सावायेहाङ किरात चोत्लुङ उठाएरै छोड्छु : आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सावायेहाङ किरात चोत्लुङ उठाएरै छोड्छु : आत्मानन्द सेइङ

माङसेबुङ । सावायेहाङ किरातको चोत्लुङ उठाएर मात्र छोड्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

विश्व ब्रमाण्डको बारेमा आफूले बोल्ने दिन नजिक आउँदै गरेको प्रसंग जोड्नु हुँदै, अङसीमाङले भन्नु भयो, ‘मेरो जिम्मेवारी पूरा गरेर मात्र जाने छु ।’

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आशीर्वचन दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

‘सबै आउँछन् आशीर्वाद माग्छन् सबैलाई आशीर्वाद दिँदै आएको छु’ अङसीमाङले भन्नु भयो, ‘यहाँ आएर आशीर्वाद माग्ने सबैले केहीँ न केहीँ आशीर्वाद पाएका छन् ।’ वहाँले थप्नु भयो ‘मैले सबै पार्टीको नीति सिद्धान्त बुझेको छु तर म सबैको साझा व्यक्ति हुँ ।’

विभिन्न आरोप लगाएर अनेक कुरा गर्नेहरुलाई पनि आफूले केहीँ नभनेको अङसीमाङले बताउनु भएको छ । वहाँले थप्नु भयो, ‘विरोध गर्नेले जे सुकै भनोस तर म केहीँ भन्दिन ।’ मुहिङगुम अङसीमाङले भन्नु भयो, ‘अहिले जति विरोध गरेपनि भोलि उसले आउने बाटो त्यहीँ हो ।’ वहाँले थप सुनाउनु भयो ‘सम्पति भएर पनि ज्ञान, बुद्धि र विवेक छैन् भने केहीँ काम लाग्दैन् ।’

माङसेबुङको अदृश्य शक्तिले सबैलाई आकर्षित गरिरहेको चर्चा गर्नुहुँदै, भविष्यमा संसारलाई शान्ति गराउने पवित्रस्थल माङसेबुङनै रहेको अङसीमाङले बताउनु भएको छ ।

अहंकार, क्रोध, पाप र लोभलाई परास्त गरेपछि मात्र आत्मा पवित्र हुने अङसीमाङले बताउनु भयो । वहाँले थप्नु भयो, ‘कलियुगमा साँघुरो र छोटो सोचाई र बुझाई मात्र आउँछ ।’ खानपिनमा शुद्धता नभएपछि विभिन्न रोगहरु लाग्ने संकेत गर्नुहुँदै, जीवनलाई कसरी शुद्ध र पवित्र राख्ने सबै सिकाई सकेको वहाँले सुनाउनु भयो ।

विश्व व्यापी फैलिरहेको महामारी शान्त भएपछि फेरी विश्व युद्धको संकेत रहेकोले यसबाट बच्न माङसेवा गर्न सबैलाई आग्रह गर्नु भएको छ । वहाँले भन्नु भयो ‘यहाँ विश्व शान्ति मानव एकताको लागि इमर्जेन्सी सेवाहरु आयोजना गर्नु पर्ने छ ।’

धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा विगतका वर्ष झै आयोजना गरिएको नुमाङगेन्ना सेवा समारोहको अवसरमा विगतका वर्ष झै आइतबार साक्मुरा वादेम्मा गरिएको र सोमबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ । यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य र केलाङ प्रस्तुत गरेका थिए ।

समुद्घाटन समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामको तर्फबाट अभिनन्दन पत्र समेत चढाएका थिए । समुद्घाटन समारोह पश्चात नुमाङगेन्ना कार्यक्रम सञ्चालन गरिएको थियो । भने, साँझ बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको सांस्कृतिक विभागले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य राखेका थिए ।

समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार बिहिबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान भएको थियो । त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल समेत वितरण गरिएको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल पनि मंगलबार सम्पन्न भएको थियो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङसंग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

सम्बन्धित खवर