भोलि साउन २२, राष्ट्रिय जनमुक्ति पार्टीद्वारा लिम्बुवान बन्दको आह्वान - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोलि साउन २२, राष्ट्रिय जनमुक्ति पार्टीद्वारा लिम्बुवान बन्दको आह्वान

माङसेबुङ । भोलि साउन २२ गते लिम्बूवानको लालमोहर खोसेको भन्दै कालो दिनको रुपमा मनाउँदै राष्ट्रिय जनमुक्ति पार्टिको किरात, लिम्बूवान, खम्बूवान प्रदेश परिषदले लिम्बूवान बन्दको आह्वान गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले अपिल सार्वजनिक गर्दै अरुण पूर्वका ९ जिल्ला भोलि साउन २२ गते बन्दको आह्वान गरेको हो ।

पार्टीको किरात, लिम्बूवान खम्बूवान प्रदेश परिषदले हरेक वर्ष साउन २२ गते अरुण पूर्वका ९ जिल्ला बन्द गर्दै आएकोमा यस वर्ष पनि पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने भएको जनाउँदै आम व्यापारी वर्ग, विद्यालय, यातायातकर्मी र विभिन्न संघसंस्थालाई बन्दमा सहयोग गर्न आह्वान गरेको छ ।

राज्य एकीकरण गर्ने बहानमा वि.सं. १८३१ साउन २२ गते लिम्बूवान क्षेत्रको अधिकार तत्कालिन राजा पृथ्वीनारायण शाहाले लिम्बूवानी जनताको अधिकार खोसेको भन्दै यो पटक पहिचानवादी ३५ घटक राजनीतिक दलले पनि बन्दलाई नैतिक समर्थन गरेको पार्टी उपमहासचिव विष्णु थाङ्देनले जानकारी दिए ।

बन्दको समयमा अवज्ञा गरे त्यसको जिम्मेवार किरात, लिम्बूवान खम्बूवान प्रदेश परिषदले नलिने जनाएको छ ।

बन्दको अपिलमा यस्तो लेखिएको छ

आदरणीय जनसमुदाय

वि.सं. १८१४ सालको लिम्बुवान र गोर्खा बिच भएको ताम्रपत्र सन्धिलाई लत्याउँदै वि.सं. १८३१ साल श्रावण २२ गते धोकापुर्ण लालमोहर सन्धि मार्फत लिम्बुवान राज्यलाई वृहत नेपालमा गाभियो । यो सन्धि धोकापुर्ण भएको ठहर गर्दै तत्काल ३२००० लिम्बुहरुले लिम्बुवान राज्य खोसिएको उक्त दिनको विरोधमा विद्रोह गर्दै रुँदै रुँदै लिम्बुवान छाडेर अन्य देश पलायन भए । साँच्चै नै यो सन्धि धोकापुर्ण थियो यो सन्धिले लिम्बुवानलाई सधै सधैका लागि अन्धकार युगमा धकेल्यो यहाँको भाषा, लिपी, संस्कार, इतिहास, धर्म र सभ्यता माथि भयङ्कर डरलाग्दो गरी अतिक्रमण शुरु गरियो लगातारको लामो क्रान्ति पछि २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनपछि बनेको ६०१ सदस्यीय संविधान सभाले पनि लिम्बुवान राज्य घोषणा नगर्ने भएपछि २०६६ सालको श्रावण २२ गतेदेखि हरेक वर्षको श्रावण २२ गते लिम्बुवान गुमेको कालो दिनको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टी को नेतृत्वमा लगातार लिम्बुवान बन्द आव्हान हुँदै आएको छ । ऐतिहासिक पृष्ठभुमिका आधारमा अरुण पूर्व लिम्बुवान राज्य घोषणा नभएसम्म हरेक वर्षका श्रावण २२ गते गरिने बन्द निरन्तर जारी रहनेछ लिम्बुवान राज्य घोषणा गराउन दबाब दिनका लागि २०७९ श्रावण २२ गते आव्हान गरिएको एक दिने शान्तिपुर्ण लिम्बुवान बन्द कार्यक्रम सफल बनाउन सम्पुर्ण लिम्बुवानवासी जनसमुदायमा हार्दिक आव्हान गर्न चाहान्छौं । बन्दको दिन एम्बुलेन्स, कुटनीतिक नियोगको गाडी, प्रेसको गाडी, मलामी बोकेको गाडी, जन्ती बोकेको गाडी, परिक्षार्थी बोकेको गाडी बाहेक अन्य सम्पूर्ण बजार, यातायात, शैक्षिक संस्था, कलकारखाना, उद्योग बन्द रहने जानकारी गराउन चाहान्छौं यदि कसैले बन्दको उल्लंघन गरेमा हुन सक्ने सम्भावित क्षतिको जिम्मेबारी उल्लंघनकर्ता स्वयम्ले नै लिनुपर्ने पनि यसै अपिल मार्फत स्पष्ट पार्न चाहान्छौं ।

सम्बन्धित खवर