प्रदेश नं. १ को मन्त्रीमण्डल विस्तार, मन्त्री संख्या १४ पुग्यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश नं. १ को मन्त्रीमण्डल विस्तार, मन्त्री संख्या १४ पुग्यो

बिराटनगर । प्रदेश १ को मन्त्रीमण्डल विस्तार भएको छ । आइतबार मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप गरी १४ सदस्यीय मन्त्रीमण्डल बनेको हो ।

प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । राई सामाजिक विकास मन्त्री बनेका छन् । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री नियुक्त भएका छन् । राईले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् ।

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् । जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे भने सामाजिक विकास राज्यमन्त्री मै रहने भएकी छिन् ।

 

सम्बन्धित खवर