सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । सार्वजनिक भएको बजेटमा चालू खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० रुपैयाँ र पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जुन रकम कुल बजेटको क्रमशः ४२ प्रतिशत, २१.२ प्रतिशत र १२.८ प्रतिशत हो । प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

गत आर्थिक वर्षमा सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने र खाइपाई आएको भत्तालाई निरन्तरता दिने घोषणा गरेको छ ।

त्यस्तै वृद्धभत्ता पाउने उमेर ७० वषदेखि घटाएर ६८ वर्षममा झारिएको छ । सामुदायिक विद्यालयमा ६ कक्षासम्म छात्रछात्राका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

बजेटमा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, विद्युतमा छुट सुविधाका अतिरिक्त निःशुल्क विद्युतीय चुल्हो वितरण, निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान वितरणलगायत लोकप्रिय कार्यक्रम समावेश छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट खर्च रकम राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ जुटाउने भएको छ । ४ खर्ब ९८ अर्ब ३६ करोड रुपैयाँ अपुग रकम वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब रुपैयाँ जुटाउने जनाएको छ ।

सम्बन्धित खवर