सृष्टिकालका सूर्य वंशीनै किरात समुदायहरु हुन : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सृष्टिकालका सूर्य वंशीनै किरात समुदायहरु हुन : अङसीमाङ आत्मानन्द सेइङ

हल्दीबारी । किरात खण्ड पृथ्वीको उत्पतिसँगसँगै आएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

‘नेपाल नहुँदा पनि यहाँ किरात मुलुक र किरात सभ्यता थियो ।’ अङसीमाङले भन्नु भयो, ‘सृष्टिको कुरा गर्दा, किरात मुन्धुम अनुसार मुजिना खेयङनाको छोरा सावा युक्पुङगेम्बाको सन्तानहरुनै सूर्य वंशी र चन्द्र वंशी हुन् ।’

वहाँले थप्नु भयो, ‘सृष्टिकालका सूर्य वंशीनै किरात समुदायहरु हुन, किरातहरुको उत्पति थलो मुनातेम्बे हो ।’ झापाको हल्दीबारी १, गौल्धापमा सम्पन्न किरात आत्मा पवित्र सेवालुङ माङहिम निसामहिम शिलान्यास समारोहमा आयोजित आशीर्वचन कार्यक्रममा अङसीमाङले सो कुरा बताउनु भएको हो ।

‘हिन्दु र मुस्लिमहरुबीच युद्ध हुँदा यहाँ किरात राज्य थियो, हिन्दुहरुलाई किरातहरुले सरण दिएर बचाएका हुन ।’ संसारमा छरिएर बसेका सारा मानवहरु एकै भएको अङसीमाङले सुनाउनु भयो । थप सुनाउनु भयो, ‘हामीले अवलम्बन गरिएको संस्कार र संस्कृतिहरुले मात्र फरक देखिएका हौं ।’

नाम्धुङ लाधुङ सेमी सेवाको महत्व र औचित्य प्रष्ट पार्नु हुँदै अङसीमाङले भन्नु भयो, ‘परापूर्वकालदेखि पूर्खाहरुले मान्दै आएको सुम्जीरि सम्हात्लुङमा पहिला चढाएर मात्र खानेकुरा खाने चलननै नाम्धुङ लाधुङ सेमी सेवाको रुप हो ।’ वहाँले भन्नु भयो, ‘यसरी सेवा गर्दा पञ्चतत्वको नाममा चढाउने गरिन्छ ।’

किरात सावायेहाङसाहरुलाई महागुरु फाल्गुनन्दले बलीपूजा र छोरी चेलीको सोतरित नलिनु भन्ने सन्देश दिनु भएको प्रसंग सुनाउनु हँुदै अङसीमाङले पनि बलीपूजाको अन्त्य गर्दै, सबै जाति समुदायले जीवनलाई पवित्र राख्न आग्रह गर्नु भयो । ‘हिन्दु धर्म दर्शन र संस्कार महिलाहरुले थामेका छन’ वहाँले भन्नु भयो, ‘तर पनि हिन्दु धर्ममा अझै पनि समानता हुन नसकेकोले महिलाहरुले बेद पढ्न पाएका छैन् ।’

कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दु महासंघ उपाध्यक्ष यज्ञप्रसाद ओली, विशेष अतिथिहरु विएण्डसी टिचिङ अस्पताल विर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाई, गुरु निजी कानुनी सल्लाहकार भीत्र खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन, गुरु सुपुत्रद्धय शुभनन्द लिङ्देन र नाम्बीनहाङ लिङदेन रहनु भएको थियो ।

यसैगरी टोलीमा माङसवार कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी सचिवद्धय टंक लिङदेन र खडग साँबा, कानुनी सल्लाहकारद्धय एन एस फागो र भीम खत्री, पूर्व गुरु निजी सचिव तथा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष नबिन लिङ्देन रहनु भएको थियो ।

नाम्धुङ लाधुङसेमी सेवाको अवसरमा शुक्रबार आयोजित किरात आत्मा पवित्र सेवालुङ माङहिम र किरात आत्मा पवित्र सेवालुङ निसामहिम शिलान्यास कार्यक्रम आयोजक समितिका अध्यक्ष टिकाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पूर्ण कन्दङवाले राखेका थिए भने, कार्यक्रम सञ्चालन काकीराम लाओतीले गर्नु भएको थियो ।

 

सम्बन्धित खवर