पृथ्वीनै प्रलय भएपनि किरात सभ्यता बाँचिरहन्छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पृथ्वीनै प्रलय भएपनि किरात सभ्यता बाँचिरहन्छ : अङसीमाङ आत्मानन्द सेइङ

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ । पृथ्वीनै प्रलय भएपनि कुनै ठाउँमा युगयुगान्तरसम्म किरात सभ्यता बाँचिरहने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

शक्तिशाली मुलुकहरुको अबदेखि शक्ति कमजोर हुने युग आएको संकेत गर्नुहुँदै, वहाँले भन्नु भयो, ‘यो विश्व ब्रमाण्डलाई जसले सृष्टि गरे उसले मात्र बचाउँन सक्छ ।’

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना साथै मुबेक्वा सेवा समारोहमा आयोजित आशीर्वचन कार्यक्रममा अङसीमाङले सो कुरा बताउनु भएको हो ।

पर्यटकीय रुपमा मुलुकको आर्थिक स्रोत भएपनि अध्यात्मिक रुपमा हिमाल चढ्न हुने र नहुने दुइ किसिमको हुने भन्नु हुँदै अङसीमाङले फक्ताङलुङ (कुम्भकर्ण) हिमाल चढ्न नहुने हिमाल भएको बताउँनु भयो । फक्ताङलुङले फोहोर नसहने भएकोले पवित्र राख्न नेपाल सरकारले पर्यटकलाई हिमाल चढ्ने अनुमतिमा रोक लगाउनु पर्ने बताउँनु भएको छ ।

आशीर्वचनको शिलसिलामा अङसीमाङले अब अप्ठेरो युगको सुरु भएको बताउँनु भएको छ । अप्ठेराहरुबाट बच्न माङसेवामा विशेष ध्यान दिन आग्रह गर्नुहुँदै माङले चाहेमा जस्तोसुकै ठाउँबाट पनि बचाउन सक्ने वहाँले बताउँनु भएको छ ।

डाँडाडाँडामा गएर युमामाङको नाममा सेवा लगाउन सबैलाई अपिल समेत गर्नु भएको छ । कोरोनाको नयाँ रुप आउँदै गरेको संकेत गर्नु हुँदै वहाँले भन्नु भयो ‘फेरिन्दो कोरोनाको रुपप्रति चिन्तित बनेको छु ।’

पृथ्वीको तापक्रम बढ्दै गएको भन्नु हुँदै अङसीमाङले संसारमा थुप्रै परिवर्तन हुने संकेत गर्नु भएको छ । विश्व ब्रमाण्डको बारेमा आफूले गरेको भविष्यवाणी कुन कुन पुगेको छ र कुन कुन पुग्न बाँकी छ सबै अध्ययन गर्न पनि आग्रह गर्नु भएको छ ।

सृष्टिकालमै किरात लिपिको सुरुवात भएकोले सिरिजंगा लिपि नभई किरात लिपिनै नामाकरण गरिएको बताउँनु भएको छ । किरात लिपिलाई संरक्षण गर्नमा प्रथम श्रीजंगा, त्येअङसी सिरिजंगा, महागुरु फाल्गुनन्द, इमानसिं चेम्जोङ, लालसोर सेन्दाङ लगायत व्यक्तित्वहरुको अतुलनीय योगदान रहेको अङसीमाङले प्रष्ट पार्नु भएको छ ।

किरात धर्ममो लागि अनेकौं दुःखहरु सामना गरेर यहाँसम्म ल्याइपु¥याएको भन्नु हुँदै किरात धर्म र भाषा, लिपिको लागि झण्डै सहिद बन्नु परेको प्रसँग पनि अङसीमाङले जोडनु भयो । आशीर्वचनकै क्रममा छिट्टै केन्द्रीय किरात माङहिमको निर्माण कार्य सुरु हुने वहाँले संकेत गर्नु भएको थियो ।

मंसिर १८ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव समारोह समुदघाटन, शुभकामना मन्तव्य, सावायेहाङ नोमाङगेन्ना सेवासँगै नाहेन लाक्मा गरिएको थियो । भने, १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन सँगै साँझ दुवै दिनको सांस्कृतिक कार्यक्रम अन्तर्गत माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवालाई सावायेहाङ किरातहरुको नुमाङगेन्ना सेवा साथै मुबेक्वा (उधौंली) सेवाको रुपमा मान्दै आइरहेको मूल आयोजक समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माङगेन्ना समितिका अध्यक्ष योङहाङका अनुसार यसरी हरेक वर्ष मंसिर १८ र १९ गते किरातीहरुको केन्द्रीय धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा भव्य ढंगले किरात धर्मावलम्बीहरुले अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सव मनाउँदै आएका छन् ।

समारोहको माङसेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको संयोजनमा मंसिर १६ साक्मुरा वादेम्मा गरिएको र मंसिर १७ किरात हाङसाम मुजोत्लुङ माङहिममा येतनाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

जन्मोत्सव कार्यक्रममा प्रमुख अतिथिको हस्तबाहुलीबाट महाबत्तिमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । नुमाङगेन्नामा ६८ जना माङसेवासेवाहरुबाट माङगेन्ना मुन्धुम वाचन गर्नका साथै विश्व शान्ति मानव एकताको निमित्त १ लाख १ हजार १ सय आठ दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर