अङसीमाङसँग आशीर्वाद माग्न माङसेबुङ पुगे पूर्व मन्त्री चेम्जोङ - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङसँग आशीर्वाद माग्न माङसेबुङ पुगे पूर्व मन्त्री चेम्जोङ

कातिक २८, माङ्सेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनसँग आशीर्वाद माग्न र भेटदर्शन गर्न जनता समाजवादी पार्टी नेपालका नेताहरु गुरु दर्शनमा आएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै निर्वाचनका उम्मेदवार र राजनीतिक दलका नेताहरु निजी गुरु आश्रम इलामको माङसेबुङ ५, लारुम्बामा आई गुरु समक्ष आशीर्वाद लिने र आफ्नो प्रतिबद्धताहरु जाहेर गर्ने कार्यक्रम हुँदै आएको छ ।

यसरी विभिन्न दलका नेताहरु गुरु दर्शन आउने क्रममा आइतबार जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा धनकुटा क्षेत्र नंं १ (क) प्रदेश सभा सदस्य उम्मेदवार रकम चेम्जोङ, इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य उम्मेदवार यामप्रसाद योङहाङ, इलाम क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार बलबहादुर आङदेम्बे लगायतका नेता कार्यकर्ताहरु किरात धर्मगुरुसँग भेटदर्शन गरी आशीर्वाद लिन आश्रम पुगेका हुन ।

यसरी सम्पन्न गुरु दर्शनमा आएका नेताहरुलाई अङसीमाङले भाषा, लिपि र अस्तित्वको लागि विशेष पहल गर्न र यसका लागि निरन्तर लाग्न आग्रह गर्नु भयो । दर्शनमा आएका जसपा नेता तथा पूर्व मन्त्री रकम चेम्जोङले प्रदेश नामाकरण, स्वायतता, विशेष संरक्षित क्षेत्र स्थापना र भाषा आयोगले सिफारिस गरेको लिम्बू र मैथिली भाषालाई प्रदेश स्तरीय सरकारी कामकाजी भाषा बनाउने विषयमा पहल गर्ने कुरा गुरु समक्ष राख्नु भयो ।

यसरी निर्वाचन नजिकिएसँगै गुरु दर्शन गरी आशीर्वाद माग्न आउने क्रममा यसै इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमाले संसदीय दलका उप नेता संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ, यसै क्षेत्रकै प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बर खड्का, इलाम क्षेत्र नम्बर २ ख प्रदेश सभाका उम्मेदवारहरु हर्कबहादुर लावती ‘कान्छा’, राम राना मगर, स्वतन्त्र उम्मेदवार वनेम विक्रम फागो, प्रतिनिधि सभाका उम्मेदवार जुनुकुमारी माखिम लगायतका उम्मेदवारले किरात धर्मगुरुसँग भेटदर्शन गरी आशीर्वाद लिएका छन् ।

सदा अतिथि निमन्त्रणा गर्दा बाहेक नेताहरुको आवतजावत विरलै मात्र हुने माङसेबुङमा आम निर्वाचनको मिति नजिकिएसँगै गुरु भेटदर्शनका लागि राजनीतिक दलका नेताहरुको आगमन दैनिक हुन थालेको हो ।

यसरी गुरु दर्शनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकिकृत समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, संद्दीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, लोकतान्त्रीक समाजवादी पार्टी लगायत राजनीतिक दलका उम्मेदवारहरु साथै स्वतन्त्र उम्मेदवारहरु पनि गुरु दर्शनमा आउने क्रम जारी रहेको छ ।

 

सम्बन्धित खवर