धनकुटाको विकासका लागि प्रदेश सभामा उम्मेद्वारी दिएको हुँ : नेता चेम्जोङ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनकुटाको विकासका लागि प्रदेश सभामा उम्मेद्वारी दिएको हुँ : नेता चेम्जोङ

कातिक १, दमक । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रभावशाली नेता रकम चेम्जोङले धनकुटाको विकासका लागि नै आफूले प्रदेश सभामा उम्मेद्वारी दिएको दावी गरेका छन् ।

‘धनकुटाको विकासका लागि प्रदेश सभामा उम्मेद्वारी दिएको हुँ’ चुनावी अभियानमा सक्रिय रहेका नेता चेम्जोङले भने, ‘धनकुटाको विकासका लागि मैले बिगतमा पनि काम गरेको छु, त्यो कुरा यहाँका जनतालाई थाहा छ । फेरि पनि धनकुटाका जनता र मेरो साझा चाहना र उद्देश्य छ, त्यो भनेको धनुकुटाको विकास नै हो ।’

‘प्रदेशलाई बलियो बनाउन जिल्लाहरुमा विकासको लहर पुग्नै पर्दछ ।’ उनले थपे, ‘प्रदेशहरु बलियो हुँदा मात्रै संघीयता बलियो हुन्छ ।’

यतिबेला मतदाता जनतामाझ उम्मेद्वारका रूपमा १० वर्षपछि पुग्दा पहिले भन्दा बढी आत्मियता, विश्वास र माया पाएको उनको भनाइ छ ।

उनले चौबिसेबाट थालिएको चुनावी अभियानका क्रममा निरन्तर भेटघाटमा रहेको र आम जनताको साथ र हौसला प्राप्त भइरहेको बताए । आफू निरन्तर जनतासँगै घरदैलो कार्यक्रम रहेको र मतदाताहरुको जसपाप्रतिको आकार्षण बढेको पाएको नेता चेम्जोङले दावी गरे । बिहीबारदेखि धनकुटा नगरपालिका क्षेत्रमा चुनावी भेटघाटमा केन्द्रित हुने उनको भनाइ छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनले जसपाबाट धनकुटा जिल्लाको प्रदेश सभा (क)बाट उम्मेद्वारी दिएका छन् ।

चेम्जोङसँगै सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष अर्जुन राई र एमालेका तर्फबाट निरनकुमार राई चुनावी स्पर्धामा छन् । त्यसैगरी लिम्बुवान, जनमुक्ति, मंगोललगायत दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारहरु पनि मैदानमा छन् ।

पूर्व शान्ति मन्त्री समेत रहिसकेका चेम्जोङले मन्त्री भएको बेला द्वन्द्वपछिको पुनर्निमाण कार्यमा धनकुटाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनको पालामा धनकुटा जिल्लामा २ सय भन्दा बढी भौतिक निर्माणका कार्य सम्पन्न भएको जसपा प्रदेश १ समितिका सदस्य उपेन्द्र लावती बताउँछन् ।

सम्बन्धित खवर