मुक्कुमलुङ सृष्टिकालीन नाम हो : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङ सृष्टिकालीन नाम हो : अङसीमाङ आत्मानन्द सेइङ

असोज ११, माङसेबुङ । भाषामा दर्शन र ज्ञान पाइने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । अङसीमाङले भन्नु भयो, ‘भाषा, साहित्य, संस्कृति बिना ज्ञान आउँदैनन ।’

भाषा, लिपि, साहित्यको विकासका लागि किरात साम्जीक मुन्धुम निसामहिमको स्थापना गरिएको प्रष्ट पार्नुहुँदै अङसीमाङले मानव जीवनमा भाषा, लिपिको आवश्यक पर्ने भएकोले भाषाको विकास गर्नुपर्ने बताउनु भयो ।

मंगलबार आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस, पाठ्यपुस्तक विमोचन तथा सम्मान कार्यक्रमको अवसरमा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो कुरा बताउनु भएको हो । आशीर्वचन कार्यक्रममा अङसीमाङको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको पनि देवसमुपस्थिती रहेको थियो ।

मुक्कुमलुङ सृष्टिकालीन नाम भएको बताउँनु हुँदै वहाँले भन्नु भयो, ‘मान्छेको सुरुमा माङगेन्ना नाम राखिएझै त्यो क्षेत्रको सुरुवातमा राखिएको नाम मुक्कुमलुङ हो ।’ थप्नु भयो, ‘यहाँको सभ्यताले सबैलाई बचाएको छ, चिनाएको छ, त्यहीँ सभ्यतालाई नाश गर्न राज्यले खोजिरहेको छ ।’

विभिन्न पद, अवसर र विकासको नाममा आदिवासी जनजातिहरुलाई अलमल्याएको प्रसंग जोड्नु हुँदै, अङसीमाङले भन्नु भयो, ‘नेपालका आदिवासी जनजातिहरुको हक अधिकार राज्यले सम्बोधन गरेको छैन् ।’ पञ्चायतकालमा मौलिक भाषा, लिपिहरु सबै लुगाएर बचाएर ल्याएको कुरा सुनाउँनु हुँदै वहाँले भन्नु भयो, ‘यो भाषा भोलि विश्वको भाषा हुनेछ । किरात लिपि र भाषा अध्ययन् गर्ने विश्वविद्यालय स्थापना गर्ने सोच राखेको छु ।’

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राई, विशेष अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरिचन्द्र लाओती, माङसेबुङ गाउँपालिका पूर्व उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा लगायतका अतिथिहरुको उपस्थित रहेको थियो ।

किरात साम्जिक मुन्धुमको विकासमा अतुलनीय योगदान दिने व्यक्तिहरुलाई सम्मान र निसामहिमका विद्यार्थीहरुलाई पाठ्यक्रम समेत वितरण गरिएको थियो । किरात साम्जिक मुन्धुम निसामहिम व्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो । निसामहिमका सिक्साम्बा सञ्च सङबाङफेको स्वागत तथा औचित्य मन्तव्य रहेको कार्यक्रम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाकले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर