बन्ध्याकरणमा पार्टी महाधिवेशन र नपुंसक नेतृत्व - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बन्ध्याकरणमा पार्टी महाधिवेशन र नपुंसक नेतृत्व

  • विक्रम फागो वनेम

यसपटक सिंगो देश नै दलीय पार्टीहरुको महाधिवेशनमय बन्न पुग्यो । २०७२ को नयाँ संविधान जारीसँगै निर्वाचन आयोगको नियमावली आचार सहिंता अनुरुप देशको प्रमुख राजनीति पार्टीहरुले आ–आफ्नो दलको महाधिवेशन गर्नुपर्ने बाध्यता थियो नै । दल र आयोगको नियमावली अनुसार यी राष्ट्रिय दलीय पार्टीहरुले तीन देखि पाँच वर्ष भित्रमा आ–आफ्नो महाधिवेशन सम्पन्न गरि सक्नुपर्ने हुन्छ । त्यो पार्टीहरुको हकमा नयाँ कार्य समितिहरु फेरबदल गर्ने नगर्ने ? या नयाँ कार्य दिशाको मार्गदर्शन नीति तय गरिनु पर्ने की नपर्ने हो ? साथै पार्टीको नियमावली विधान संशोधन थपघट गर्ने, नगर्ने भन्नेबारे ताजा जनादेश लिन पनि महाधिवेशन सम्पन्न गर्न अपरिहार्यता छदैंछ । भने, निर्वाचन आयोगले पनि पार्टीहरुको गतिविधिको रिचेक गर्न तथा पार्टी रिनो गर्न गराउँन तथा अनुशासित एवं मर्यादित बनाउँन यो आचारसंहिंता नियमावली तोक लगाउँनै पर्ने हुन्छ ।

देशको संविधान, पार्टीको विधान र निर्वाचन आयोगको नियमावली विधिले तोक लगाएको समयवधि भन्दा पर गए वा सरे, पार्टी खारेज हुने वा जरिवाना भुक्तान गरिनुपर्ने, नभए आगामी चुनावमा सहभागी हुन नपाउँनेसम्मको कानुनत निर्देश तोक वा बर्जित गरेको छ । त्यो कारण पनि यसपटक यी दलीय पार्टीहरुले कोभिड– १९ को संक्रमण त्रासदीको प्रतिकूल समयको आत्माबोध गराउँदैं पार्टी महाधिवेशनको समय तोक लम्ब्याउँदै आलटाल गर्दै आफ्नो नेतृत्वकालको समयवधि लम्ब्याउँदै लगेको थियो । सत्ता र पार्टीमा नेतृत्व गर्नेहरुको हकमा भने कोभिड–१९ सप्राईज बम्पर उपहार पाए/भए जस्तै नै भो । जसको कारण उनीहरुको नेतृत्व समयकाल आलटाल मै लम्बिन्दै वित्दो थियो । उनीहरुको हकमा त पार्टी महाधिवेशन नगर्न पाए हुन्थ्यो भन्ने नै थियो । दुर्भाग्य नै भनौं की, कोभिड–१९ मत्थर हुँदै जानेक्रम भएसी, यी दलीय पार्टीका नेतृत्वहरुले आ–आफ्नो पार्टीहरुको महाधिवेशन गर्न बाध्य हुनु परेको थियो/हो ।

भन्नुपर्दा, यसपटकको पार्टी महाधिवेशनहरु पश्चगामीको ट्याग भिरेको राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा.) बाहेक, मेन्जो औपचारिकताको मात्र विधि गरे । पुरोहित पण्डितले पुराण वाचक गरेसँगै उहीँ कर्मकाण्ड गरे जस्तै मात्र भो । पण्डितले जसोजसो फलाक्छन्, सहभागी अनुयायी भक्तगणहरुले उसैउसै नै फलाक्ने न हो । विशेषगरी यसपटक एमाले र माओवादीको महाधिवेशनले त्यस्तै हिन्दु पुराण पूजा सम्पन्न गरेको जस्तै मात्र झझल्को दिलायो । पुराणको कर्मकाण्डिय प्रमुखमा पण्डित जस्तो कार्यभारमा पार्टीका नेतृत्वहरु (अध्यक्ष) आफै नै थिए । विशेषतः महाधिवेशनमा प्राय जस्तो ओली र प्रचण्डको मात्र हनुमाने भक्तहरु बनेका प्रतिनिधिहरु थिए । यी द्वय अध्यक्ष÷नेतृत्वले जे जे ह्वीप जारी गर्थे । त्यसै–त्यसै भन्न पर्ने रुजु गराएका थिए । जस्तै यिनले केपी.ओली मात्र भन्दा उनका अन्धों भक्तहरुले की जिन्दावाद भन्छन् । की जय जय होस् भन्ने गर्छन् । अध्यक्ष प्रचण्डको हकमा पनि उनको महाधिवेशन शैलीले त्यस्तै भक्तहरुको भेला गराएको हो ।

ओली र प्रचण्डले तय गरेको पार्टी महाधिवेशनको रुप र सारमा रत्तिभर फरक देखिएन ।आफैले महापुराण लगाएको हल्ला गराए । अनि त्यसको प्रमुख स्वामी सतगुरु महाराज पनि आफैले घोषणा गरे । र पुराणको कथा बाचन पनि भकाभक आफैले गर्न पुगे । अन्तः सदगुरुज्यूले जे जे भन्छन्, भक्तगणले उहीँ जय जयकार गर्ने र भजन किर्तन गाउँने काम भने काफी गरे । श्री सदगुरु स्वामी केपी.महाराजको जय (भक्तगणगरुको सामुहिक आवाजमा) । श्री सदगुरु स्वामी प्रचण्ड महाराजको जय । पछिल्लो कम्युनिष्ट बामपन्थीधारमा देखिएको राजनीति तथा सांस्कृतिक विचलनको अन्तिम पराकाष्ठा थियो यो । जो नेतृत्वकर्ताले आफैलाई देवत्वकरण गर्न लगाए । र जय जयगान स्तुत्य भजन पनि गाउँन लगाईयो । अनि बुलन्दित तातो आवाजमा मुठ्ठी उचालेर सडकमा नाराबाजी रन्काइयो । केपी.बाः जिन्दावाद । केपी.बाः आई लभ यु । त्यस्तै स्वरबद्व आवाज पोखिन्छ । प्रचण्ड जिन्दावाद । गणतन्त्र पिता प्रचण्ड जिन्दावाद । यसचोटीको पार्टी महाधिवेशनले पार्टी भन्दा नेतृत्व अर्थात व्यक्ति ठूलो हो भन्ने सन्देश प्रवाह गर्नमा ज्यादै बल प्रदान ग¥यो । ताकी एमाले भनेकै केपी.ओली हो र माओवादी भनेकै प्रचण्ड हो भन्ने खुलेआम सम्बोधन गर्न र श्रद्वापूर्वक सम्मान गर्न, गराउँन आदेश दिएको जस्तै प्रतीत हुन्छ । कम्युनिष्ट नेतृत्वमा देखिएको यस्तोखाले राजनीति बेथितिको सांस्कृतिक विचलनलाई पूर्ण रूपमा रोक लगाउँन सकिएन भने, यसले विकराल रुप त देखाउँछ नै । अन्तः यस्तोखाले रुपहरुलाई माक्स, लेनिन् र माओको आत्माहरुले पक्कै थाहा त पाउलान् नै । तथापी त्यति बेला यी कमाउँरेडहरुले के भन्लान् ? कठै..! अतः आज यिनै दलीय पार्टीहरुको महाधिवेशन सन्दर्भ विशेष आलेख÷टिप्पणी तयार पार्न खोजिएको छ ।

महाधिवेशन कुम्भ मेला हो की जात्रा..?

गत १० मंसिरमा नेकपा. एमालेले चितवनको नारायणी किनारमा महाधिवेशनको आयोजना भव्यताका साथ ग¥यो । जसलाई एमालेले कुम्भ मेला भएको संज्ञा दियो । हजारौं जनमानसको भीडभाड र तामझाम पनि उस्तै । स्थलगत रौनकतालाई हेर्ने हो भने, सर्वहारा वर्गहरुको पार्टीको महाधिवेशन हो भनेर पत्याउँनै नसकिनेथ्यो । त्यत्रो हजारौं मान्छेहरुको उपस्थितिबीच एमालेको कुम्भ मेला भनिएको महाधिवेशनको सुन्दर महल जस्तो मञ्चमा त्यहाँ कुनै पनि मान्छे र वर्गहरुको अस्तित्व र विचारहरुको बुलन्द आवाजहरु प्रष्फुटित हुन सकिरा थिएन, जो भारी अपेक्षा गरिएको थियो । जहाँबाट त्यो विचार विमर्श नै हुनै सकेन । जुन कुराको अपेक्षा र विषयमा उनीहरुले पार्टीको महाधिवेशनलाई कुम्भ मेलाको स्वरुपमा बदली दिएका थिए । दुर्भाग्य भनौं की त्यो कुम्भ मेलामा ओली बाको मात्र महाजात्राको शंखघोष थियो । ओली बाको मात्र धर्ती आकाश थर्कने गरीको आवाजको चर्को नाराबाजी घन्किन्दो थियो । त्यत्रो मान्छेहरुको हुल बथानमा ओली. बाको नाम र अस्तित्व बाहेक त्यहाँ अरु कुनै पनि मान्छेहरुको न नाम थियो । न त अस्तित्व नै । त्यत्रा मान्छेहरुको हुललाई मात्र ओली बाको नाममा चर्को जय जयगान गराउँनु थियो भने, उनलाई पूजनीय देवत्वकरण गराई दिनुपर्ने थियो के ।

अन्ततः उनलाई जे गर्नु र बनाइनु थियो । महाधिवेशनले त्यहीँ त ग¥यो । भन्नैपर्दा यो महाधिवेशन नभएर कांग्रेस महामन्त्री गगन थापाको टिप्पणीलाई पैंचो लिनुपर्दा साँच्चै ओलीबेशन मात्र हुन गयो/भयो । एमालेले सौराहाको सभाहलमा बन्दसत्र ग¥यो । त्यो बन्दसत्रले ओलीको भक्तगणहरु बाहेककालाई बाहिरै राख्यो र तिनै बन्द भित्रका हनुमाने भक्तहरुलाई मात्र पार्टीको पदभारहरु बाँड्दै घोषणा ग¥यो । आफू विरुद्ध उभिने र थुतुनो चलाएर च्यालेञ्ज गर्नेहरुलाई भने सदाको लागि बन्दै बन्द गर्ने कार्यानीति नै अनुमोदन ग¥यो ।

अपितुः उक्त बन्दसत्रको बन्द गरिएको मुलढोकालाई ढकढक्याउँदै/घच्चघच्याउँदै ठेल्नेसम्मको साहस भने तत्कालीन पार्टीका उपाध्यक्ष रहेका भीम रावलले गरे । उनको साथमा अर्का नेता घनश्याम भुसाल पनि थिए । यी दुई नेताहरु ओलीको हकमा भने खुलेआम आवरण पृष्ठमा देखिएका महा–प्रतिद्वन्दीको रूपमा शत्रुहरु जस्तै थिए । बन्दसत्रमा ओली आफैले आफैलाई निर्विरोध अध्यक्ष भएको घोषणा गर्दै थिए । मेरो विकल्प कोही हुनै सक्दैन भन्ने मनसाय के पोख्दै थिए, रावलले मुठ्ठी कसेर उचाल्दै कमरेड आफू भएको काउण्टर दिए । र ओलीको तानाशाही निरङकुशताको ध्वज्जी उडाउँदै काउण्टर एटेकमा अन्ततः नेतृत्व चयनका लागि चुनावी प्रकृयामा बदली दिए ।

जसै रावलले पार्टीलाई लोकतान्त्रिक विधिको अभ्यासमा लैजाने र बदल्ने साहस गरे । ओली विरुद्ध आफू पूरापुर अल्पमतमा छु र लज्जास्पद पराजय हुने पनि प्राय निश्चित हुँदाहुँदै पनि उनले नेतृत्व पदका लागि चुनावी मैदानमा उत्रने ऐंलान गरे । उनी आफू हारेर पनि पार्टीको अस्तित्व बचाउँन चाहन्थे । पार्टीमा भएको ओलीराजको स्वेच्छाचारिताको भण्डाफोर गर्दै पार्टीलाई पुनः लोकतान्त्रिक पद्धतिको लिगको मियोमा ल्याउँने प्रयास उनको थियो । यथार्थमा भन्नुपर्दा प्राविधिक रूपमा रावलले हारे । र, ओलीले जिते । तथापी उनी हारे पनि, पार्टीको हितको लागि जित भने उनकै थियो । पार्टीमा रावल, भुसालहरु जस्ता नहुँने र नजन्मने हो भने, ओली जस्ता स्वेच्छाचारी नेता/शासकहरु सदा जन्मिरहने छन् । ओलीको यो विजय अहिलेको हकमा बिना प्रतिद्वन्दी र बिना प्रत्यासी गुटगत पार्टी नेतृत्वमा आइपुगेका छन् । एमाले इतिहासमै यो उनको समान प्रत्यासी काउण्टर दिने समकक्षी नभएको, जित र नेतृत्वकाल हुने देखिएको छ । यो महाधिवेशनले ओलीवेशनकै रुपधारण ग¥यो । र सिर्फ केवल ओलीको भक्तिगान र भजन गाउँनेहरुको मात्र मण्डली विस्तार ग¥यो । जसको कारण ओली अहिलेलाई ढुक्कले निदाउँन सक्छन् । तर, कुनै दिन उनको मिठो निन्द्रालाई भंग गराइदिनेहरु पनि, उनको भजनमण्डलीहरु मध्ये कोही न कोही त फेरि रावल, भुसालहरुको रुपधारण गर्नेहरु जन्मन्छन् नै । ओली आत्मारतिमा रमाउँदै फेरि ढुक्कले निदाउँला भन्ने दिनहरु हुने छैनन् । यसमा दुईमत नै छैन् ।

भलैः नारायणी किनारमा पोखिने गरी भित्राइएका त्यत्रो बिंघ्न भुईँमान्छेहरुको कुम्भ मेला लगाए । अन्तः त्यहाँ न तिनको अस्तित्व, न कुनै विचारहरुको बहस नै भएथ्यो । विचराहरु ओली बाको भजनकिर्तन गाइदिन र यसो धुपपाति चढाई दिँदैं जदौ गरीदिनको लागि न हो त्यो भुईँमान्छेहरुको थुप्रो जम्मा गरेको हो । वहीँ लञ्चका लागि भिआईपी. होटेलका मेनु लिष्टहरु हे¥यो । अनि २, ४ आईटमका व्यञ्जनहरुका साथ दुई छाक जाउली भात मुखमा हाल्न पाए । केही खाँटी टाठोबाठो भएका÷बनेका एमाले छोटेमोटे नेताहरुले यसो २, ४ वटा बेहात्तीहरु हात पारे होलान् । तिनको त जसै दशैं नै हुन्छ क्यारे । जो भुईमान्छेहरुको के हुन्छ र ? अन्तः गरी दिने, भनि दिने र दिलाई दिने को हुन्छ ? आखिर एमालेको उक्त महाधिवेशनमा यी नै भुईमान्छेहरु भन्दा पर कुम्भ मेलाको महोत्सव जात्राको रमिता हेर्न यिनीहरु बाहेक अरु बाबु साहेवहरु को को आएका थिए होलान् र ? जो जति बाबुसाहेवहरु आए, र आलिशान मञ्चमा देखिए । ती सबैनै कम्युनिष्ट नामका पुँजीवादीहरु न थिए ।

अन्तः तिनले भुईमान्छेहरु कहिल्यै देख्ने पनि होइनन् । तिनै भुईँमान्छे नदेख्ने र तिनको जीवनगाथा नबुझ्ने भएसी, कम्युनिष्ट नामधारी पार्टीलाई अब कुन सर्वहारा वर्गहरुको निमित्त मुक्तिकामी लडाइँ लड्नु छ र ? अहिले त उसले आफूहरु समान अस्तित्वमा उभेको मात्र देख्छन् । यी कम्युनिष्टेहरुको आँखामा अब न सर्वहारा वर्गहरु नै छन् । न त वर्ग शत्रुहरु नै देख्छन् के । त्यो मानेमा नै त कुम्भ मेलाले देश र जनताको कुनै औचित्यता नै देखेन । जान्न र बुझ्न नि चाहेनन् । जसको कारण उसले आफ्नो पार्टीको भावी नीतिको रुपरेखा, कार्यदिशा, कार्य योजना र रणनीतिहरु अख्तियार गर्ने कुनै चासो नै राखेनन् । मात्र पार्टीको महाधिवेशनलाई कुम्भ मेलाको रूपमा संज्ञा दिनुथ्यो । र मान्छेहरुकै भिडको जात्रैजात्राहरुको रमिता यो लोकलाई देखाई दिनुथ्यो । जसलाई ओलीबेशनमा रुपान्तरण गर्दै स्वघोषित रूपमा जसै केपी.शर्मा ओलीलाई पार्टीको अध्यक्ष÷नेतृत्वमा ल्याउँनै पर्ने भाथ्यो नै । अतः ओलीलाई फेरि नेतृत्व गर्ने जिम्मा दिएर पार्टीमा ओली पक्षका हनुमाने भक्तहरुले साहै्र गतिलो बहादुरिता देखाएका हुन् ।

फिरः सम्झनुपर्दा पार्टीको ९ औं महाधिवेशन २०७० मार्फत पहिलो पटक नेतृत्वमा आएका ओलीले त्यसयता पुनः पार्टीको महाधिवेशन गर्न सकेका थिएनन् । यिनले पनि पार्टी नेतृत्वको तीन वर्ष लामो समय र्निव्याज त्यसै भ्याई दिए । पार्टीको दशौं महाधिवेशन सम्पन्न गर्न आलटाल गर्नुमा पार्टी नेतृत्व पंक्तिमा प्रत्यासी तथा समकक्षी नेता माधवकुमार नेपाल साथै थिए । माकुने.आफैले पनि डेढ दशक लामो पार्टीको नेतृत्व गरेका हुन् । उसताका पार्टी नेतृत्व महासचिव पदीय प्रणालीमा थियो । भने, नवौं महाधिवेशनमा यी दुई समकक्षी नेतृत्वले अध्यक्षको पदभारको निम्ति आमने सामने भिडेका थिए । झिनो मतले ओलीसँग नेपाल पराजित भएका थिए । अन्तः यसपटकको १० औं महाधिवेशनमा उनै नेपालसँग कडा प्रतिस्पर्धा हुने देखेपछि, पार्टीमा उनको बहिर्गमन अनिवार्य शर्त जस्तै थियो नै । ओलीलाई जसै निहुँ चाहिएको थियो । नेपालले नि उसै निहुँ घोप्ट्याई दिन थाले । ओलीसँग प्राय जसो कचकच हुन्थ्यो नै । पार्टी र सत्तामा ओली नेतृत्वको स्वेच्छाचारितासँगै तानाशाही प्रवृत्ति बढेको विषयलाई लिएर द्वयनेताहरुबीच घोचपेचको थालनी भइसकेको थियो । भने, नेकपा. माओवादी केन्द्र एकीकरण (२०७५) सहितको नेकपा. नामक साझा पार्टीको नाममा प्रचण्ड पनि नेपालसँगै फरकमतमा एकसाथ उभिएका थिए । अतः चुलिन्दो मतभेदको कारण ओलीले दुई पटक (५ पुष २०७६ र ७ जेठ २०७७) नै प्रतिनिधि सभा भंग गरे । तैपनि सर्वोच्च अदालतले फेरि उहीँ दुई पटक नै सांसद विघटनको विरुद्ध पुनः स्थापना (११ फागुन २०७६ र २८ साउन २०७७) गरि दिएको थियो ।

