महागुरु फाल्गुनन्दले हामीलाई धेरै कुरा दिएर जानु भएको छ : लिङदेन आत्मानन्द सेइङ - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दले हामीलाई धेरै कुरा दिएर जानु भएको छ : लिङदेन आत्मानन्द सेइङ

माघ ९, माङसेबुङ । महागुरु फाल्गुनन्दले दिनु भएको सिवाखाहुनहरुमा वैज्ञानिक र दार्शनिक विषयहरु रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

‘महागुरु फाल्गुनन्दले हामीलाई धेरै कुरा दिएर जानु भएको छ’ अङसीमाङले भन्नु भयो, ‘थिबोङहाङ याक्थुङहाङसाहरुले असल कर्म गर्दै, समानताको सभ्यता निर्माण गर्नु भनि महागुरुले सत्य धर्म मुचुल्का स्थापना गरी दिनु भएको छ ।’

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण साथै सावायेहाङ किरात कम्ब्राङ माङगेन्ना सेवाको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा आशीर्वचन दिनुहुँदै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले सो कुरा बताउनु भएको हो । कार्यक्रममा अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको पनि समुपस्थिती रहेको थियो ।

सावायेहाङ किरात थिबोङहाङ याक्थुङहाङसाहरुको सोचाई र बुझाईमा कमजोरी रहेको भन्नु हुँदै वहाँले थप्नु भयो, ‘देशमा कसरी एकता र शान्ति कायम गर्न सकिन्छ हामी सबैले चिन्तन मनन गर्न आवश्यक छ । यो कुरा यहाँका नेताहरुकोमा ज्ञान आओस ।’

भौतिक शास्त्रमा मात्र विश्वास नगरी अध्यात्मिकतामा पनि जोड गर्न सुझाव दिनु हुँदै, यो पृथ्वी र पञ्चतत्वमा आएको समस्याको निराकरणका लागि माङसँग शक्ति माग्न आवश्यक रहेको कुरा प्रष्ट पार्नु भएको थियो ।

‘धर्म नभए हामी आफैं हराउँछौं’ अङसीमाङले भन्नु भयो, ‘पृथ्वीमा रहेका सबै जातजाति, धर्म, भाषा, संस्कार र संस्कृतिहरु हराउनु हुँदैन, हामे किरात धर्म र भाषा, लिपिहरु सृष्टी कर्ताले निर्माण गरेका हुन् ।’

खिबेक्वा याक्वा सेवा र मुबेक्वा सेवा गर्ने चलन किरात सभ्यता हो, यसलाई युग युगसम्म निरन्तरता दिनुपर्छ भन्नु हुँदै अङसीमाङले विश्वको शक्तिशाली राष्ट्रहरुको शक्ति घट्दै जाने संकेत गर्नु भएको छ । वहाँले भन्नु भयो, ‘अन्नको सह छ तर मान्छेको सह घट्दै जाँदै छ ।’

आशीर्वचनकै क्रममा सबैले शाकाहारी जीवनयापन अपनाउन समेत आग्रह गर्नुभयो । अङसीमाङले थप्नु भयो, ‘तपाइहरुको जीवनलाई सदा स्वस्थ्य र पवित्र राख्नु होस्, जाँड रक्सी पिएर झै झगडा नगर्नु होस् ।’

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण साथै सावायेहाङ किरात कम्ब्राङ माङगेन्ना सेवाको दोस्रो दिन शुक्रबार संविधान सभाका सदस्य आइन्द्र सुन्दर नेम्बाङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

बुधबारदेखि निरन्तर सञ्चालन गरिएको सावायेहाङ किरात कम्ब्राङ माङगेन्ना सेवा शुक्रबारसम्म रहेको थियो । सो माङगेन्ना सेवामा विभिन्न ठाउँबाट आउनु भएका किरात धर्मावलम्बीहरुले माङगेन्ना फोङमा गरेका थिए । भने, साँझ किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको संयोजनमा बृहत सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

यसैगरी माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको कार्यक्रम अन्तर्गत शुक्रबार माघ ६ गते मुहिङगुम अङसीमाङबाट विशेष माङआशीर्वचन हुने भएको छ । त्यस्तै मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक÷पुस्तिका विमोचन कार्यक्रम समेत रहेको थियो ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ ५ मा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण कार्यक्रम समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

सम्बन्धित खवर