भगीरथ भण्डारीलाई आशिष स्मृति पत्रकारिता पुरस्कार - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भगीरथ भण्डारीलाई आशिष स्मृति पत्रकारिता पुरस्कार


इलाम । इलामका युवा पत्रकार भगीरथ भण्डारीले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ पाएका छन् । नेपाल पत्रकार महासंघले हरेक नयाँ वर्ष प्रदान गर्दै आएको पुरस्कार यसवर्ष भण्डारीले पाएका हुन् ।

बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नगद १० हजार रुपैयाँको चेक, दोसल्ला र सम्मानपत्र प्रदान गरेर भण्डारीलाई पुरस्कृत गरे ।

विगत ८ वर्षदेखि पत्रकारितामा क्रियाशील भण्डारी हाल राजधानी दैनिक र जनता टेलिभिजनका इलाम समाचारदाता हुन् । भण्डारी शारीरिक रुपमा अपाङ्गता भएरपनि आफूलाई पत्रकारिता क्षेत्रमा अब्बल रुपमा स्थापित गरेका छन् । भण्डारीले १२ साउन २०६९ सालमा करेन्ट लागेर आफ्नो बाँया हात गुमाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका पूर्व उपसभापति डा. देवी क्षेत्री दुलालले स्वर्गीय पत्रकार राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष पोखरेलसहित जिल्ला समन्वय समितिका प्रमुख गणेस बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लव घिमिरे, उपाध्यक्ष हिमा चेम्जोङ, झापाका अध्यक्ष एकराज गिरी, इलामका पूर्व सभापति सोम सुसेली, पुरस्कृत भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टाईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भीम चापागाई र स्वागत उपाध्यक्ष ख्याम भुजेलले गरेका थिए ।

इलामका स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासंघ इलाम शाखाले सो पुरस्कार स्थापना गरेको हो । साविकको मेचीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने उदयीमान एवम् क्रियाशील पत्रकारलाई प्रत्येक नयाँवर्ष पुरस्कार वितरण गर्दै आएको छ । महासंघले स्वर्गीय राईको स्मृति दिवसमा पुरस्कार वितरण गर्दै आएको छ ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिका (साविकको सुलुबुङ गाउँ विकास समिति ३) इलाममा जन्मेका राईको निधनपछि २०६० मा नेपाल पत्रकार महासंघ इलामले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष खडा गरी पुरस्कार स्थापना गरेको थियो ।

यस अघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, पाँचथरका गणेश साङपाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।

सम्बन्धित खवर