कबोलीको लक्षण मिल्दोजुल्दो पाएपछि ब्यागबाट कीट झिकेर जाँच गर्यो । सेसे र जङ्गरानी आत्तिसकेको थिए । नभन्दै किटमा दुइवटा धर्का देखियो ।

मृत्युको त्रासले हर्कबोलीको शरिर चिसो भएझैँ भयो । के गरौं कसो गरौं भयो । छिमेकिहरुले के भन्ला भनेर चिन्ता भयो । सेसे र जङ्गरानी पनि चिन्तित् भए । बद्री सर पनि भित्रभित्रै डराइसकेको थियो तर उसले आफ्नो धर्म छोडेन । छुट्टै कोठामा राखेर नियमित तातोपानी र खाना खान सुझाउँदै औषधी दिएर उ आफ्नो क्लिनिकमा गयो । सेसेले काठमाडौँमा भएको दिदि फुङचेलिलाई फोन गरेर बुबाको जानकारी दिइन् । उनले लकडाउनको कारण आउन नपाउने भन्दै खर्च पठाइदिने भइन् ।

लिसिबुङ्गे हुँदै हर्कबोली संक्रमित भएपछी भने छिमेकी र गाउँलेहरु घर बाहिरै निस्कन छाडे । सबैजना तातो खानेकुरा र बेसार पानी पिँउदै बस्न थाले । यता हर्कबोलीलाई बिसेक हुनको साटो झनझन ब्यथाले च्याप्दै लग्यो । त्यसै पनि बन्द कोठामा सकसपुर्ण भइरहेको उसले सुरुमा त खानाको स्वाद र गन्ध पहिचान गर्थ्यो । तर दुईतिन दिनदेखि भने स्वाद र गन्धको भेउ पनि पाउन नसक्ने भयो । शरीर लल्याकलुल्युक भई हिड्न नसकेर चौविसै घण्टा ओछ्यानमै पल्टिरह्यो । एकोहोरो ज्वरो र खोकिले सताइरह्यो । बिस्तारै सास फेर्नपनि गाह्रो हुन थाल्यो । सेसे र जङ्गरानीको त्रासको एपिसेन्टर झन बढेर गयो । सोचे यो कस्तो धर्मसंकट ? आफ्नो ज्यान जोगाउनु कि बिरामीको ख्याल गर्नु ? छिमेकिहरु हेर्न आउने कुरो त परकै भयो । बेलाबेला फोनमा के कसो छ भनेर सोध्ने गर्दथे । वार्डका समितिहरु प्रत्यक्ष अनुगमनको साटो फोनबाटै सान्तवना दिन्थे । प्राय सेसे घरको काममै ब्यस्त हुन्थे । स्याहार सुसार र औषधी उपचारको जिम्मा सबै जङ्गरानीको थियो । बिरामी लोग्नेलाई खाना र औषधी दिनअघि उनी ओछ्यान वरिपरि भक्कु सेनिटाइजर छर्थिन् । बेलाबेला त वाक्क लागेर त्यतिकै बस्थिन् फुङचेलिले आत्तिएर फोन गर्दै बुवाको अवस्था सोधिरहन्थिन् । बुबासङ्ग फोनमा बोल्न खोज्थी तर बिरामी हर्कबोली बोल्न सक्थेन । त्यतिबेला उनी डाको छोडेर रुन थाल्थिन् ।

एकरात हर्कबोलीलाई ब्यथाले च्याप्यो । उसको श्वास प्रस्वास रोकिएलाझैँ हुन थाल्यो ।

‘सेसे यता आइज त’ – आत्तिँदै जङ्गरानी कराइन् ।

सेसे माक्स लाएर दगुर्दै बुवाको कोठामा छिर्यो ।

‘यहाँ बस न, तेरो बुवालाई गाह्रो बनायो जस्तो छ’ – जङ्गरानी सुँकसुँक गर्दै रुन थालिन् ।

‘बुबा ए बुबा’– सेसेले बुबालाई बोलायो ।

हर्कबोलीले आँखा खोलेर मात्रै हेर्यो । बोल्न सकेन ।

म बद्री सरलाई फोन गर्छु ल…

सेसेले नम्बर डायल गर्यो । नेटवर्कको समस्याले फोन उपलब्ध हुन सकेन । उसले झ्याल खोलेर बाहिर हेर्यो । सिमसिम पानी परिरहेको थियो । कुहिरोले डाँडाकाँडा घपक्क ढाकेर अध्याँरोे भएको थियो । त्यतिकैमा बत्ती नि गयो । उसलाई के गरौं कसो गरौं भयो । ढुकढुकी एकदमै तुफानमा बढिरहेको थियो । आमा एकोहोरो रोइरहेकि थिइन् । सेसेले छिमेकी फौदसिङ काकालाई गुहार्यो । काका र काकी अँध्यारोमा टस बाल्दै आइपुगे । सेसेलाई अलि आँट आयो । उसले भान्सामा गएर बेसारपानी ल्यायो । बेसारपानी पिएपछि हर्कबोलीले थोरै सास फेर्यो । जङ्गरानीले हतारहतार आँसु पुछेर हर्कबोलीको बौंडिएको हातहरु घर्षण गर्दै मालिस गर्दिन थालिन् । फौदसिङ काकाले धुपौरोमा धुप बाल्दै जङ्गलीहरु मन्साउन थाल्नुभयो ।

‘स्याँठा यो गाउँको मान्छेहरु पनि पसुइ हो । छिमेकीलाई साह्रोगाह्रो पर्दा त’ – धुपौरो राख्दै फौदसिङ बिच्कियो ।

‘उनारु त निरोगीहरु, जोगिनु परेना । भरै हामीले कोरोना सार्दियुङ भने’ – आँखा मिच्दै जङ्गरानीले व्यंग्य पोखिन् ।

सेसेले आफ्नो कोठामा पसेर बद्री सरलाई फोन ट्राइ गर्यो । बद्री सरको नेटवर्क ब्यस्त देखायो । फेरि दिदिलाई ट्राइ गर्यो । दिदिकोमा सम्पर्कनै हुन सकेन । रिस उठेर फोन खाटमै फाल्यो । बुवा फेरि हिँक हिँक गर्न थाल्नुभो । उ हतारहतार बुवाको कोठामा छिर्यो । आमा फेरि डाँको छोडेर रुन थालिन् ।

‘यतिबेलै पानी नि दर्किनु पर्ने, बिच्किँदै फौदसिङले झ्यालबाट टाउको निकालेर छिमेकीहरुलाई बोलायो । सेसेले काकाको टर्च मागेर बद्री सरलाई घरैमा बोलाउन जाने कुरो गर्यो । छिमेकी खड्क दाइ, सुभामाइला तुम्बा र पृथिसिङ बाजे पनि आत्तिदैं आइपुगे । सेसे टर्च बोकेर आँगनमा निस्कियो । कुहिरो लागेकोले चारैतिर अँध्यारो थियो । टर्च बाल्दा थोरै उज्यालो देखिन्थ्यो । उ छिटोछिटो सास फेर्दै बद्री सरको घरतिर हिड्न थाल्यो । टर्चको उज्यालोमा उसलाई आफ्नै छाँयाले पछ्याएझैँ लाग्यो । कहिल्यै डर नलाग्ने उ यतिबेला भने पुरै डरसरि भो । शरीर चिसो भएझैं भो । टाउको फुल्लिएझैं भो । उ अघि बढ्नै सकेन । उ वरपर केहि पनि नहेरी फनक्क घर फर्कियो ।

आँगनीमा आइपुग्दा थाहा भो बुवाको प्राण गइसकेछ । उ अवाक भयो । उसको खुट्टा भासिएझैं भयो । शरीर गले जस्तै भयो । यस्तोबेला सधैं हिँडिरहेको बाटो पनि हिड्न कठिन हुँदोरहेछ ।बुवाको कोठामा पुग्न एकदमै गाह्रो भयो । बिस्तारै गह्रौं मन लिएर कोठाभित्र छिर्यो । आमा मेरिङ साम्लो गाउँदै रोइरहेकि थिइन् । फौदसिङ काकाहरु मुख थुन्दै होहल्ला गरिरहेका थिए । उ बुवाको छेउमा गएर उभियो । बुवाको मृत अनुहार हेर्यो । बुवा शान्त मुद्रामा लडिरहेको थियो । अशान्त त उसको मन थियो । लास भइसकेको बुवाको खुट्टा छोएर ढोग्यो । खुट्टाहरु चिसा भइसकेका रहेछ । त्यसपछि जुरुक्क उठ्यो । सबैले उसलाई हेरिरहेका थिए ।

‘मलाइ त अघि बाटोमा नै संकेत दिसकेको थियो ।’ – उ घुँक्कघुँक्क गर्दै बोल्यो अनि आँसु पुछ्दै आफ्नो कोठामा गयो । त्यतिन्जेलसम्म निक्कै छिमेकीहरु भेला भइसकेका थिए ।
‘यहाँ छिमेकी मरिसक्दा पनि तिमेरु चैं डराउँदै बस है ! स्याँठाहरु’ – फौदसिङले सबैजनालाई हकार्दै बत्तिको इन्तजाम गर्नतिर लाग्यो । सबैजना घोसेमुन्टो लाउँदै लासको वरिपरि बसे । लास रुङ्नु परेकोले लिसिबुङ्गेनी भान्सामा गएर आगो फुक्न थालिन् । सेसेले आँसु पुछ्दैै बुवाको निधारमा नयाँ ढक्की पैसा राखेर शिरपट्टि दियोकलस बाल्यो । सुभामाईलाले सेतो कपडा लिएर लासलाई ओढायो । खड्क दाई केटाहरु लिएर आँगनमा त्रिपाल टाँग्न हिँड्यो । पृथिसिङले फुङचेलिलाई सम्पर्क गर्यो । खबर सुन्नुबित्तिकै अत्तालिएकि फुङचेलि गाडी रिजर्भ गरेर श्रीमानसंगै रातिनै बाटो लाग्ने भयो ।

भोलिपल्ट बीस तिसजना छिमेकीहरु भेला भए । प्राय सबै टाढैबाट लासमा फुल चढाएर घरघर फर्के । दस पन्ध्र जना लाठेहरु मात्रै मलामी हिँड्ने भए । पाँच दस भाई खाडल खन्न बिहानै जङ्गलतिर गए । गाउँपालिकाबाट मलामीको सुरक्षाको निम्ति सेफ्टी पिपि, माक्स, सेनिटाइजर र ग्लोब्सहरु लिएर एम्बुलेन्स आइपुग्यो सेसे, खड्क दाई, फौदसिङ काका र रत्नेले लास बोके । त्यसपछि लासलाई जङ्गलतिर लगियो । फुङचेलि र उनको श्रीमानले लासलाई जङ्गलमै भेटे । बिक्षिप्त फुङचेलिलाई सम्हाल्न निक्कै गाह्रो भयो । सेसेकी आमा एकोहोरो मेरिङ साम्लो गाउँदै रोइरहेकी थिइन् । सेसेले मन दह्रो बनाउन खोजेपनि बुवालाई खाल्डोभित्र लाउँदा भने तुरुरु आँसु चुहिहाल्यो । उसले आँसु चुहाउँदै बुवाको मलिन अनुहार नियाल्यो । सुकेका ओठहरु नियाल्यो । गडिएका परेलिका डिलहरु नियाल्यो । चाउरी पर्दै गरेको बुवाको अनुहारमा पराजयको रेखाहरु छछल्किरहेको देख्यो । हिनताबोध उर्लिरहेको देख्यो । उसले बुवाको मृत शरीर हेर्न नसकि खाल्डोछेउको सखुवाको फेदमा गएर घोप्टिएर रुन थाल्यो । लास पुर्दैगर्दा घाम डुबेर आकास गोधेली भइरहेथ्यो । लाग्थ्यो पहेंलिदै गरेको साँझले पनि हर्कबोलीको मृत्यु हेर्न सकिरहेको थिएन । जेनतेन लास लुकाएर फर्किदा लगभग साँझ पर्यो ।

