महागुरु फाल्गुनन्द र गौतम बुद्धका प्रतिमाहरु सबैको साझा सम्पति हुन : आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्द र गौतम बुद्धका प्रतिमाहरु सबैको साझा सम्पति हुन : आत्मानन्द सेइङ

माङसेबुङ । महागुरु फाल्गुनन्द र गौतम बुद्धका प्रतिमाहरु सबै नेपालीको साझा सम्पति भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

यी दुई महात्माहरुको प्रतिमा स्थापनाले शान्ति कायम गर्न सहयोग गर्ने बताउनु हुँदै, अङसीमाङ आत्मानन्द सेइङले गौतम बुद्ध र महागुरु फाल्गुनन्दको दर्शन तत्कालीन समयका समाजमा कसैले बुझ्न नसकेको बताउनु भएको छ । गौतम बुद्धको बारेमा प्रष्ट पार्नु हुँदै बुद्ध पनि किरात लिम्बूहरुको सन्तान भएको अङसीमाङले बताउनु भयो ।

वहाँले सो कुरा शुक्रबार पान्थरको मिक्लाजोङ ४ मा अवस्थित थामडाँडा जडिबुटेमा सम्पन्न महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास तथा निर्माणाधिन गौतम बुद्धको प्रतिमा अवलोकन कार्यक्रममा आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

आशीर्वचन दिनु हुँदै अङसीमाङले भन्नु भयो, ‘महात्मा गौतम बुद्ध र महागुरु फाल्गुनन्द लिङ्देनको मार्ग दर्शन अनुसार विश्व शान्ति मानव एकता कायम रहोस।’ वहाँले थप्नु भयो, ‘विश्वमा फैलिरहेको विभिन्न महामारीहरुबाट पनि सुरक्षित रहन सकौं ।’

मुलुक आफ्नो उत्पादनले आत्मनिर्भर बन्न नसकेको बताउनु हुँदै, अन्तर्राष्ट्रिय सहायताले नेपालको अर्थतन्त्र चलिरहेको वहाँले सुनाउु भयो । रबि आसपासमा रहेको बेहुली ढुङगा, जडिबुटे, थामडाँडा लगायतका ऐतिहासिक स्थलहरुलाई संरक्षण र विकास गरी धार्मिक पर्यटकीय तिर्थस्थल स्थापना गर्न सकिने अङसीमाङले बताउनु भएको छ । वहाँले थप्नु भयो, ‘यहाँ भ्युटावर, गेष्टहाउस लगायत विकासका पूर्वाधारहरु निर्माण गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

प्रकृतिमा रहेका सबै चीजहरु इश्वरको सृष्टि भएको वहाँले प्रष्ट पार्नु हुँदै, प्रकृतिले पनि उपकार खोज्ने बताउनु भएको छ । प्रकृतिको उपकारको विषयमा वहाँले भन्नु भयो, ‘पृथ्वीको उपकारको लागि उधौली उभौली सेवाहरु सञ्चालन गर्नुपर्छ ।’

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन प्रतिमा शिलान्यास, किरात माङहिम शिलान्यास तथा निर्माणाधीन गौतम बुद्धको प्रतिमा अवलोकन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, विशेष अतिथि भूमि आयोग पान्थरका अध्यक्ष दिनेशकुमार लाओती रहनु भएको थियो । किरात धर्म सम्बद्ध विभिन्न संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको भेलामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, गुरु निजी कानुनी सल्लाहकार भीम खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मिक्लाजोङ गाउँपालिकाका अध्यक्ष अमर माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिक्लाजोङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामकुमार राईले स्वागत मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर