राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३८औं जन्मजयन्ती भव्य सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३८औं जन्मजयन्ती भव्य सम्पन्न


कातिक २६, ताप्लेजुङ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्ती शुक्रबार विविध कार्यक्रम गरी संसारभर मनाइएको छ ।

फाल्गुनन्द जयन्तीको अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मे डाँडामा निर्माण कार्य सम्पन भएको महागुरुको शालिक किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ र मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनको हस्तबहुलीबाट शालिक अनावरण भएको छ ।


शालिक अनावरण गर्नु अघि मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङले, ताप्लेजुङमा अवस्थित मुक्कुमलुङमा विश्व शान्ति मानव एकता र सक्कल प्राणी रक्षार्थ सेवा गर्नु भएको थियो ।

शालिक अनावरण पछि फुङ्लिङ नगरपालिका ६ नम्बर वडामा अवस्थित २०६७ सालमा निर्माण सम्पन्न भएको किरात हाङ्साम माङहिम उद्घाटन र किरात साम्यो माङ्सेवासाबा थुम पान्जुम्भोको भवन अवलोकन समेत गर्नु भएको थियो ।

१८ फिट उचाई भएको हालसम्म बनेका महागुरुको शालिकमध्ये सबैभन्दा ठूलो, अग्लो र एउटै ढुङ्गाद्वारा निर्माण गरिएको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश प्रमुख पर्शुराम खापुङ रहनु भएको थियो ।


आशीर्वाद माग्न जान्नु पर्छ : अङसीमाङ आत्मानन्द सेइङ

महागुरु फाल्गुनन्दलाई आशीर्वाद माग्नेले आशीर्वाद पाएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

अङसीमाङले भन्नु भयो, ‘आशीर्वाद माग्दा पाइन्छ, पाएका पनि छन् तर आशीर्वाद माग्न जान्नु पर्छ ।’ फाल्गुनन्द शालिक अनावरणपछि सम्पन्न समारोहमा आशीर्वचन दिनु हुँदै वहाँले सो कुरा बताउनु भएको हो ।

समाजमा रहेको कुरिति कुसंस्कारलाई त्याग्दै जानु पर्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘समाजको उत्थानको लागि अहोरात्र लाग्नेहरुनै धर्ममा धर्मगुरु र राजनीतिमा राज नेता बन्छन् ।’


बिश्व शान्ति, मानव एकता र सक्कल प्राणी रक्षार्थ सम्पूर्ण मानव जगत एक भएर लाग्नुपर्ने भन्नु हुँदै सबैजना एकता बने मुलुकको विकास हुने वहाँले बताउनु भयो । ताप्लेजुङमा अवस्थित मुक्कुमलुङको शक्ति र महत्वको विषयमा चर्चा गर्नुहुँदै अङसीमाङले भन्नु भयो, ‘मुक्कुमलुङ हामीहरुको चोत्लुङ हो, यसलाई संंरक्षण, सम्र्बद्धन र स्वच्छ राख्नुपर्छ’

फाल्गुनन्द जयन्तीको अवसर पारेर किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले फाल्गुन्द पुरस्कार वितरणको प्रारम्भ गरेको छ । सो पुरस्कार लिम्बू याक्थुङहरूको भाषा, साहित्य, संस्कृति, लिपि, संस्कार र इतिहासको क्षेत्रमा योगदान दिएका ब्यक्तिलाई प्रदान गरिने चुम्लुङले जनाएको छ ।

जन्मजयन्ती कहाँ कहाँ मनाइयो ?

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाइएको छ। किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका हुन् ।


नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने गरिएको छ ।

पछिल्लो समयमा नेपालमा मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ । किरात धर्मदर्शनका महान दार्शनिक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती समारोह मनाइएको आयोजकले जनाएको छ ।


महागुरु फाल्गुनन्दको संक्षिप्त चिनारी

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मिएको १३७ वर्ष पूरा भई आगामी कार्तिक २५ गतेबाट १३८ वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती आगामी कार्तिक २५ गते विविध कार्यक्रम आयोजना गरी संसारभर मनाईदैछ ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।


महागुरु फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि।स। १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि।स। २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाता, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि। स। १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले फाल्गुनन्दलाई राष्ट्रिय विभूतीको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ । तत्कालीन समयमा लोपोन्मुख अबस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा र्डोयाउन अहोरात्र लाग्नु भएको थियो ।


नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं। २ साविक इभाङ गा।वि।स वडा नं। ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि। स। १९४२ साल कार्तिक २५ गते आइतबार साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि। स। २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।

हाङ्यकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।

सम्बन्धित खवर