लास लुकाएको साँझबाट छाक बार्ने काम सुरु भयो । पृथिसिङ बाजेले कर्मकाण्ड सम्हाल्ने भयो । सेसेले बुवालाई पिण्ड दिन चाहिने सबै कुराहरुको बन्दोवस्त गर्यो । खाना, दाल, तरकारी, बिस्कुट, कोक, घिउ, फलफुल, मिठाई, दूध, पनिर……इत्यादि । त्यसपछी बुबाको फोटो अगाडि राखेर पिण्ड चढाउने कर्म सुरु हुन थाल्यो । जङ्गरानी पिर र सुर्ताले बिक्षिप्त भएकि थिइन् । त्यसमाथी भोको पेटले अझ कमजोर हुन थालिन् । उनी पिण्ड दिने कोठाबाट बाहिर निस्कदैनथिन । भान्साको काम सबै फुङचेलि र लिसिबुङ्गी काकिले सम्हालिन् । सेसे बस्तुलाई घाँसपात गर्न र सरसमान ब्यवस्थापनमै ब्यस्त रह्यो ।

चार दिनसम्म प्रत्येक साँझबिहान पिण्ड चढाइसकेपछि चोखिने कार्य सुरु भयो । परिवार, छिमेकी, आफन्त र इष्टमित्र सबैले नुनतेल छोएर चोखिए । जङ्गरानी झनझन थला पर्दै गइन् । सेसेले बद्री सर बोलाएर आमालाई जँचायो । त्यसै पिर परेको शरिरलाई ब्रतले झन् कमजोरी बनाएको रैछ । उनि बिस्तारै खानै खान नसक्ने भइन् । घरमा अर्को फसाद सुरु भयो । माङसेबुङ गाउँंपालिकाबाटै कोभिड संक्रमणले मृत्यु हुनेमा हर्कबोली पहिलो ब्यक्ती रहेछ । त्यै भएर चोखिने दिन गाउँपालिका अध्यक्ष एम्बुलेन्स लिएर सेसेहरुलाई भेट्न आयो । उसले संक्रमितबाट मृत्यु हुनेलाई ३५ हजारको दरले गाउँपालिका बाट सहयोग गर्ने बन्दोबस्त मिलायो । साथमा सुरक्षाको केही साधनहरु अनि बिरामीहरुलाई निशुल्क औषधीहरु बितरण गरि मृतकको बिवरणहरु लिएर गयो ।

बिस्तारै गाउँका अरु मानिसहरु बिरामी पर्न थाले । बिरामी पर्नेमा प्राय सबै बुढाबुढी थिए । सबैले सुरुसुरुमा भाइरल रुघाखोकी होला भनेर खासै वास्ता गरेनन् । बिस्तारै लक्षण मिल्ने भएकोले बद्री सरलाई जानकारी गराइयो । यस्तो बिकराल रुप देखा परेपछि बद्री सर पनि पुरै डराइसकेको थियो । उसले गाउँपालिकामा सम्पर्क गरेर स्वास्थ्यकर्मीलाई झिकायो । त्यसपछी एन्टीजेनबाट बिद्यालयको ग्राउन्डमा जाँच गर्ने कार्य सुरु भयो । सम्भावित पचास साठ्ठीजना बिरामीहरु सबै भेला भए । सेसेले उसकी आमालाई पनि लिएर गयो । जाँच गर्ने मेसिन नाकको प्वालभित्र हाल्दा हाछ्छिउँले सेसेको आमाको सिगाँनै निस्कियो । जाँच गरिसकेपछि सबैजना आ–आफ्नो नाक छाम्दै आँखा खुम्च्याउँथे । सबैले डराउँदै किटमा आफ्नो परिणाम पर्खिरहेका थिए । उनिहरुलाई संक्रमणको डरसंगै सामाजिक बिभेदको पनि चिन्ता थियो । केही छिनमा रिजल्ट देखा पर्यो । लगभग तीसजनालाई संक्रमण देखा पर्यो । त्यसमा सेसेको आमा नि परिन् । त्यत्रो संख्यामा बिरामीहरुलाई पोजिटिभ देखाउँदा मान्छेहरुले पत्याउनै सकिरहेको थिएन । सबैजना चिन्तित भएर घर फर्किए । बुवा गुमाइसकेको सेसेलाई झनै पिर पर्यो । गाउंँको युवायुवतिहरुको फेसबुकभरी कोरोनाकै अपडेट र स्टेटस पोस्ट भएको हुन्थ्यो ।

संक्रमणले यस्तो भयङकर रुप लिएपछि सबैजना डराए । वाडा समितिले बिद्यालयमा आइसोलेसन कक्ष सन्चालन गर्ने निर्णय गर्यो । प्राय आधाजसो संक्रमितहरु आइसोलेसन कक्षमा गए । कसैले काम गरेरै पचाउँछु घरैमा थन्किए । स्याहार पुग्दैन भनेर सेसेले आमालाइ चाहिं घरैमा राख्यो । फेरि बुवाको सुद्धाइँको निम्ति नि बन्दोवस्त गर्नु थियो । सुद्धाई नसकुन्जेल उसलाई आफुभन्दा गह्रौं भार बोकेकोजस्तो आभास भइरह्यो । सेसेकी आमा हरेक रात आफ्नो लोग्नेको फोटो हेर्दै रोइरहन्थिन् । आइसोलेसन वार्डमा रिकभर हुनेहरु घर फर्किए । रिकभर हुन नसकेका संक्रमितहरुलाई रातारात दमकको लाइफलाइन झारियो ।

‘लिसिबुङ्गे पनि बित्यो रे’

गाउँमा फेरि हल्ला फैलियो । सबैजना मृत लिसिबुङ्गेलाई हेर्न गए । उनी मुढा भएर पल्टिरहेको थियो । छोराछोरी र स्वास्नि रोइरहेका थिए । खड्क दाइले लासको वरिपरि सेनिटाइजर छर्कियो । अब चाहिं कसैलाई पनि बाँच्छौं भन्ने लाग्न छोड्यो । सेसेकी आमा झन् झन् चिन्ता लिन थालिन् । औषधि र खानामा सक्दो जोड गर्नुपर्ने उनलाई खानै नरुच्ने भयो ।

‘बित्थामा चिन्ता नगर्नु हौ’ – सेसेले ढाडस दिन्थ्यो ।

‘तेरो बिहे पनि नगरी बाउ खस्यो । अब म पनि खसेभने तेरो त बिजोक हुन्छ सेसे’ – यसो भन्दै जङ्गरानी ओछ्यानमा पल्टेर रुन थालिन् ।

अब भने गाउँमा लास उठाउनै समस्या हुन थाल्यो । मलामी हिँड्नेको संख्या झनझन घट्यो । ५, ६ जना भएर लासलाई जसोतसो जङ्गल पुर्याइयो । सबै मुन्धुम सकेर खाल्डोमा हाल्न आँट्दा सेसेलाई अचानक घरबाट फोन आयो । उ रत्नेको बाइक मागेर घर हुइँकियो । घरमा पुग्दा आमा मर्नु न बाँच्नु भएकि रहेछ । बद्री सरले अक्सिजन सिलिण्डरकै आवश्यकता हुने भएकोले धरान झार्न सुझाव दियो । फौदसिङले गाउँपालिकाको एम्बुलेन्स बोलायो । सेसेले छिमेकीकोमा ऋण खोजेर आमालाई धरान लग्यो । उसंगै लालधोज र बिर्खे पनि गयो ।

धरानको घोपामा पुर्याएर आमालाई एमर्जेन्सी वार्डमा राखियो । त्यसपछि कोभिड जाँच गरेर डाक्टरहरुले कोभिड वार्डमा सारे । अरुलाई भित्र जान निषेध गरियो । सेसे माङलाई प्रार्थना गर्नमै तल्लिन थियो भने लालधोज र बिर्खे उसलाई धैर्यधारण गराउनमै । घरबाट फुङचेलिले आमाको अवस्थाबारे सोधिरहन्थिन् । सेसे मोबाइलको रिङ बज्नसाथ अत्तालिने भएको थियो । लगभग त्यो रातभर आमालाई अक्सिजन दिएरै राखियो । उनको अवस्था निक्कै कृटिकल नै रहेको थियो । लालधोज र बिर्खे खाना खान क्यान्टिनमा गयो । सेसेलाई केही खान पनि मन परेन । उ आमालाई रुङ्दारुङ्दै भुसुक्कै निदायो । लालधोज र बिर्खे कतिबेला आएर सुत्यो उसले पत्तै पाएन ।

लगभग बिहानको चार बजेतिर डाक्टर उनिहरुलाई भेट्न आए । सेसे अनिदो र कमजोरिले उभिनै सकिरहेको थिएन । डाक्टरले उदास हुँदै भन्यो–”she is no more.” जङ्गरानीले प्राण त्यागिन् । डक्टरले कोभिड १९ को रिपोर्टसँगै डेथ सर्टिफिकेट ल्याएर दियो । सेसेलाई सबै सपनाजस्तो लागिरहेको थियो । सोच्यो यस्तो अकल्पनिय घटना फगत एउटा कहानि मात्रै होस तर यथार्थ उसकै अघि दुर्घटित भइरहेथ्यो । अनिदो र पीडाले सुकेका उसको आँखा र ओठहरुलाई आँसुले थोरै चिसायो । उ टाउकोमा हात राखेर थचक्कै भुइँमा बस्यो । जेनतेन आमाको अनुहार हेरेर बुवाको पीडा भुलिरहेको उ आमालेनै छोडेर गएपछि बेसाहारा भएझैं लाग्यो । घरमा सम्पर्क गर्ने काम बिर्खेले गर्यो । आमाको मृत्युको खबरले फुङचेलि मुर्छा परिन् रे । दस पन्ध्र मिनेटपछि मात्रै उनको होस आएछ । गाउँमा थप जोखिम बढ्ने भएकोले वार्डबाट लासलाई तलै व्यवस्थापन गर्न सुझाव आयो । आफन्तसँगको सल्लाहमा लासलाई सितापुरीको जङ्गलमा राख्ने निर्णय भयो । फुङचेलि, फौदसिङ काका र अन्य मलामीहरु ट्याक्टरमा झर्ने भए । सेसेले सम्पुर्ण बिल भुक्तान गर्यो हस्पिटलले लास डिस्चार्ज गरिदियो । अनि एम्बुलेन्स, मलामीको पिपि, सेफ्टी र सेनिटाइजरहरु पनि ब्यवस्था गरिदियो । त्यसपछि लासलाई प्याक गरेर सितापुरी लगियो ।

राजमार्गदेखि अलि मास्तिरको सितापुरीको चिहानघारिमा एम्बुलेन्स रोकियो । सितापुरीको आदिवासीहरुको चिहानहरु शान्तसँग निदाइरहेका थिए । बिहानको घाम मसलाको रुखहरु छिचोल्दै जङ्गल छिरिरहेको थियो । सेसेलाई त्यो घामले आमाको मृत्युको साक्षी बसेझैँ लाग्यो । उसले आमाको लागि ठाउँ रोज्यो । आँखाबाट तुरुरु आँसु चुहिएर भुइँमा खस्यो । उसले ती आँसु आमाको नाममा चढायो । लगभग एक घण्टापछि फौदसिङ काकाहरु आइपुगे । फुङचेलि ट्याक्टरबाट ओर्लनेबित्तिकै आमाको लास छेउमा गएर भक्काँनिदै रुन थालिन् । आमाको अनुहार कालो भएको थियो । लिसिबुङ्गी काकीले उनलाई सम्हालिन् । मलामीहरुले सुरुमा सेसेको आमाको लास हेरे । फौदसिङ काकाले एक रुपैँयाको सिक्काले जमिन किन्यो । त्यसपछि धमाधम खाल्डो खन्ने काम सुरु भयो । मलामीहरुले दुई घण्टामा खाल्डो खनिसके ।

