माङलाई आत्माबाट चिन्ने कमी मात्र छौं : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङलाई आत्माबाट चिन्ने कमी मात्र छौं : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ । हिमाल पर्वत खण्ड माङको पवित्र बासस्थान रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

माङको बासस्थान फोहोर भएपछि जलवायू परिवर्तन हुने गरेको अङसीमाङले बताउनु भयो । वहाँले भन्नु भयो, ‘जलवायू परिवर्तनले मानव समुदायमा प्रतिकूल प्रभाव पारेको छ ।’

किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण तथा किरात माङहिम उद्घाटन समारोहमा आयोजित आशीर्वचन कार्यक्रममा अङसीमाङले सो कुरा बताउनु भएको हो ।

माङप्रति विश्वास गरेर सेवाभक्ति गर्न सबैलाई आग्रह गर्नुहुँदै, वहाँले भन्नु भयो, ‘माङलाई आत्माबाट चिन्ने कमी मात्र छौं, विश्व ब्रमाण्ड बनाउने माङलाई कहिल्यै नभूल्नु ।’ अङसीमाङले थप्नु भयो, ‘यो विश्व ब्रमाण्डलाई जसले सृष्टि गरे उसले मात्र बचाउँन सक्छ ।’

विशेष गरी खानपानमा शुद्धि हुन सबैलाई आग्रह गर्नुहुँदै वहाँले दैनिक खानपीनमा शुद्धता भए मान्छेको आयू बढ्ने बताउँनु भएको छ । कोरोना भाइरसको रुप फेरिन्दै जाने संकेत गर्नु हुँदै अङसीमाङले प्राचिन पूर्खौली आयुर्वेदिक औषधिबाट यसको उपचार गर्न सकिने बताउनु भएको छ ।

आशीर्वचनको शिलसिलामा अङसीमाङले ५ हजार वर्ष पहिले यो ठाउँमा समुन्द्र बगेको बताउँनु भएको छ । वहाँले पछि फेरि समुन्द्र फर्कने संकेत गर्नु भएको छ । विश्व शान्ति मानव एकता स्थापनाको लागि सम्पूर्ण मानव समुदायमा शान्ति र एकता हुुने चेतना सबैमा आओस् भनि शुभ आशीर्वाद समेत प्रदान गर्नु भएको थियो ।

झापाको अर्जुनधारास्थित सालबारीमा नव निर्मित किरात माङहिम किरातेश्वर हाङसाम थेबा युमा माङहिम समुदघाटन तथा महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण गर्न मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको माङसवार भएको माङसवार कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

महागुरु फाल्गुनन्दलाई बढी किरात धर्मगुरुको रुपमा मात्र परिचर्चा गर्ने गरिएको भन्दै, वहाँ किरात धर्मगुरु मात्र नभई समग्र मानव समुदायको गुरु रहनु भएको दीप साँधुटारको अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सना, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम, अर्जुनधारा नगरपालिकाका मेयर हरीकुमार राना, शंखचार्य दीप साँधुटारको अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आइतबार सम्पन्न महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण तथा माङहिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेती रहनु भएको थियो । कार्यक्रम महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्व माननीय शेरबहादुर इङनामको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर