किरात सभ्यता हुन् : आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात सभ्यता हुन् : आत्मानन्द सेइङ

माङसेबुङ । यहाँ आएर आशीर्वाद माग्ने सबैले आशीर्वाद पाएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

जसले माग्छ उसले आशीर्वाद पाउँने अङसीमाङले बताउनु भयो । वहाँले थप्नुभयो ‘माङसेबुङ आएर आशीर्वाद माग्ने सबैले केहीँ न केहीँ आशीर्वाद पाएका छन् ।’

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहक समुद्घाटन कार्यक्रमको अवसरमा आशीर्वचन दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

विश्व शान्ति मानव एकताको लागि सबै लाग्न आग्रह गर्नुहुँदै, अङसीमाङले किरात सभ्यता रहेको बताउनु भएको छ । वहाँले भन्नु भयो ‘किरात सभ्यता हो, किरातहरुको चक्रवर्ति राज्य थियो ।’

इलाम पूर्वकै पवित्रस्थल रहेको चर्चा गर्नु हुँदै, इलामबासी नेपाली कांग्रेसले आफूलाई सम्मान गरेकोमा हर्षित बनेको अङसीमाङले सुनाउनु भएको छ ।

धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा विगतका वर्ष झै आयोजना गरिएको नुमाङगेन्ना सेवा समारोह अन्तर्गत समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामका सभापति डम्बर खड्का रहनु भएको थियो भने विशेष अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगो रहनु भएको थियो ।

नुमाङगेन्ना सेवा समारोहको अवसरमा विगतका वर्ष झै आइतबार साक्मुरा वादेम्मा गरिएको र सोमबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ । यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य र केलाङ प्रस्तुत गरेका थिए ।

समुद्घाटन समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामको तर्फबाट अभिनन्दन पत्र समेत चढाएका थिए । समुद्घाटन समारोह पश्चात नुमाङगेन्ना कार्यक्रम सञ्चालन गरिएको छ । भने, साँझ बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक विभागले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य राखेका थिए ।

समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार बिहिबार (भोलि) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ । त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल पनि मंगलबार सम्पन्न भएको छ ।

खेलकुद प्रतियोगितामा एपिएससी माङसेबुङ विजयी भएका छन् । भने, उप विजेता माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति बनेका छन् । जन्मोत्सव समारोहको समापन कार्यक्रम बिहिबार हुने मूल समारोह समितिले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङसंग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

 

सम्बन्धित खवर