आज पहिलो दिन इलामका १० पालिकामा उम्मेद्धवारी दर्ता न्यून - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज पहिलो दिन इलामका १० पालिकामा उम्मेद्धवारी दर्ता न्यून

इलाम । आज पहिलो दिन स्थानीय तह निर्वाचनका लागि इलामका १० पालिकामा न्यून मात्र उम्मेद्धवारी दर्ता भएको छ ।

गठबन्धन दलको उम्मेद्धवारी टुंगो लागि नसकेका कारण र एमालेमा आन्तरिक बिवाद भएका कारण मनोनयन दर्ता कमै मात्र भएको हो । साना दलले मनोनयन दर्ता गराए पनि ठूला दलले सोमबार मात्र उम्मेद्धवारी दर्ता गराउने भएका छन् ।

इलामको देउमाई नगरपालिकामा नेकपा एमालेका तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ । एमालेका तर्फबाट नगरप्रमुखमा सूर्यप्रसाद पोख्रेल र उप–प्रमुखमा पविमाया राईको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै वडाध्यक्षका लागि वडा– १ मा मीनराज श्रेष्ठ, वडा– २ मा नरबहादुर मगर, वडा– ३ मा तेजबहादुर कटुवाल, वडा– ४ मा भीमलाल खनाल, वडा–५ मा तिलक हेम्जन, वडा– ६ मा डेविट साउदेन, वडा– ७ मा निरबहादुर चौंलागाईं, वडा– ८ मा चन्द्रबहादुर मगर र वडा– ९ मा प्रेमसागर बरालले एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट नगरप्रमुखमा गंगाराज हेम्जन तामाङ र उप–प्रमुखमा शान्ता सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनका तर्फबाट वडाध्यक्षका लागि वडा– ३ मा पूर्ण राई, वडा– ५ मा विशाल लिम्बू, वडा–७ मा कर्ण तामाङ, वडा– ८ मा मोहनबहादुर राई र वडा– ९ मा जनकलाल लिम्बूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत हरिबहादुर दाहालले बताए ।

दाहालका अनुसार अन्य दलहरु भने सोमबारमात्र उम्मेदवारी दर्ताका लागि आउनेछन् । इलाम नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेशनले मात्र प्रमुख उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । अर्गानाइजेशनका तर्फबाट नगरप्रमुखमा बुद्धबहादुर लोक्ताम र उप–प्रमुखमा सेरगेम तामाङले उम्मेदवारी दिएका छन् ।

सूर्योदय नगरपालिकाको प्रमुख र उप–प्रमुखमा राप्रपाका मोहन श्रेष्ठ र राधा ढकालले उम्मेदवारी दिएका छन् । यस्तै वडा अध्यक्ष र सदस्यहरुमा मंगोल नेशनल अर्गनाइजेशन, नेपका एकिकृत समाजवादी (एस) र जसपा नेपालका गरि ५१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए ।

अन्य दलहरु भने सोमबार उम्मेदवारी दर्ताका लागि आउने जनाइएको छ । इलामको माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका तर्फबाट नगरप्रमुखका लागि खम्बासिंह लिम्बु र उप–प्रमुखका लागि हिमा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै एमालेका तर्फबाट वडाध्यक्षमा वडा– ९ का लागि लिलाकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै वडा– ५ का लागि टंकनारायण राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट नगरप्रमुखमा चन्द्रकुमार सुब्बा फागो, उप–प्रमुखमा सपना राईले उम्मेदवारी दिएको अधिकृत फडिन्द्र भट्टराईले बताए ।

भट्टराईका अनुसार माइ नगरपालिकामा वडा सदस्यसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै माईजोगमाई गाउँपालिकामा एमालेका कुश बहादुर थेवेले अध्यक्ष र सावित्रा भटर्राइले उपाध्यक्षमा उम्मेद्धवारी दिएका छन ।

सम्बन्धित खवर