पृथिसिङले मुन्धुम फलाक्न थाल्यो । लासलाई खाल्डोमा हाल्ने बेला भयो । सेसेले तिनपटक वरिपरी घुमाएर लासलाई खाल्डोभित्र हाल्यो । फुङचेलि आमासँगै खाल्डोभित्र पस्न खोजिन् । लिसिबुङ्गी काकि उनलाई सम्हाल्नमै ब्यस्त थिइन् । सेसे अर्कोपट्टि फर्किएर घुँक्कघुँक्क रुन थाल्यो । उसको शरीर पूरा भरिएजस्तो भयो । थाम्दाथाम्दै पनि उसले बान्ता गरिहाल्यो । लिसिबुङ्गेले खाल्डोभित्र छिरेर लासको गरगहना झिक्यो । प्राय सबै मलामीहरुको आँखा आँसुले टम्म भरिएका थिए । लासलाई फल्याकले छोपिसकेपछी मलामिहरुले माटो हाल्न थाले । सेवासाबाले टाउकोपट्टिबाट सातो झिक्दै भन्यो–

‘केरेक्ले आनि नोसाम्मिन् आलन्देए आलन्दे मेम्बिहौ’

सबैले एकैस्वरमा भन्यो– ‘आलन्दे आलन्देरो हौ’
त्यसपछि मट्टि दिने काम भयो । सबैले पछाडी फर्केर मट्टि दियो । सेसे र फुङचेलिले पनि आमाको नाममा मट्टि दियो । सेसेले मट्टि दिँदै स्वर्गमा आमाको आत्माको शान्तीपुर्ण बास होस भनि माङलाई कामना गर्यो । लास पुरिसकेपछि खाल्डो वरिपरि तिनपटक घुमेर आमालाई आगो दियो । फुङचेलिले घरबाट ट्याक्टरमा ल्याएका आमाका सबै लुगाकपडा र ओढ्ने ओछ्याउनेहरु खाल्डोमाथी राखेर जलाइन् । उनको आँसु अझैसम्म रोकिएको थिएन । सबैजनाले ढुङ्गाहरु भेलाएर चिहानमाथी राख्यो । सेसेले चिनोस्वरुप ढुङ्गाको थुप्रोमाथि एउटा लठ्ठी गाड्यो ।

लासको काम सक्दा लगभग पाउने १२ भइसकेको थियो । मलामीहरुहरुले पानी र बिस्कुटहरु लिए । सेसे एकोहोरो चिहान मात्रै हेरिरहेको थियो । उसको मनमा मर्न अघि आमाले भनेको एकएक शब्दहरु गुन्जिरहेथ्यो– ‘म पनि मरे भने तेरो त बिजोक हुन्छ सेसे’ खाल्डोमा नहालुन्जेलसम्म त उसलाई आमा आफ्नै छेउ भएको जस्तो लागिरहेथ्यो । तर अब भने आमा नभएको जस्तो लाग्न थाल्यो । उसलाई आमाको चिहान छोडेर कतै नजौं जस्तो भयो । घाम चर्किदै मसलाको टुप्पितिर चढ्दै थियो । तातिरहेको उसको आत्मा र शरिरलाई चिस्याउन एक झोक्का चिसो हावा चल्यो ।

‘हैन सेसे घर नफर्किनु ?’ – ट्याक्टरको छेउमा उभिरहेको लिसिबुङ्गेको आवाजले उ झसङ्ग भयो ।

उसले मलामीहरुतिर फर्केर हेर्यो । सबैजना ट्याक्टरको डालामा चढिसकेका थिए । उ हिँड्नै सकिरहेको थिएन । खुट्टा भासिएझै भइरहेथ्यो । उ एकोहोरो भएर सडकतिर हिँड्न थाल्यो ।

