फोनिजद्वारा कोशी प्रदेश नमाकरण खारेजीको माग - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिजद्वारा कोशी प्रदेश नमाकरण खारेजीको माग

फागुन २०, दमक । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ ।

फोनिज संघीय समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘संघीयताको मर्म विपरित र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रदेश नम्बर १ भित्र किरात, लिम्बुवान, कोचिला र शेपालुङसमेतको सभ्यता, राजनीतिक विरासत र पहिचानको थलो भएको जिकिर गर्दै फोनिजले प्रदेश सभाले जनभावना विपरित र रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार भएको फोनिजको ठहर छ ।

उसले विगतदेखि नै प्रदेश नम्बर १ को नामाकरण किरात लिम्बुवान वा लिम्बुवान किरात प्रदेश राख्नुपर्ने माग अघि सारेको छ ।

कोशी प्रदेशले प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने ठहर गर्दै फोनिजले पहिचान प्राप्तिको लागि हुने शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, शुक्रबार फोनिज प्रदेश १ समितिले विज्ञप्ति जारी गरेर पहिचान विरुद्ध आएको ‘कोशी प्रदेश’ स्वीकार नगर्ने धारणा सार्वजनिक गरेको थियो ।

विज्ञप्तिमा पहिचानको निम्ति अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता समेत व्यक्त भएको छ ।

मोरङ फोनिजले कोशी प्रदेशविरुद्ध गर्यो प्रदर्शन

यसैबीच फोनिज मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश विरुद्ध प्रदर्शन गरेको छ ।

बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्व पश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता लिम्बू, प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश पदाधिकारी, सल्लाहकार र सदस्यहरु र जिल्लाका नेतृत्व सहभागी थिए ।

त्यसअघि आयोजित भेलामा बोल्दै फोनिज संघीय उपाध्यक्ष देवानले पहिचान पक्षधरहरुको परिपाटी नमिल्दा र पहिचान विरोधी शक्तिहरुको प्रपन्च मिल्दा पहिचानलाई पाखा लगाएर कोशी नामाकरण हुन पुगेको बताए ।

देवानले भने -‘जसरी पहिचान चाहनेहरुको मर्म र भावना कुन्ठित गरेर प्रदेशको नामाकरण गरियो, यो गम्भीर षड्यन्त्र हो । फोनिज यसको विपक्षमा दृढताका साथ उभिनेछ ।’

भेलाको सान्दर्भिकता बारे प्रकाश पार्दै उनले फागुन २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा सम्पन्न हुने फोनिजको नीति तथा विधान सम्मेलनमा सबैले उपयुक्त र प्रभावकारी सुझाव दिनुपर्ने भन्दै जिल्लाहरुको अत्यधिक सहभागिता जुटाउन पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय सदस्यहरु देबेन्द्र खापुङ र सुजाता लिम्बू, प्रदेश सल्लाहकार फिपराज बेघाले पहिचानको चाहनालाई कुठाराघात गरिनु निन्दनीय भएको टिप्पणी गरे ।

त्यस्तै, फोनिज प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेश सभाभित्र छलछाम गरेर पहिचान पक्षधरहरुमाथि प्रहार गरिएको भन्दै यसले द्वन्द्व र विद्रोहलाई जन्म दिएको जिकिर गरे ।

भेलामा सहभागी मध्ये प्रदेश कोषाध्यक्ष प्रेम देवान, सदस्य बाबुराम मुडियारी, मोरङ सहसचिव रामकुमारी तामाङ लगायतले विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

फोनिज मोरङ अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतमा सम्पन्न भेलामा सचिव अनिल श्रेष्ठको सञ्चालन रहेको थियो ।

सम्बन्धित खवर