अतः जसको कारण पार्टीमा एक अर्काबीच विचार र व्यक्तिबीचको निषेधाज्ञा जारी गर्दै कार्बाही गरागर गरे । अन्ततः नेपाल समूह नयाँ पार्टीको अस्तित्व निर्माणसँगै ओलीसँग सदाको लागि बाहिरिए । त्यस्तै माओवादीलाई पनि एमाले ओलीसँगसँगै बस्न मिल्दैन भन्दै उहीँ सर्वोच्च अदालतले सम्बन्ध विच्छेदनै गराइदियो । उसताक न्यायलयले पनि कतिपय राजनीति मुद्दाहरुमा बाः उदेकलाग्दो फैसलाहरुको सुनवाई ग¥यो । अतः ओलीलाई नेपाल र प्रचण्ड उसै नि महाकसिंगर लागेथ्यो । जो आफैले कुचो लगाएर बढार्नु अघि हावाले आफै बढारी दिएर लग्यो । ओलीलाई आफ्नो प्रत्यासी दुवै बाधकहरु स्वतस्फुर्त पन्छिएपछि, आगामी १० औं महाधिवेशनको नेतृत्व उनको हकमा नेटवल हान्नु जस्तै खुल्ला मैदान भएको थियो । जसै नेटवल हान्ने प्रयासमै थिए नै । दुर्भाग्य गोलपोष्टको नेटजालीनेर भीम रावल ठिङ्ग उभिदिए ।

अन्ततः रेफ्रीको नियम मुताविक पेनाल्टी शुट आउट हान्न ओलीलाई बाध्य पारियो । उक्त पेनाल्टीमा रावलले ओली समूहको गोलहरु छेक्ने भगीरथ प्रयास गरेका हुन् । अन्तः आखिरी प्रयासको बाबजुद पनि रावलले अनगिन्ती गोलहरु खाए नै । ता पनि त्यत्रो सिंगो समूहसँग रावल जो एक्लै लड्ने हिम्मत गरे । जसको चौतर्फी त्यो साहस र आँट गरेकामा सर्वत्र लोकले प्रशंसा र तारिफ गरेको थियो । भनिन्छ मान्छेको जीवनमा कतिपय जो हारेका वाजीहरु जिते जस्तो एहेसास हुने गर्छ । जो कति वाजीहरु जितिन्छन् । त्यहीँ जितेकै कतिपय वाजीहरु किन–किन हारे जस्तो पनि हुने गर्छ । यथार्थमा कहनुपर्दाचेन् रावल र ओलीको हकमा यहीँ कहावत लागू हुन्छ ।

जसै एमालेको घरभित्रको घर झगडाले अन्ततः आफ्नो घर मात्रै डढेलो लगाएन । यसले सिंगो देश र जनताको आस्था औं आड भरोषामा पनि डढेलो लगाई दियो । पार्टी र सत्ताको बागडोर सम्हालेका ओलीले स्वेच्छाचारी प्रवृत्ति देखाएकै कारणले नै पार्टी र सत्तामा उलट्पुलट् ल्याई दिए । उनको सनकले पार्टी र दुई तिहाईको सत्तालाई तहसनहस पार्दै किनाराको जंँघारमा पु¥याईदिए । यता संघीय राजसत्ता सरकारबाट (२९ साउन २०७८) बहिर्गमन भएसी, उनको पार्टी ६ प्रदेश (१, ३, ४, ५, ६ र ७) सरकारहरु पनि शनैःशनैः ढल्दै–ढल्दै गए । जसको कारणले पार्टी र सत्ताको अस्तित्व माटोमा धुलिसात बन्न पुग्दापनि ओलीको आत्मा केन्द्रीत डिस्नेरीमा आत्मा–समिक्षा एवं आत्मालोचना भन्ने भावार्थ शब्दहरु कवै रहेनछन् । यो कलमी स्तम्भकारले त सुनेथ्यो की, असम्भव र आत्मालोचनाचेत नहुने भन्ने यी दुई चीजचाहीँ खाली मुर्ख मान्छेहरुको हृदयमा मात्र बाँस हुन्छ रे । नेपोलियन बोनापार्टको यो चर्चित कहावतले ओलीलाई कुन कित्तामा उभ्याउँछ ? उनले आफ्नो कारण सबै बर्वाद भएको हो भन्ने आत्मालोचना सहितको पश्चाताप कहिल्यै गर्न जानेन् । जो अहिलेसम्म पनि कहिँकतै पनि सो अभिव्यक्ति दिन ठीक मानेनन् ।

उनलाई आत्माग्लानी र पछुतो भन्ने चीजहरुको कुनै एहेसास नै हुन्न रहेछ भन्ने बोध गराए । आफूले जे गरे नि सही र ठीक हुने बुज्रुकधारी तातो न छारोको कम्युनिष्ट लिडर हुन खोजे । अन्तः सोझै औंल्याउँनुपर्दा उनले पार्टीको यत्रो कुम्भ मेलामा सम्बोधन गर्दा पनि विगतकालको आफ्नो भूलचुकको आत्मा समिक्षा गर्दैं, आत्माग्लानी र आत्मालोचना गर्न र राख्नैपनि उचित ठान्दै ठानेनन् । खुल्ला सम्बोधनमा मात्रै किन र ? यिनले पार्टीको महाधिवेशन विशेषः प्रतिवेदनमा पनि ती विषयगत उपरबारे कहिँकतै उल्लेख गरेनन् नै । सम्बोधन नै गर्न नै कञ्जुस्याँई गर्नेले झन् दस्तावेजमा त्यस्ता आफ्नो कद होच्याउँने लिखतमा के दस्तखत गर्थे नि ? बरा..!

लेनिन भन्थे, सर्वहारा वर्गहरुको नेतृत्व गर्ने लिडरहरुमा आफूले गरेको कुनैपनि गल्ती त्रुटीहरु देख्दैन र सच्याउँन पनि खोज्दैन । अनि आत्मालोचना पनि गर्न जान्दैनन् भने ऊ कहिल्यै पनि सर्वहारा वर्गहरुको कम्युनिष्ट लिडर हुन सक्दैनन् । अन्तः लेनिनको यो विचार यसो निकैबेर गम्छु र ओलीलाई सम्झन्छु । की यो लोकमा विशेषगरी यहीँ नेपाली कम्युनिष्ट राजनीतिमा यी ओली महाराजको बोईलर कुखुरा जस्तो कसरी पो अवतरण भो के ? बाः यिनको नामै मात्र सुन्दा नि लोकले लाज शरम मान्छ । घृणाको दृष्टिले हेर्ने गर्छन् । अझै उदेकलाग्दो विडम्बना त के छ भने, जसको अहंकारी उन्मादले यतिबिंघ्न स्खलित बनिसक्दा नि उनमा अझै पनि शासकीय दम्भको हुँकार रित्ती सकेको छैन् । जसलाई देख्दा र सुन्दा मात्रै पनि बढो अचम्म र उदेकलाग्दो कम्युनिष्टे नेतृत्व देखिएको हो । स्मरण गरौं की, एमालेको यो महाधिवेशनले पार्टीको विचार, नीति र मार्गदशक सिद्धान्तहरु भन्दा व्यक्ति वा त्यसको प्रतिनिधि गर्ने पात्र सबैभन्दा माथि र ठूलो हुन्छ भन्ने व्यक्तिवादी चरित्रको उठानलाई सर्वस्वीकार्य गर्दै यसपटक भारी बहुमतले अनुमोदन ग¥यो । एमाले पार्टी भनेकै खड्गप्रसाद ओली हुन् भन्ने भावार्थमा, उनको देवत्वकरणमा रुपान्तरण गर्दै र अगाध श्रद्वापूर्वक सेवा/पूजा गरिनुपर्ने आदेशात्मक निर्देशन दिंदै अन्ततः यो महाधिवेशनको कर्मकाण्डहरु सिध्याए ।

माओवादी महाधिवेशनः एमालेकै पुनारावृती

स्मरण रहोस् की, नेकपा.माओवादी केन्द्रले, हेटौंडामा सम्पन्न सातौं महाधिवेशन २०६९ माघ देखि यता पुनः अर्को महाधिवेशन सम्पन्न गर्न नै सकिरा थिएन । पार्टी अध्यक्ष प्रचण्डले झण्डैं दुई कार्यकाल नेतृत्व महाधिवेशन बिनै उसै झारा टार्दै आलटाल मै विताइदिए । नत्र यसताका उसले १० औं महाधिवेशन सम्पन्न गरिसक्नु पथ्र्यो । भने यसबेलासम्ममा यसले पार्टीमा नयाँ नेतृत्व पनि हस्तान्तरण गरिसकेको हुनु पथ्र्यो ।

तर विडम्बना दुर्भाग्य चाहीँ के रहयो भने, पार्टीमा प्रचण्डको कायाचोलापलट नभईञ्जेलसम्म पार्टीले नयाँ नेतृत्व पाउँन र हत्याउँने कसैले परिकल्पनै पनि नगर्दा हुन्छ । उक्त पार्टीमा प्रचण्डको विकल्प म (प्रचण्ड) भन्दा अर्को दोस्रो विकल्प हुनै सक्दैन कमरेड ? भन्ने मनोविज्ञानले सम्बद्ध पार्टीका पदाधिकारी एवं सदस्यगणहरु लगायत सबै कार्यकर्ताहरुलाई दास कैदीको रूपमा राख्न काम गरेको छ । त्यो सफल मनोविज्ञानले पार्टीमा प्रचण्डलाई एउटा निरङ्कुश सामन्ती शासकका रूपमा उभिन उस्तै बलप्रदान गरेकोछ । प्रचण्ड त्यसैलाई आफ्नो तीन दशक (३२ वर्ष) भन्दा लामो नेतृत्वकाकलाई सफल ठान्ने गर्छन् । उहीँ रूपमा देख्दा लोकतन्त्रवादी हुने तर सारमा उनको नेचर भने तानाशाही सामन्ती नै देखिने हो । त्यस्तै नेकपा. एमाले पनि माओवादी कै उहीँ कपीपेष्ट नै हो भन्दा फरक नपर्ला नै सायद ।
महाधिवेशन संस्करण र पार्टी नेतृत्व नेचर एवं जीवनशैली चाहीँ केही फरकपंन नै देखिन्दैंन भन्ने हो ।

उहीँ केपी.ओली दुई कार्यकाल नेतृत्वको उकालो लाग्दै छन् । यो उनको हकमा अब यो दोस्रो नेतृत्व कार्यकाल सकिन्दा भने एक दशक (१२ बर्ष) भन्दा लामो समय बितेको हुनेछ । प्रचण्डको तुलनामा उनको यो नेतृत्वकाल उसो त दुई तिहाई नै कम हो । वस्तुतः उनीहरुमा नेतृत्व कार्यकालको नेचर र जीवनशैलीलाई समिक्षात्मक आँखाले उधार्दा खासै उति केही फरक नै देखिन्न । नेतृत्वकालको समयवधि फरकता लामो र छोटोको समयले भन्दा पनि उनीहरु बीच देखिने समान नेतृत्व बीचको प्रवृत्तिनै हो । जो कतिपय उठान र विषयहरु समान रूपमा मिल्न सक्छन/पुग्छन् पनि । पार्टी नेतृत्वमा समान देखिन्छन् भने सत्तामा केही फरकतामा देखिन्छन् । सत्तामा प्रचण्ड उदार लाग्छन् भने ओली अनुदार र तानाशाही देखिन्छन् ।

खैरः नेकपा. माओवादी केन्द्रले झण्डै दशकपछि आफ्नो ८ औं महाधिवेशन माओत्सेतुङको १२९ औं विशेष दिवशका दिन पारेर गत ११ पुसमा काठमाडौको प्रज्ञा प्रतिष्ठानको भवनमा यसो मेन्जो/सेन्जो तर एकसाता लामो पटट्यारलाग्दो बसाईको बीच सम्पन्न गरेथ्यो । विशेषः राष्ट्रिय सम्मेलनको अपिल गरेर पार्टी प्रतिनिधिहरुलाई बोलाइएको सो सम्मेलन रातारात आठौं महाधिवेशनमा बसाई स¥यो । प्रचण्डको खप्परले मनलाग्दी जे जे अर्हाउँछ । त्यहीँ न हुने हो । कतिपय कार्यकर्ताहरु माझ् माथिदेखि मुनिको तल्लो तहकासम्मलाई थाहासम्म भएन । सम्मेलन हुँदैंछ कि महाधिवेशन ? कुनमा विषय उपर चाहीँ प्रतिनिधिहरु सहभागी भएका हुन् ? वा थिए ? ति प्राय अन्योलमै थिए । यसले पार्टीमा सम्मेलन र महाधिवेशन बीच कुनै भेद नरहेको तदर्थ कार्य सम्पादनको यो गृहकार्यहरुले बोध गराई दिन्छ । पार्टी संगठनमा आफ्नो कार्यकर्ताहरुलाई यसरी झुक्याईनु वा लुसुक्क बोल्ड ब्यानर एक्सचेञ्ज गर्दै सम्मेलनलाई नेतृत्वले स्वेच्छाचारिताको र्वाफ देखाउँदै महाधिवेशनमा सो ब्यानर देखाउँनु पक्कै यो मुनासिफ राजनीति व्यवहार हुँदै होइनन् ।

यो आफैंमा भूलबश जान अन्जान बीच नभएको राजनीति बेइमानकै परिणाम हो । नत्र कसरी कुनै तयारी बिनै एउटा सिर्फ सम्मेलन जस्तो सामान्य कार्यक्रमलाई पार्टीको महाधिवेशनमा बदल्न सकिन्छ ? त्यो पनि दलीय पार्टीहरुको महाधिवेशनहरु खुलेआम राजनीति प्रतिस्पर्धाको रूपमा मञ्चन शोहरु भइरहेको वेला माओवादीले मात्र किन सेमिनार गोष्ठीहरु गर्ने सभाहलमा खुसुक्क महाधिवेशन गरेको हो ? किन आफ्नो पार्टीको कद झन् होच्याईएको हो ? किन महाधिवेशन जस्तो कार्यक्रमको गरिमालाई लत्याउँदै सिमिततामा खुम्च्याइएको हो ? यसपटक उसको यो महाधिवेशनप्रति प्रस्तुत यी यस्तै–यस्तै प्रश्न चिन्हहरु खाफैखाफ तेर्सिन्दो छन् । दुर्भाग्य माओवादी भने साता लामो तर अधकल्चो महाधिवेशन गर्दै सफलतापूर्वक सु–सम्पन्न गरेको अफवाह फैलाएर मस्त आत्मारतिमा रमाउँन पुगेको छ ।

यथार्थ कहनैपर्दा माओवादीको महाधिवेशनले पनि अन्ततः उहीँ एमालेकै पदचापहरु पछ्याउँने सिर्फ पदयात्री जस्तै नै बन्न पुग्यो । अर्थात उसकै पुनाराबृतिमा उभियो । यानेकी ठ्याक्कै एमालेकै प्रतिविम्ब छाँयामा देखा प¥यो । महाधिवेशनको रंग रुपहरुमा दुबै पार्टीको रंगढ्ंगहरु उस्तै समान नै देखिन्थ्यो । सिर्फ लय र तालहरुमा थोरबहुत मतभिन्नता देखिएको हो । सार र रुपमा पनि उसो त खासै भिन्नता केहीँ देखिन्न । उनीहरुबीचको फरकता कति थियो ? भन्ने यहाँ टिकाटिप्पणीहरु गर्न खोजिएको छ । एमालेले कुम्भ मेला ग¥यो । र उदघाट्न सत्रलाई खुल्ला सत्रको रूपमा हाँक दियो । भने माओवादीले न उदघाट्न, न खुल्ला सत्र । सिधै सभाहलको बन्दकोठा भित्र लुसुक्क छिरायो । एमालेको बन्दसत्रचाहीँ साच्चिकै बन्दाबन्दी नै भो । फरकमत राख्ने र फरक राजनीति प्रतिवेदन पेश गर्न खोज्ने नेताहरुको घाँटी अप्ठ्याँईयो । भने माओवादीमा हार्दिक स–सम्मानपूर्वक पेश गर्न दिइयो । र प्रचण्डले कार्यान्वयनमा जोड्दििने सम्बोधन पनि गरे । ओलीले आफू पार्टी र सत्तामा नेतृत्व गर्दाको कमिकमजोरीहरुको आत्मा समिक्षा र आत्मालोचना सहित क्षमायाचना माग्ने कुनै तत्परता देखाउँन चाहेनन् । भने, प्रचण्डले आफ्नो आम कार्यकर्ता र शुभ–चिन्तकहरु माँझ नतमस्तक बनेर आफ्नो थुप्रै कमिकमजोरीहरु भएको स्वीकार गर्दै माफी र आत्मालोचना गरे । उता ओलीले आफ्नो नेतृत्वको कार्य समितिमा आफ्नै भजन मण्डलीहरुको मात्र नामहरु सिफारिस गर्दै सम्बोधन गरे । यता प्रचण्डले पनि देख्दा र सुन्दा उस्तै समान देखिन्थ्यो ।

