संगीत नसा हो - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत नसा हो

हावा कुरा बोलको डान्सिङ गीत गायक मनिश श्रेष्ठको शव्द, संगीतमा मनिशसँगै आवाज भरेर गायिकाको रुपमा डेव्यू गरेकी प्रतिभा हुन् गायिका आशा लावती लिम्बू । २३ वर्षको युवा अवस्थामा गीत संगीतमा कदम चालेकी सुमधुर आवाजकी धनि गायिका आशा लावती सम्भावनाले भरिएकी प्रतिभा हुन् ।

परिवारले गीत संगीतलाई औधी मनपराउने, माया गर्ने भएकोले परिवारबाटै गीत संगीतमा लाग्ने, अगाडि बढ्ने हौसला अनि प्रेरणा मिलेको बताउने आशाले ‘उन्छोनबा याङघेक्हा’ बोलको लिम्बू भाषाको गीतमा समेत आवाज भरेर भाषिक गीत संगीतमा एउटा इटा थपेकी छन् । पछिल्लो समय एल्वम भन्दा पनि युट्यूवबाटनै गीतहरु सार्वजनिक गर्ने परिपाटीको विकास हुँदै आएसँगै युट्यूवबाटै गीतहरु सार्वजनिक गर्दै आईरहेकी आशाले कृतिको लागि एल्वम नै चाहिने भएकोले एल्वमको समेत तयारीमा जुट्दै गरेको बताउँछिन् ।

संगीत नसा हो, जुन नसा लागिसकेपछि छुटकारा पाउन र टाढा बस्न सकिदैन भन्ने आशा संगीत विना गाह्रो हुने बताउँछिन् । कला र गला भएको मान्छे मेहेनत गरेर अगाडि बढ्यो भने बाँच्न सकिने बताउने उनी गीत संगीतमा बाँच्न सकिने कुरामा सहमति जनाउँछिन् । हाल संगीत गुरु कैलाश राईबाट संगीत क्लास लिईरहेकी गायिका आशाले अहिलेसम्म आमाको दुःख, भनूँ म कसरी, ओइ पोक्चि, देउन मिठो प्यार र तामाङ सेलो गरी आधा दर्जन भन्दा बढी गीतहरुमा आवाज भरेकी छन् ।

प्रेम जिउने आधार हो, प्रेम बिनाको संसार सम्भव छैन भन्ने आशा पान्थरको मिक्लाजुङ स्थित कुरुम्बामा जन्मेर हाल काठमाण्डौलाई कर्मथलो बनाएर गीत संगीतमा स्थापित हुन संघर्ष गर्दै आईरहेकी छन् । भविश्यमा राम्रो अनि असल गायिका बन्ने दृढ संकल्प लिएर अगाडि बढिरहेकी आशाको सामाजिक काम गर्ने इच्छा रहेको सुनाउछिन् ।

आफ्नै गीत दूई वटा गीतमा र बाँकी दूई वटा गीतमा मोडलिङ समेत गरेर अभिनयको स्वाद लिएकी आशाले श्रेयसी चेम्जोङ र र रिना राईको गीतमा अभिनय गरेकी छन् । माधूर्य बोली साधा जीवन र व्यवहारले ओतप्रोत भएकी आशा पछिल्लो समय हजारौं दर्शक र स्रोताहरुको प्रिय बन्दै गएकी छन् ।

प्रस्तुति : आन्छुमे नसान

(प्रस्तुत फिचर माङसेबुङ मासिकको बैशाक अंकमा प्रकाशित फिचर हो)

सम्बन्धित खवर