माङसेबुङमा संचार सीप र स्थानीय तहको समाचार लेखन तालिम सुरु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा संचार सीप र स्थानीय तहको समाचार लेखन तालिम सुरु

माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङमा संचार सीप र स्थानीय तहको समाचार लेखन तालिम मंगलबार सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा तालिम सुरु भएको हो ।

युवाहरुमा संचार सीप र समाचार लेखन सम्बन्धी ज्ञान र सीपको विकास गरी स्थानीय तहका गतिविधिहरुलाई आम नागरिकसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले संचालित तालिममा वडाका २४ जना युवाहरुको सहभागिता रहेको छ ।

तालिमका सहभागीहरुलाई कान्तिपुर मिडिया ग्रुपका उपसम्पादक एवम् नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, नयाँ बुलन्दका सम्पादक एवम् नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङहाङ र नेपाल टेलिभिजन इटहरीका जीवन लिम्बूले सहजीकरण गरिरहेका छन् । तालिम शुक्रबारसम्म संचालन हुनेछ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षता भएको तालिमको उद्घाटन वडा अध्यक्ष पुष्पराज कार्कीले गरेका थिए ।

वडा अध्यक्ष कार्कीले स्थानीय सरकार र संचार क्षेत्र एकअर्काको परिपूरक जस्तै भएको उल्लेख गर्दै आफूहरु सधैं संचार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । वडालाई समृद्ध बनाउने अभियानमा संचार जगतको महत्वपूर्ण भूमिका रहने बताउँदै कार्कीले आगामी दिनमा समेत संचार क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा वडा सदस्य रमा लिम्बू, सहजकर्ता नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, वडा सचिव हेमसागर घिमिरेले मन्तव्य राखेका थिए ।

नयाँ बुलन्दका उपसम्पादक अतित योङहाङले संचालन गरेको कार्यक्रमको स्वागत प्रतिनिधि बालकृष्ण बस्नेतले गरेका थिए ।

सम्बन्धित खवर