भलैः प्रचण्डले भने क्षेत्रगत प्रतिनिधिहरुले सिफारिस गरेको प्रतिनिधि नामहरुको मात्र सम्बोधन गरे । अतः एमालेले २० जनासम्म रहन सक्ने बहुपदीय सहित ३०१ जनाको केन्द्रीय कार्य समिति गठन ग¥यो । भने माओवादीले पनि १५ जनासम्म रहने बहुपदीय सहित जम्मा २९९ जना सहितको कार्य समिति गठन गर्ने उदघोष ग¥यो । तर २३६ जना सदस्यहरु मात्र चयन गरेर बाँकी ६३ जनाको रिक्त पदहरु राखेर अलपत्र छोड्यो । र कार्य समितिहरुको पूर्ण रुपमा टुङगो नलगाईकन महाधिवेशनको आठौं दिनै लगाएर सकिएको घोषणा ग¥यो पुनश्चः पार्टीमा ओली र प्रचण्डबीचको नेतृत्व शैलीको विकास उस्तै समान देखिए पनि ओली भन्दा प्रचण्ड बढी उदार र इमान्दार देखिन्छन् ।

भने, ओली बढी जाल साँझी कपटी र बेईमानी लाग्छन् । यी दुवै आफूहरुलाई सबैभन्दा बढी लोकतान्त्रिक उदार भएको र त्यसको हिमायती भन्न पनि कुनै कसुर राख्दैनन् । तथापी यी दुईले जति नै आफूलाई उदारताको उदघोष गरेपनि पार्टीमा आफ्नो नेतृत्व हस्तान्तरण गर्न सहजता देखाउँन सकिरा छैनन् । प्रचण्ड दशकौं अघिदेखि पार्टी नेतृत्वमा अहिलेतक कब्जा गरे जस्तै आइरहेका छन् । भने, ओली अब प्रचण्डलाई पछ्याउँनेक्रममा छन् । तसर्थः माओवादी केन्द्रमा सधैंनै प्रचण्ड केन्द्रमै रहीरहे । उनलाई काउण्टर दिन सक्ने समकक्षी नेताहरुमा मोहन बैद्य र बावुराम भट्टराई न थिए । यी दुवै नेताहरु पार्टीबाट आफै बाहिरिएपछि, उहीँ ओलीलाई जस्तै कसिङगर बढार्नु परेको थिएन । जो आफू समान काउण्टर दिनेहरुकोनै पार्टीमा अस्तित्व नभएसी, पार्टीमा नेतृत्व सदा कब्जा गरी राखे जस्तै भएकोछ । जसको कारण कम्युनिष्टहरुको बामपन्थीधारमा यी दुई ओली/प्रचण्ड ज्यादै अहोभाग्यमानी नेताहरुमा गनिन्छन् ।

अपितुः प्रचण्डले गत पार्टीको महाधिवेशनमा जतिसुकै जनवादी केन्द्रीयताको राजनीति मुद्दालाई पुनः विचारमा अघि सारेपनि अब त्यो केवल परिकल्पनामै मात्र सिमित हुने प्राय निश्चित नै छ । किनकी नेतृत्व पंक्ती मै जनवादी जीवनशैलीहरुको सांस्कृतिक रुपान्तरण हुन नसकिरहेको अवस्थामा सिंगो देशलाई जनवादी शासकीय स्वरुपमा बदल्न खोज्नु जन–आन्दोलन मार्फत गणतन्त्र ल्याएको भन्दा गाह्रो विषय हो । जनवादी शासकीय प्रणालीमा जनतन्त्रिक देश चीन बाहेक अरु मुलुक छैन सायद । अन्तः २१ औं शताब्दीको यो प्रविधि युगमा आइपुग्दा पनि चीनमा अहिलेतक साम्यवादी शासकीय व्यवस्था उस्तै लोकप्रिय छ । परन्तुः देशको शासकीय स्वरुपमा जतिसुकै स्वतन्त्रताको बाधक किन नहोस् । तथापी देशलाई चलाउँने नेतृत्ववर्गहरु सही सलामत उदार छन् भने शासकीय प्रणाली कहिल्यै पनि बाधक र खराब देखिन्दैन÷हुँदैंनन् पनि । जस्तो चीन जति एकदलीय प्रणालीमा निरङकुश देखिन्छ । शासकहरु उतिनै उदारवादी नि छन् । हामीहरुको देश जति उदारवादी लोकतान्त्रिक शासन प्रणालीमा छ । नेतृत्वकर्ता शासकहरु उतिनै अनुदार र स्वेच्छाचारी छन् । जसको कारण संघीय लोकतान्त्रिक गणतन्त्र जहिले पनि धरापमा थापिएको एम्बुस जस्तै हुन पुगेको छ । देश उभो लाग्नुमा शासकीय व्यबस्था होइन, शासकीय नेतृत्व गर्नेहरुमा भर पर्छ । तसर्थः खराव र असल भन्ने व्यबस्थाचाहीँ तिनै देश हाक्ने/सञ्चालन गर्ने शासकहरुकै नियतमा त्यो देश र नागरिकजनको भविश्यहरु लुकेको हुन्छ । यस्तो अपेक्षा राख्नु हामीहरुको देशको लागि परिकल्पना भन्दा नि परको कुरो हो । यथार्थमा जो हुनु वा देखिनु सम्भव छैन् भने पनि हुन्छ ।

कांग्रेस महाधिवेशनः पार्टी हविगत, गर की ? मर..!

नेपाली कांग्रेसको अघिल्लो १३ औं महाधिवेशन २०७२ ले, सेरबहादुर देउवालाई पहिलोपटक पार्टी सभापतिमा उभ्याएपछि पुनः पार्टीको महाधिवेशन सम्पन्न गर्न सकिरा थिएनन् । नेपाली समकालीन राजनीति पार्टीहरुमा कांग्रेस सबैभन्दा अल्छे र परंम्परावादी भएको पार्टीको रूपमा चिन्ने गरिन्छ । संगठन विस्तार र कार्यकर्ताहरुलाई एक्टिभ जागरुक बनाउँनमा कांग्रेस कहिल्यै पनि मेहेनत गर्न चासो राख्दैन । जहिले पानी पर्छ, तहिले मात्र छाता ओढ्ने कांग्रेसको आदत छ । मतलव जब देशमा चुनाव र पार्टीको महाधिवेशन नजिकै आउँन थाल्छ । त्योबेलाको समयमा मात्रै उसले आफ्नो पार्टीको संगठन र कार्यकर्ता अनि मतदाताहरु सम्झिने गर्छन् । कांग्रेस नेतृत्ववाला वर्गहरुको यो बढो उदेकलाग्दो कार्यशैलीहरु देखिन्छन् ।

पार्टी पुरानो भएको र जनमानसबीच कांग्रेस र रुख उस्तै उनीहरुको आस्थामा त्यसै बाँची रहेकोले पनि कांग्रेसलाई जनताप्रतिको आड्भरोषामा अहंकार पनि बढेको हो । पूर्व पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उसबेला भन्थे, कांग्रेस भनेको आमाको काख जस्तै हो । जति नै रिसाए नि, कराए नि, अन्ततः घुमिफुरी आमाकै काखमा आउँनै पर्छ । नआईकन धरै छैन् । भन्ने कोइराला बुढाको यहीँ अभिव्यक्तिले कांग्रेसलाई झनै अल्छे पार्टी र कार्यकर्ताको रूपमा रुपान्तरण गर्दै लगेको हो भन्ने ठम्याँई छ । अतः देउवाले पार्टी नेतृत्व सम्हालेपछिको कांग्रेसको गतिशीलता र गतिविधि त झनै ठप्प जस्तै भाथ्यो । पार्टीमा नेतृत्व की, ज्युँदो छ वा मुर्दा छ ? भन्ने भ्याउनै पाउँन गाह्रो लागेथ्यो कांग्रेसका कार्यकर्ता एवं शुभेच्छुक चिन्तकहरुलाई । १४ औं महाधिवेशन सम्पन्न गर्न कांग्रेस नेतृत्वको देउवाले मितिहरु तोक गर्दै पटकपटक महाधिवेशन पोष्टमेन् गर्दै परपर सार्दै लगेथ्यो । उसले आफ्नै तहगत मुनिको संगठन इकाईहरुको अधिबेसन/निर्वाचन गर्न सकिरा थिएननै ।

जबकी पार्टीनै निर्वाचन आयोगमा महाधिवेशन हदम्यादको कारण खारेजी हुने क्रममा अन्तिम समयसीमाको म्याद गुजार्न बाध्य भएको थियो । जसै आलटाल गर्दै र हदम्याद गुजार्दै गत २४ मंसिरमा पार्टीको १४ औं महाधिवेशन सु–सम्पन्न गर्दै, पार्टी नेतृत्व सभापतिमा पुनः उनै देउवा आउँन सफल भएको हो । नेतृत्व तहमा ओली, प्रचण्ड र देउवा उस्तै–उस्तै कारक देखिए पनि कांग्रेस पार्टी, बामपन्थीधारका कम्युनिष्टे पार्टीहरु भन्दा अलिक लोकतान्त्रिक जीवनशैली छ । पार्टीको मार्गदशक सिद्धान्त लोकतान्त्रिक नै रहेपनि, पार्टी जति उदार छ, उति देउवाको कार्यशैली भने उदार देखिन्दैन÷छैन । कांग्रेसको इतिहासमै यी देउवा जस्तो सन्की र मुढी नेचरको नेतृत्वमा पाएको पहिलो सभापतिनै यिनै हुन् सायद । पार्टी नेतृत्वमा स्व. कोइराला बुढा र देउवाको आगमनलाई, उहीँ पछिल्लो एमाले.पार्टीमा ओलीको उदयकालको (नेतृत्व) आगमन भए जस्तै तुलना गर्न सकिन्छ ।

