किरातेश्वर गौशालाको विकासमा पहल गरौं : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरातेश्वर गौशालाको विकासमा पहल गरौं : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ । आत्मा पवित्र किरातेश्वर गौशालाको विकास र विस्तारका लागि सबैले पहल गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

सरकारसँग नीतिगत छलफल गरेर गौशालाको विस्तार गर्नुपर्ने बताउनु हुँदै, अङसीमाङले भन्नु भयो, ‘नेपालको विभिन्न ठाउँहरुमा गौशालालाई विस्तार गर्नुपर्छ ।’

आइतबार आत्मा पवित्र किरातेश्वर गौशालाको कार्यालय उद्घाटनको अवसरमा आशीर्वचन दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

‘गौशाला विस्तारका लागि गोठहरुको निर्माण गरी घाँस र पानीको उचित प्रबन्ध मिलाउनु पर्छ’ अङसीमाङले भन्नु भयो, ‘गोठालाको व्यवस्थापन पनि राम्रो गर्नु पर्छ ।’

‘महागुरु फाल्गुनन्दको पालाको गाईबस्तुहरु सबै हराएको छ’ आशीर्वचनमा वहाँले थप्नु भयो ‘संस्थागत गौशाला नहुँदा अहिले निजी गुरु आश्रममा रहेका गाई बस्तुहरु पहिले झै हराउँछन् भनेर गौशाला स्थापना गरिदिएका छौं ।’

विभिन्न ठाउँमा स्थापना गरिएको गौशालाबाट उत्पादन हुने मलहरु संकलन गरेर गुरु निजी आश्रममा रहेको जग्गामा प्रयोग गरिने अङसीमाङले बताउनु भएको छ । वहाँले गौशालाको महत्वबारे प्रष्ट पार्नु हुँदै थप्नु भयो, ‘किरातेश्वर गौशालाको विस्तार भएका किरात धर्मको शक्ति बढ्ने छ ।’

कार्यालय उद्घाटन कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष अशोककुमार सबेन्हाङ, भुटान प्रतिनिधि रनधोज इधिङगो, गुरु निजी कानुनी सल्लाहकार एन एस फागो लगायतले बोलेका थिए ।

आत्मा पवित्र किरातेश्वर गौशालाका अध्यक्ष वीरबहादुर आङलाको अध्यक्षतामा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा कोषाध्यक्ष खड्ग खालिङले स्वागत मन्तव्य राखेका थिए । भने, बाइसकुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर