फोनिज प्रदेश नम्बर १ महाधिवेशनको तयारी अन्तिम चरणमा - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज प्रदेश नम्बर १ महाधिवेशनको तयारी अन्तिम चरणमा

पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

मोरङको पथरीशनिश्चरेस्थित सिन भिलेज रिसोर्टमा ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराका साथ पुष २७ र २८ गते सम्पन्न हुने फोनिज प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशनको आवश्यक पूर्वतयारी अन्तिम चरणमा पुर्याइएको अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिएका छन् ।

बिहीबार महाधिवेशन आयोजनास्थल सिन भिलेजमै पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष राईले अब प्रतिनिधिको अन्तिम नामावली विवरण तयारी, गेट निर्माण, झोला तयारी र केही प्राविधिक काम मात्रै बाँकी रहेको बताएका हुन् ।

कार्यक्रममा फानिज संघीय समितिका सचिव कमन देवानले फोनिजले देशैभरका ६० जिल्लामा जिल्ला अधिवेशनहरु सम्पन्न गरेको प्रादेशिक र संघीय महाधिवेशनको तयारीमा जुटिरहेको जानकारी दिएका थिए । फोनिज संघीय समितिको सातौं संघीय महाधिवेशन यहि माघ ७ र ८ गते चितवनको सौराहामा सम्पन्न गर्नेगरी तपारी अघि बढाइएको समेत देवानले बताए ।

महाधिवेशनको उद्घाटन प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो मौसमले गर्ने तय भएको छ । त्यस्तै सामाजिक विकास मन्त्री जयराम यादव, सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाङफे, फोनिज संघीय अध्यक्ष डण्ड गुरुङ, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई लगायत विभिन्न पत्रकारजन्य संगठनका प्रदेश समिति अध्यक्षहरुलाई उद्घाटनसत्रमा निमन्त्रणा गरिएको फोनिज प्रदेश १ महासचिव बिदुर खवासले बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरको प्रथम जाति धिमाल जातिको साँस्कृतिक नृत्यसहित केलाङ, साकेला, सन्थाल र झाँगड जातिलगायतको साँस्कृतिक झाँकी प्रदर्शन हुने उपाध्यक्ष फिपराज बेघाको भनाइ छ ।

महाधिवेशनमा सांगठानिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुने छ भने फोनिज प्रदेश नम्बर १ को मुखपत्र बिमोचन गरिने छ । त्यस्तै आदिबासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्न १० लाख रकम पुर्याउने गरी अक्षयकोष घोषणा गरिने तयारी रहेको कोषाध्यक्ष सुसन राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघको मोरङ जिल्ला उपाध्यक्ष मोहन भट्टराई, चलचित्र पत्रकार संघको पूर्व प्रदेश नम्बर १ का अध्यक्ष सन्तोष राईलगायतको उपस्थिति थियो ।

महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि सहभागी हुने आयोजक समितिले जनाएको छ ।

 

सम्बन्धित खवर