यसपटकको राष्ट्रिय पार्टीहरुको महाधिवेशनहरुमा कांग्रेसको नेतृत्व पुनः रिपिटनै देखिए पनि बढी लोकतान्त्रिक विधि र प्रकृयामा उसैको मात्र देखियो । भने, दोस्रो पूर्व पञ्चे भनेर चिनिने मण्डलेहरुको ट्याग बोकेको राप्रपाले सम्पन्न ग¥यो । एमाले र माओवादीहरुलाई त उसले कुरीकुरी है भन्ने बोध गराइदियो । अतः कांग्रेसले हिजोको उसको महाधिवेशन भन्दा यसपटक उसले झनै लोकतान्त्रिक विधि मार्फत सु–सम्पन्न गरायो । हिजो उसले एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षमा मात्र निर्वाचन गराएथ्यो । तर, यसपटक यो १४ औं महाधिवेशनमा उसले बहुपदीय प्रणाली अन्तर्गत सबै बहुपदीयमा निर्वाचनद्वारा निर्वाचित हुने नियमावली अपनायो र गरायो । कांग्रेसको सबैभन्दा सौन्दर्यात्मक लोकतान्त्रिक विधि देखिएको भनेकै यहीँ हो । कि बामपन्थी कम्युनिष्टहरुले कांग्रेसबाट पनि केही सिकुन् भन्ने हो । त्यस्तै राप्रपाबाट पनि झनै सिकुन् के । कांग्रेसको जतिनै उदार लोकतान्त्रिकधारको रूपमा व्याख्या विश्लेषणहरु गरेपनि, नेतृत्वधार र सम्बद्ध कार्यकर्ताहरु उति उदार र लोकतान्त्रिक नेचरको व्यबहारमा देखिन्दैनन् । पार्टीमा देउवा अलोकप्रिय छन् भन्ने बुझ्दाबुझ्दै पनि, फेरि तिनै असंक्षम ब्यक्तिलाई पार्टी प्रतिनिधिहरुले दोहो¥याएर निर्वाचित गराउँनु पक्कै लोकतान्त्रिककरणको सुखद पक्ष होइन की ? फेरि उनी पार्टीमा होइन, सत्ता सञ्चालनमा पनि दक्ष छैनन् । सधैं आलोचित छन् । तापनि उनको पार्टी र सत्तामा जवर्जस्त नेतृत्वमा रहिरहने उत्कण्ठाको मोह त्यसै छ । नेतृत्वमा जबसम्म लोभी पापीको मोह जागृत भइरहन्छ । त्यो व्यक्ति होस् वा त्योसँग रिलेटेड पार्टी किन नहोस् । आखिर त्यो उदार र लोकतान्त्रिक छ भन्न कदाचित सकिन्दैन । कांग्रेसमा देखिएको सबैभन्दा कुरुप सौन्दर्यताको चेत भनेकै पनि यहीँ हो ।

अझ कांग्रेसको अर्को कुरुप सौन्र्दर्यताचेतको दृष्टिकोण भनेकै पार्टीमा कोइराला बंशको विरासतहरु हुनुपर्छ भन्ने हो । अझ् त्यसमा पनि विपी.कोइरालाकै बंशिय विरासतहरुले नै नेतृत्व पनि गर्नु पाउँनुपर्छ भन्ने पुरातनवादी मान्यताको हो । कोइरालाहरु बिना कांग्रेसको अस्तित्व र जीवननै बाँच्न नसक्ने र नहुने जस्तो जनमानसबीच स्कुलिङ गराइएको छ । आखिरी उहीँ बामपन्थी कम्युनिष्ट धारहरुको जस्तो ओली र प्रचण्डलाई चित्रित गरे झैं, कोइराला भनेकै कांग्रेस हो भनेर चित्रित गराए जस्तो उजागर गर्नु खोज्नु लज्जाको विषय होईन र ? धन्न सुशील कोइरालाको अप्रत्यासित मृत्युवरणको कारण, देउवाले कांग्रेसमा नेतृत्व गर्ने अवसर सँगसँगै नेतृत्वमा कोइराला विरासतको निरन्तरताको क्रमभंगता गरे । उसो त पार्टीमा अझैपनि कोइरालाहरुको विरासत र पकड हुनैपर्छ भन्ने मान्यता ज्युँका त्युँ छँदैंछ । त्यो कारण पनि पार्टीमा कोइरालाहरु जागी रहन्छन ।

अघिल्लो १३ औं महाधिवेशनमा विपी. पुत्र सशांक कोइरालाले एक्काशी महामन्त्री पदमा उम्मेद्वारी दिएर उसै लोकप्रिय मत ल्याएका थिएनन् नि । जुनबेला गगन थापा जस्तो जुझारु लोकप्रिय युवानेता सोही महामन्त्री पदमा पराजित भएका थिए । उनी पराजित हुनुमा सोही पदभारमा कोइरालाको आगमन हुनु निश्चय नै बाधक जस्तै सत्य थियो । त्यस्तै अर्का शेखर कोइरालाको फुत्त आगमन भएथ्यो । भने कोइराला बुढाको विरासत पुत्री सुजाता उहीँ नाम र थरकी अलंकारिक मात्र थिईन् । कांग्रेसमा गिरिजाबाबु र सुशील दाको कायाचोलाहरु उठेसी, कोइराला परिवारको विरासत थाम्न यी सशांक र शेखरको उदय गराइएका हुन् । यसपटक शेखरले अप्रत्यासित रुपमा देउवासँग पार्टी नेतृत्वमा फाईट् गरे । आखिरी चरणमा अन्ततः प्रत्यासित प्रतिद्वन्दी बन्न पुगे । पार्टीमा रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिहरुसँगै सशांक र सुजाता पनि एकैठाउँ उभिइदिएका थिए भने, शेखर कोइरालाले नेतृत्व हत्याउँन सक्ने प्रवल सम्भावना थियो । सशांकले सदस्यपदको लागि फेरि उहीँ लोकप्रिय मत ल्याएर विपी. पुत्र र कोइराला हुनुको एकपटक फेरि हाँक र चुनौती दुवैको सिम्बोलिक छनक् दिएका छन् ।

दुर्भाग्य सुजातालाई भने उपसभापति पदभारका लागि रोजेनन् । उनी महिला कोइराला पुत्री परिन् र हारिन् सायद । त्यहाँ पुरुष कोइराला मात्र भएको भए ? जित त्यसै नि सुनिश्चित जस्तै हुन्थ्यो । परन्तुः यो आलेखको आशय र टिप्पणी गर्नु कोइराला जातिको मानमर्दन र विद्वेश फैलाउँनु होइनन् । मात्र कांग्रेसमा विपी. कोइराला परिवारहरुको विरासत हुनुपर्छ भन्ने मान्यताको मानकलाई भत्काउँनु पर्छ भन्ने हो । विपी. एक्लैले कांग्रेस निर्माण गरेका होइनन् । तथापी पार्टीमा उनको अमूल्य योगदान होला । उनले जस्तै अरुले नि गरे होलान् नै । योगदानको कदर त गर्नैपर्छ । तर, उसको जसै अलंकारिक विरासत खोज्ने कार्य गर्नुचाहीँ मुनासिफ होइन । उदार लोकतान्त्रिक भन्ने पार्टीको हकमा त्यो लज्जाबोधको भार किन बोक्ने ? भन्ने न हो । यहीँ टिप्पणीका साथ कांग्रेसीजनको सतबुद्धी पलाओस् ।

अतः कांग्रेसलाई फिर औंल्याउँनुपर्दा उसले आफ्नो मूल्य, मान्यता र आदर्शहरु सबैनै लिलाम गरी सक्यो । उहीँ विपिको थोत्रो समाजवादको एकथान सपनाहरु बाँड्दै नेपाली जनतामाँझ कांग्रेसलाई जसोतसो उसको श्वास जानबाट अहिलेतक रोक्न सकेको छ । त्यसमा सुवर्ण शम्सेर जबरा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरुको यसो फोटोहरु टाँस्दै र बाँड्दै कांग्रेसलाई पुनर्जिवित गर्ने प्रयासमा छन् । त्यसो त कांग्रेस उहिल्यै मरी सकेकै जस्तो न थियो । जतिवेला कांग्रेसबाट गणेशमान र किसुनबाबुको बहिर्गमन भो । अर्थात यी थिंकट्यांकहरुको अपमान गरियो र चित्त दुखाईयो । हो, कांग्रेस त्यहीँ बेलाबाटनै मरिसकेको थियो । देशमा उहीँ उसको आत्मा भड्केको मात्र हो । यसलाई हामीहरुको मुन्धुमी संस्कारको भाषामा सापट् लिनुपर्दा सोघा भएको भनिन्छ । कांग्रेस अझै पनि सोघामै रुपान्तारित छ । त्यो भड्केको आत्माहरु भनेकै उनै विपी, सुवर्ण, गणेशमान र किसुनबाबुहरु कै हो भन्दा फरक नपर्ला बरै..! भन्नुपर्दा अहिलेको यो महाधिवेशनले केही आश गरेका युवानेताहरुलाई भित्राएको छ । जसको आगमनले कांग्रेस पुनर्जिवित हुन सक्नेमा भारी अपेक्षा राखेका छन् । त्यसको पुरापुर आड्भरोषामा गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसको ढुकढुकी बनेर दुबै महामन्त्रीको पदभार सम्हाल्न र दिशाबोध गर्न आइपुगेका छन् । अब कांग्रेस देउवाको खप्परले चल्छ की ? थापा र शर्माको खप्परले चल्ने हो ? त्यो अब आउँने समयको सुचाङ्कले ह्वाङै देखाउँदै लैजाने छ । किन्तुः देउवाको पट्टयारलाग्दो नेतृत्वको रिक्ततालाई यिनै दुई युवानेताहरुले भर्लान् र कांग्रेसलाई बचाउँलान् भन्ने आशाकै कारण यो १४ महाधिवेशनले देउवाको बासी अनुहारलाई अनुमोदन गरेपनि, कांग्रेसजनमा नेतृत्वको विकल्पमा उनै थापा र शर्माकै अनुहारको झल्को बोकेका छन् ।

उनीहरुको आस्था र मनमा यिनै दुई नेतामात्र पल्लवित छन् । अन्तः यी दुइले देश, जनता र पार्टीलाई कति बोक्न सक्छन् ? भन्नेनै हो । कांग्रेसको आगामी कार्यदिशा र मार्गदर्शन त्यसैले निर्धारण अर्थात मापन गर्ने गर्छ । यसैलेनै यी दुई युवा नेताको आगामी कांग्रेसको १५ औं महाधिवेशनले सघन मार्ग मार्फत नेतृत्व सम्हाल्ने फुकुवा गर्छ या गर्दैन ? उनीहरुको सफल राजनीति भविष्यताको सुनिश्चितता त्यसैको कार्यदिशाले पोइन्ट मार्क गर्ने हो । खैरः यति भनौं की, कांग्रेसको यो सम्पन्न भएको महाधिवेशनमा शुन्य विचार र चिन्तनको खडेरी परेको/भएको बोध गराएपनि केही नवीन विचार र चिन्तन बोकेका प्रतिनिधिहरुलाई भने महाधिवेशनले प्रवेश गराएको छ । जसको आगमनले पार्टी र बूढो रुखलाई सिञ्चित गर्न पुगेको छ । अहिलेलाई मरी सकेको कांग्रेसको सबैभन्दा ठूलो जीतको आधार यसैलाई माने भो । किनकी यसबेला कांग्रेसको हविगत गर कि ? मरको अवस्थामा पुगेको छ ।

राप्रपा.महाधिवेशनः नयाँ नेतृत्व, पुरातन विचार

राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) भने नयाँ नेतृत्वलाई चयन ग¥यो । र, आफूहरुलाई लोकतन्त्रको खुबै हिमायती ठान्ने कांग्रेस, एमाले र माओवादीहरुलाई लोप्पा खुवाई दिंदै उसको कुरीकुरी देखाई दियो । गत १६ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनले पार्टीमा डेढ दशक लामो एकलौटी रजगज गर्दै आइरहेका कमल थापालाई विस्थापन गरी राजेन्द्र लिङ्देनलाई नेतृत्वमा ल्याएका हुन् । लोकतान्त्रिक विधि÷चुनावी प्रकृया मार्फत थापालाई परास्त गरी लिङ्देन निर्वाचित भएका हुन् । राप्रपाको चुनावी प्रकृया र प्रतिनिधि मतदाताहरुको चेतनाको स्तरक्रमलाई समिक्षात्मक मुल्यांकन टिप्पणी गरिनुपर्दा, लोकतान्त्रिक गणतन्त्रधारी नामक पार्टीहरुको प्रतिनिधि मतदाताहरुको भन्दा, कयौं गुणा अगाडि रहेको बोध गराएको छ । परिवर्तनगामी र अति पश्चगामीको ट्याग लागेको राप्रपाबीच तुलना गर्नै नमिल्ने हुँदाहुँदै पनि आज उसको अगाडि लोकतन्त्रका ठेक्का लिएका यी कांग्रेस, एमाले र माओवादीहरुलाई उपहांसपूर्ण गिज्याउँन पुगेको छ कठै..! स्वभावैले राप्रपा हिजोको कथित पञ्चायती कालरात्रीकै निरन्तरता खोज्ने प्रयासरत पार्टी पनि हो ।

विचार पश्चगामी पुरातन नै भएपनि, नेतृत्व भने उसले नयाँ सँगसँगै नयाँ भर्सननै पाएको छ । उसको नयाँ भर्सनचाहीँ उहीँ लोकतन्त्रको आवरणमा राजा सहितको जन–निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री हुनुपर्ने अहिलेको नयाँ नेतृत्वमा आएका लिङ्देनले पार्टीको कार्यनीति पेश गरेका छन् । उसो त पार्टी अतिवादीको मुलधारमा प्रवाहित बनेपनि, पार्टीका नयाँ अध्यक्ष÷नेतृत्वकर्ता लिङ्देन कांग्रेसका देउवा, एमालेका ओली र माओवादीका प्रचण्ड भन्दा बढी उदार लोकतन्त्रवादी रहेछन् भन्ने पुष्टि ग¥यो । किन भने, यी लोकतान्त्रिक गणतन्त्रवादी हुँ भन्ने पूर्व प्रधानमन्त्री बावुराम भट्टराई बाहेक, अरुहरुले त अहिलेतकसम्म जन निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री बनाऔं भन्ने आँट गर्न सकेका छैनन्÷थिएनन् । जो अहिले राप्रपाका लिङ्देले त्यो एजेण्डा नेपाली आम–जनता माँझ अघि सारेका छन् । यो प्रस्तुत शासकीय स्वरुपलाई एक्सचेञ्ज गराईनु पर्ने लिङ्देनको यो राजनीति मुद्दाको एजेण्डाले गणतन्त्रवादी नेताको पगरी गुथेका प्रचण्डको नाकको डिलैमा बसी मुखभरी आँची गरी दिएझै भएका छन् । यो भन्दा लाजमर्दो अवस्था के हुन सक्ला र ? कठै..!

ध्यानाकर्षण गराउँनैपर्दा, पार्टीमा खाली उनै पुरानै नेतृत्वहरुलाई नै स्टाम्प छाप हान्दै अनुमोदन गर्ने सत्ताधारी पार्टीका प्रतिनिधि कार्यकर्ता र नेतृत्वकर्मीहरुलाई यसपटक राप्रपाका महाधिवेशन प्रतिनिधिहरुले दरो झापट् हान्न पुगेका छन् । जसले उनीहरुबीचको चेतनास्तरको बृद्धीलाई पनि मापन र उजागर गर्नमा दुबै एकैसाथ उभ्याई दिएको छ । पार्टीमा स्वेच्छाचारी ढंगले हालीमुहाली गर्दै अवसरवादी नेताको रूपमा ट्याग बोकेका उनै कमल थापालाई यो महाधिवेशनले पराजित मात्र गरेन की, सदाको लागि राजनीति विस्थापननै गरिदिएको हो भन्ने आभाष दिन खोजेको छ । उनको बहिर्गमनपछिको टिप्पणीहरुलाई सामाजिक सञ्जालहरुमा लेखिएको प्रतिकृयाहरुलाई हेरेनै काफी छ । उनीप्रति पार्टी सम्बद्ध कार्यकर्ता र शुभेच्छुक चिन्तकहरु कति रुष्ट र चित्त फाटेका रहेछन् भन्ने कुराचाहीँ सञ्जालहरुमा हेरेपछिनै मात्र सहजै अनुमान लगाउँन सकिन्छ । नेतृत्वमा उनको हारपछि, उनले आफ्नो हार स्वीकार्न नसक्नु र पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो हारको विशेषः कारकतत्वका रूपमा लिनु थापाको राजनीति दरिद्रताको घिनलाग्दो चरित्र हो यो । पार्टीमा आफैले उभ्याएको एउटा आदिवासी जनजातिको छोरालाई पार्टीको नयाँ नेतृत्वको रूपमा उसको अस्तित्व सहजै स्वीकार्न नसक्नु पनि थापाको हकमा अति नश्लिय बाहुन/हिन्दुवादीचेतको पराकाष्ठा नै हो । राप्रपा. उसै नि राजतन्त्र र हिन्दुवादी साम्प्रदायिकताको वकालत गर्ने पार्टी नै त हो । त्यसमा पनि त्यो हिजोको अतिवादी राजनीति सत्ताको विचारहरुलाई पुनः ब्युँउताउँने कसरतमा राजनीति लिडरसिप बन्ने अवसर पाएको एउटा लिम्बुको छोरालाई नेता मान्न थापालाई कति गाह्रो लागेको हो ? नेता स्विकार्न नसक्नुमा र स्वीकार्य नहुनुमा उनको उपल्लो जातीय वर्गको दम्भ र अहंकारको रुप हो । उनी उपल्लो अभिजात वर्ग र जातिको कथित बाहुनवादी हिन्दु भएकै कारण लिङ्देनलाई सहर्ष नेता मान्न स्वीकार्यता नभएको हो ।

स्मरण गरौं, पार्टीमा एकताका लोकतन्त्र (२०६२/६३) बहालीपछि पार्टीको महाधिवेशनमा पान्थर थुम, लिम्बुवानको बाघको पगरी गुथेका पूर्व गृहमन्त्री पद्मसुन्दर लावतीले नेतृत्वमा आफू भन्दा जुनियर नेता उनै थापासँग पार्टी चुनावी मैदानमा लडे । परन्तुः बाघ बुढा बनेका लावती उनै जुनियर फुच्चे नेतासँग लाजमर्दो पराजयको हार भोग्नु परेको थियो । उसताक थापाले लावती बुढालाई अग्रज ब्यक्तित्वको रूपमा हार्दिक सम्मान गर्दै नेतृत्व गर्ने सघन मार्ग फुकुवा गरीदिनु पथ्र्याे । जुनबेला त्यो समर्पण त्याग देखाउँन थापाकाजीले तत्परता रत्तिभर देखाएनन् । अन्तः अहिले उनी लिङ्देनसँग पराजय भोग्दा कटु तितो वचन ओकल्छन्, मर्यादाको क्रमलेपनि एकपटक नेतृत्व गर्न सहज गरीदिनु पथ्र्याे । भन्दै तिक्तता पोखाउँदै पार्टी नेतृत्वमा लड्दै थिए । संयोग भनौं या राजनीति बदलाव हो । हिजोको इतिहासमा बाघबुढा लावतीलाई अपमान गर्दै पछारेको विजयोत्सवको प्रतिफल आज थापा काजीको राजनीति जीवनमा ठ्याक्कै उस्तै सदर मेल खाने र भोग्नुपर्ने दिनहरुको सूत्रपात भयो कठै..!

