द भ्वाइस अफ नेपाल सिजन ४ घोषणा, कोचमा थपिए राजेश पायल र प्रविशा - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वाइस अफ नेपाल सिजन ४ घोषणा, कोचमा थपिए राजेश पायल र प्रविशा

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ को औपचारिक घोषणा गरिएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी द भ्वाइस अफ नेपाल सिजन ४ को औपचारिक घोषणा गरिएको हो ।

आगामी महिनादेखि प्रसारणको तयारीमा रहेको भ्वाइसको सिजन ४ को कोचमा समेत हेरफेर गरिएको छ ।

नयाँ कोचमा राजेशपायल राई र प्रविशा अधिकारीले प्रवेश पाएका छन् भने, प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाएका छन् । तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १ सय २० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् ।

यसपटक विदेशमा बसोबास गर्ने नेपालीभाषीले पनि सहभागिता जनाएका छन् । भारत, थाइल्यान्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी प्रतिभाले पनि अडिसनमा भाग लिएको जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए ।

हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए । चौथो सिजन हिमालय टीभीमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

सम्बन्धित खवर