‘हैन कहाँ गाको हौ फेरि ?’ – फौदसिङ काकाको चर्को स्वरले उसलाई रोक्यो ।

उ आँखाको कचेरा पुच्छदै फनक्क फर्केर ट्याक्टरमा चढ्यो । अनि सबैभन्दा पछाडी फर्केर बस्यो । फुङचेलि र लिसिबुङ्गेनी ड्राइभरको पछाडी बसे । उसले एकोहोरो आमाको चिहान हेरिरह्यो । ट्याक्टर जति अघि बढ्थ्यो उसको आँखाबाट आमाको चिहान त्यति सानो–सानो हुँदै जान्थ्यो । सायद एकोहोरो चिहान हेरेर हुँदो हो उसलाई सम्पुर्ण संसार फिनिनी घुमेझैँ हुन थाल्यो । पाडाजुङ्गी हुँदै दमकको फाल्गुनन्द चोक कटेर ट्याक्टर रातुवा बगर छिर्यो ।

रातुवा बगरबाट उसले अग्लाग्ला चुलिहरु हेर्यो । चुलिहरुको ती साँघुरो खोचभित्र आफुलाई कतै भास्सिए जस्तो पायो । पहिरो भत्केर ती चुलिहरुको छाती खण्डहर भएका थिए । आमाको मृत्युले उसको मन घाइते । पिडाको क्या प्रतिबिम्ब, दुखको क्या संयोग ।

लगभग घर पुग्दा चार बजेको थियो । छिमेकी सबैजनाले आँगनीमा निस्केर उनिहरुलाई हेरे । कसै कसैले झ्यालबाटै टाउको निकालेर हेरिरहेथ्यो । सेसेको घरमा यत्रो घटना घटिसक्दा पनि उनिहरु भने स्वार्थको मखुण्डो ओडेर त्रास हटाउने बहाना गरिरहेका थिए । छिमेकीहरु सधैं मर्दाको मलामी कहाँ हुँदो रहेछ र ? सेसेलाई आफ्नै गाँउ पनि बिरानो लाग्यो । बद्री सरले सबैजनालाई सेनिटाइजर छर्किदियो । सबैजना ट्याक्टरबाट उत्रिएर आ–आफ्नो घरतिर लागे ।

फुङचेलि भान्साभित्र पसिन् । सेसे सरासर कोठामा छिर्यो । लुगाहरु फेर्यो । अनि आमाको कोठामा छिरेर भित्ताबाट बुवा र आमाको जोडि फोटो निकाल्यो । फोटोमा आमा र बुवा एक अर्कालाई हेर्दै बेफिक्री हांँसिरहेका थिए । उ फोटो हेरेर एकछिन रोयो । बुवालाई सम्झ्यो । आमालाई सम्झ्यो । बुवा र आमालाई सँगै राख्न नपाएकोमा दुखित भयो । त्यसपछि बुवालाई पिण्ड दिएको कोठामा गयो । अनि पिण्ड दिएको ठाउँंमा झुण्डिरहेको बुवाको फोटो हटाएर आमा बुवाको नयाँ जोडिफोटो राख्यो । स्वर्गमा पनि यसरिनै सँगै हाँसिराख्नु है, उसले मनमनै सोच्यो ।

त्यत्तिकैमा गोजिभित्र फोनको रिङटोन बज्यो । उ झसङ्ग भयो । खासमा उ फोनको रिङ्टोनलेनै झस्किने भइसकेको थियो । स्क्रीनमा औँला चलाउँदै फोन उठायो ।

हेलो ….सेसे भाइ, म नरेन्द्र सर ! गापा अध्यक्ष क्या !….. तँपाइको घरको अविश्वासनिय घटना सुने…. दुःख लाग्यो….. धैर्यधारण गर्नुहोला…. कोभिडबाट बितेका सबै मृतकलाई गापाबाट पैतिस हजारको दरले सहयोग गर्ने प्रावधान मिलाको छौं है…. हेलो…..

अध्यक्षले यति बोलिसक्दा नसक्दा फोन स्विच अफ भयो ।

 

 

 

 

 

 

सम्बन्धित खवर