पार्टीमा पुराना नेताहरुलाई बाईपास गर्दै, नयाँ नेतृत्वसँगै नयाँ अनुहारहरुको प्रवेश गराईनु र आगमन हुनुले राप्रपामा एउटा अपेक्षाकृत तरंग उत्पन्न गरेको छ । लिङ्देनको नेतृत्व आगमनले लोकतान्त्रिक पाटीका नेताहरुकै निंद हराम हुँदै गएको बुझ्नलाई कति नि गार्हो छैन । सत्ताधारी भनौंदा यी लोकतान्त्रिक पार्टीहरुले यी यस्तै हरकतहरु देखाउँदै लैजाने हो भने कुनै दिन राप्रपाले सांसदी अभ्यास मार्फतनै सत्ता हत्याउँन नसक्लान् भन्न सकिन्न । पछिल्लोपटक राप्रपामा लिङ्देनको नेतृत्वलाई लिएर नेपाली जनतामा उर्लेको उनको लोकप्रियताको उच्छाल लहरहरुको बेगलाई थुनछेक गर्ने साहस र आँट कसैले नगरे हुन्छ । उनको आगमनले नेपाली राजनीतिमा एउटा आशाको दियो जलाइदिएको छ भन्ने टिकाटिप्पणीहरु सामाजिक सञ्जालहरुमा यत्रतत्र काफी देख्न र सुन्नमा पाईन्छ । कुनै दिन यो देशको राजनीति सत्तामा श्रीपेज सहितको जनमोदित कार्यकारी प्रमुख प्रधानमन्त्री हुन गयो भने उदेक् र अचम्म नमाने पनि हुन्छ । त्यो उदेक र अचम्मित हुने दिनहरु पनि नआउला भन्न सकिन्न के । किनकी प्रेम, युद्व र राजनीतिमा जे पनि हुन सक्छ भन्ने शक्तिशाली कथन नि छ । राप्रपामा लिङ्देनको नेतृत्वलाई लिएर नेपाली राजनीति बजारमा यी यस्तै हल्ला र विचारहरुको गर्मागरम बहस र टिकाटिप्पणीहरुले तापक्रम झनै वढ्दो छ ।

महाधिवेशन सन्देश र नेतृत्वहरुको लोकतान्त्रिककरण

महाधिवेशनलाई खाली नेतृत्व चयन गर्ने वा नगर्ने हो ? भन्ने अर्थमा मात्र बुझ्नु हुन्न । यसले दिने सन्देश भनेको कुनै संघ/संस्था वा पार्टीको नेतृत्व विकास, पुस्तान्तरण, हस्तान्तरण साथै नवीन विचारहरुको कार्यदिशा र पार्टीको मार्गदशक सिद्धान्तहरुको प्रारुप कार्यनीतिहरु निर्माण गर्नु र त्यसलाई अनुमोदन गर्दै लागू गर्नु पनि हो । यथार्थमा महाधिवेशन सम्पन्न गर्नु र हुनुले यहीँ अर्थ राख्ने वा बोक्ने गर्दछ । तर, दुर्भाग्य यसपटक देशको राष्ट्रिय दलीय पार्टीहरु भनौंदाहरुले महाधिवेशनको मूल सन्देश र उसको मार्गदशक सिद्धान्तलाई पालना गर्न औचित्यता ठानेनन् । महाधिवेशनको नाममा यसो सम्पन्न गरे जस्तो गर्दै देखावटी बोक्रे कर्मकाण्डसिक गरेका हुन् । यसले के सन्देश प्रवाह गरेको छ भने, दलीय पार्टी र नेताहरुमा अझै पनि लोकतान्त्रिक आचरण र राजनीति नैतिकता विलकुलै छैन् ।

पार्टीको मार्गदशक सिद्धान्तचेन् उदार लोकतान्त्रिककरण भन्नेछ । तर, त्यसको नेतृत्वकर्ताहरु भने अनुदार र स्वेच्छाचारी प्रवृत्तिका छन् भने, पार्टीलाई लोकतान्त्रिककरणमा बदल्नु वा जनवादी बनाईनुमा त्यसले केही अर्थ राख्न सक्दैन । अहिले हामीहरुको दलीय पार्टीहरुमा देखिएको÷भएको दरित्र रोगनै यहीँ हो । पार्टीमा नेतृत्वकर्ताहरुमा लोकतान्त्रिक उदार हुनुप¥यो । महाधिवेशनको लोकतान्त्रिक मूल्य मान्यताहरुको चीरहरण गरेर, पार्टीको मुल मार्गदर्शन सिद्धान्तलाई जबर्जस्त बन्ध्याकरण गर्नु भएन/हुन्न । एमाले र माओवादीले लोकतान्त्रिक अभ्यास गर्न र आचरण देखाउँन अझै चाहेको छैन् । कांग्रेसमा पनि खडेरी पर्दै गएको देखिन्छनै । देशै हाक्ने पार्टी र तिनको नेतृत्व गर्नेहरुको आचरण र व्यवहारनै त ठीक छैन् भने तिनबाट देश र जनताले के अपेक्षा राख्ने हो ? नेतृत्वहरु बदलिनु जरुर छ । पार्टीको कार्यदिशा र अविलम्ब सिद्धान्त/नीतिहरुलाई अक्षरस पालना गर्दै तिनका नेतृत्वहरु हिड्न सक्नु प¥यो । नत्र संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा यो देश लुटिखाने र जनताको अभिमतलाई दुरुपयोग गर्दै तिनै जनतामारा राजनीतिको विकास हुँदै नहोस् भन्ने हो ।

नेतृत्वहरुमा आचरण विग्रनु र सांकेतिक विचलनहरु देखिनुमा सम्बद्ध पार्टीकै कार्यकर्ताहरु नै पूर्ण जिम्मेवार छन् । नेतृत्वले जतिनै गल्तीहरु गरे पनि, अनि जे सुकै गर्दापनि कार्यकर्ताहरुले अन्धाधुन्ध सपोर्टहरु गर्दै उल्टै काउण्टर बचाउको प्रतिवादमा उत्रेपछि नेतृत्वहरुमा झनै विसंगत अहंकार पलाउँदै गएको देख्न/बुझ्न सकिन्छ । देश र नेता विग्रनुमा पार्टी र नेताहरु मात्र जिम्मेवार छैनन् । यसो हुनुमा मुल कारण पार्टी कार्यकर्ता र मतदान गर्ने जनता पनि उत्तिकै दोषी छन् । नेतृत्वको स्वेच्छाचारी मनपरितन्त्रको खुलेर प्रतिवाद गर्ने र टिकाटिप्पणीहरु राख्ने अभ्यास गर्नु जरुरी छ । यसले नेतृत्व गर्ने नेताहरुलाई राजनीति नैतिकता र इमान्दारिताको आचरण दर्शाउने आत्माबोध गराउँनेछ । नत्र नेतृत्वगणहरुको सदा आजीवन अन्धभोगीको रूपमा सेवारत भक्त मात्र भइरहयो भने त्यो हिन्दु मिथकको रामायणमा भेटिने मुख्य पात्र भरतको जस्तो मात्र क्यारेक्टर रोल (चरित्र भूमिका) नेताहरुको हकमा आत्मा समर्पित भइरहने नजर अन्दाजलाई नकार्न भने सकिने छैन् । रामको अन्धों सेवक बनेका आफ्नो भाइ भरतले यसो भन्छन्, ख्वामित म त हजुरको दास पो हुँ त÷यो राज्य गर्ना कन योग्य को हुँ ? यो गादी त याहीँ हजुरको हो/मैले त सेवा गरि बस्नु पो हो । भन्ने यो भरत चरित्रको मनोभाव चिन्तन र विचारहरुलाई अबको यो लोकतान्त्रिक पद्धतिमा आत्मासाथ गर्नुको कुनै तुक छैन् । नेतृत्व तहका यी नेताहरुलाई कुनै राम, कृष्ण, बुद्व, वा गान्धीको रुपमा तुलकाँटामा राखेर तिनको देवत्वकरण गर्नुको रत्ति आवश्यक छैन् । उनीहरुलाई सर्वसाधारण नागरिकजन झैं बरु आममान्छे बनाउँनतिर उन्मुख रहनु पार्टी कार्यकर्ता एवं शुभेच्छुक चिन्तकहरुको कर्तव्य र दायित्व पनि हो ।

lojimaphago@gmail.com

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको माघ अंकमा प्रकाशित लेख हो)

 

सम्बन्धित खवर