चारदलको चुनावी गठबंधनले बाजि मार्ने दाबी - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चारदलको चुनावी गठबंधनले बाजि मार्ने दाबी

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु बीच गठबन्धन गरेर निर्वाचनमा भाग लिने भएका छन ।

बुधबार साँझ बसेको चार दलिय बैठकले २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्य पदका लागि मिलेर उम्मेदवारी दिने भद्र सहमति भएको नेपाली काङ्ग्रेसका सभापति दुर्गा बम्जानले बताए ।

नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी, जनता समाजबादी पार्टी नेपाल साथै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरू मिलेर नेकपा एमालेसँग चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन ।

जसअनुसार गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काङग्रेस, उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र र वडा नम्बर १ मा वडाअध्यक्ष जसपा सदस्यहरु क्रमशः काङ्ग्रेस , माओवादी, नेकपा एस र राप्रपाले पाएका छन् ।

यसैगरी वडा नम्बर २.मा वडाअध्यक्ष नेकपा एस र सदस्यहरुमा काङ्ग्रेस दुई र माओवादीले दुई पाएका छन । वडा नम्बर ३. मा वडाअध्यक्ष पद काङग्रेसले पाएको छ भने सदस्यहरुमा दुई माओवादी एक जसपा र नेकपा एसले पाएका छ्न ।

त्यस्तैगरि वडा नम्बर ४. मा वडाअध्यक्ष पदमा जसपा र सदस्यहरुमा काङ्ग्रेस माओवादी जसपा र नेकपा एस रहेका छन । वडा नम्बर ५ मा पनि वडा अध्यक्ष पदका लागि नेकपा माओवादीले पाएको छ भने अन्य सदस्यहरुमा काङ्ग्रेस माओवादी र जसपाले समेतले पाउने गरि पदिय सहमति भएको जनाइएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडाहरुमा बिजय प्राप्त गरेका थिए । र १ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए भने गाउँपालिकाको हकमा एमालेका तर्फबाट अध्यक्ष पदमा जयबहादुर चेम्जोङले ३ हजार २ सय २६ मत ल्याएर बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार बम लावतिले २ हजार ३ मत प्राप्त गरेका थिए । यस्तै नेकपा माओवादी केन्द्रका ताराबिर कुवरले ४ सय १० मत ल्याएका थिए ।

यसैगरी उपाध्यक्ष तर्फ नेकपा एमालेका उम्मेदवार सीता आचार्यले ३ हजार २ सय ८५ मत ल्याएर बिजयी भएकि थिईन । उनका प्रतिस्पर्धी राप्रपाका जितबहादुर अगुवाले १ हजार १ सय ३८ मत ल्याएका थिए भने तत्कालिन संघिय समाजवादी पार्टीका सुर्यकिरण राइले २ सय १२ मत ल्याएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कुम्मायक गाउपालिकामा रहेका ५ वटा वडाहरुको मत परिणाम यस्तो रहेको थियो । वडा १ का स्वतन्त्र उम्मेदवार (हाल जनता समाजवादी पार्टी) देवेन्द्रकुमार लावतिले ५ सय ७ मतले बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी खडकबहादुर बरालको ४ सय ७४ मत र राप्रपाका टठबहादुर घिमिरेले ३ सय ४४ मत ल्याएका थिए ।

यसैगरी वडा नम्बर २ मा नेकप एमालेका बालकृष्ण शेर्मा (हाल नेकपा एकीकृत समाजवादी पार्टी) को ७ सय १ मत, काङ्ग्रेसका लोकबहादुर निरौलाको ५ सय ४४ मत र माओवादी केन्द्रका डिकेन्द्रकुमार शेर्माको १ सय ८० मत रहेको थियो । यसरीनै वडा न, ३ मा नेकपा एमाले बाट निर्वाचित रामप्रसाद गजुरेलले ५ सय ५ मत र प्रतिस्पर्धी काङ्ग्रेसका कमलबिक्रम सम्बाहाम्फेले २ सय ९० मत संघिय समाजवादी पार्टीका कबिन्द्र सम्बाहाम्फेले १७ मत ल्याएका हुन ।

यसैगरी वडा नम्बर ४ मा नेकपा एमाले पार्टीको तर्फबाट पुर्णकुमार खड्काले ५ सय ५७ मत ल्याएर बिजयी बनेका थिए । उनका प्रतिस्पर्धी लिम्बुवान पार्टीको तर्फबाट सुर्य सम्बाहाम्फेले १ सय ९२ मत साथै नेपाली काङ्ग्रेसका नन्दिकेशर निरौलाले जम्मा ६४ मत प्राप्त गरेका थिए र वडा नम्बर ५ मा नेकपा एमालेका यामबहादुर बोहोराले ७ सय ११ मत र उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का ३ सय ३८ मत र राप्रपाका कुलबहादुर चेम्जोङले जम्मा ४३ मत ल्याएका थिए ।

२०७४ मा भएको स्थानीय निकायको निर्वाचनमा भन्दा यसपटक यस कुम्मायक गाउँपालिकामा नेकपा एमालेले निक्कै कडा मेहनत गरेर चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिनु पर्ने देखिन्छ ।

 

सम्बन्धित खवर