माङ्सेबुङमा जेठ १२ बाट ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा - Mangsebung News
  • शुक्रबार, जेठ ०८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङमा जेठ १२ बाट ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ ।

माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनको तयारीबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उक्त दिन एक विशेष समारोहबीच लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए ।

माङ्सेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

माङ्सेबुङ गाउँपालिकाले नेपालको संविधानले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्न लागेको हो ।

माङ्सेबुङ गाउँपालिकाको ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘माङ्सेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४’ बमोजिम भाषिक सहजकर्ता नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताए । माङ्सेबुङ गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गरिएको उनले बताए ।

लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन गर्न सहजीकरणका लागि पाँचौँ तहको भाषिक सहजकर्ता करारमा नियुक्त भइसकेका छन् । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।

लिम्बू जातिको बाहुल्यता रहेको माङ्सेबुङमा बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ कामकाजी बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

वि.सं. २०७८ को जनगणनाअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ ।

सम्बन्धित खवर