दोस्रो चरणको आन्दोलन र अनिश्चितकालीन आमहडतालको कार्यक्रम सार्वजनिक - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दोस्रो चरणको आन्दोलन र अनिश्चितकालीन आमहडतालको कार्यक्रम सार्वजनिक

 


चैत ८, दमक । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशको नाम कोशी खारेजीको लागि भइरहेको चरणवद्ध आन्दोलनलाई प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले संयोजन गर्दै आएको छ ।

संयुक्त संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति, किरात याक्थुङ् चुम्लुङ, किरात राई यायोक्खा र नेपाल शेर्पा संघ लगायत पहिचान पक्षधर संघ संगठनहरुको आबद्धता रहेको छ ।

 

संयुक्त संघर्ष समितिले तय गरेको गत चैत ५ गतेसम्मको घोषित कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्दै थप दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रमहरु बुधबार विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन ।

आन्दोलनका कार्यक्रमहरुमा १५ दिने गाउँ सहर जागरण मार्च अभियान प्रशिक्षण प्रतिरोध संरचना निर्माण, संघर्ष समितिको पूर्णता दिने यसको प्रारम्भ २०७४ चैत १० गते ताप्लेजुङ, ११ गते पान्थर, १३ गते झापा, १४ र १५ गते सुनसरी गर्ने रहेको छ । यस कार्यक्रमलाई अन्य जिल्लामा पनि सशक्त बनाउने जनाइएको छ ।

 

१४ जिल्लामा जिल्ला सभा र क्षेत्रीय सभा पनि आयोजना गर्ने साथै काठमाडौंमा मोटरसाइकल जुलुस सहित सभा गर्ने संघर्ष समितिले जनाएको छ।

त्यसैगरी राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतका समुदाय एवम् प्रदेश १ का जनताहरूसँग
समन्वय र छलफल गर्ने साथै प्रदेश नं. १ भर सरकारी निकायहरू व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन) गैर सरकारी संस्था लगायत सबैले लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोध पत्र वा विज्ञप्ति पठाउने कार्यक्रम समेत सार्वजनिक गरिएको छ।

 

यसरीनै पूर्व घोषित केही कार्यक्रमहरूको निरन्तरता समेत दिने निर्णय गरेको छ । यसमा सरकारी निकायहरूमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक लगाउने र लेखिएकाहरू हटाउने, मेटाउने साथै कोशी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने रहेको छ।

संघर्ष समितिले प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिष्कार कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम गर्ने र प्रदेशको नाम कोशी खारेजी संवाद एवम् मिडिया अभियान सञ्चालन गर्ने र प्रदेशको नाम कोशी खारेजी अनलाइन सभा समेत निरन्तर सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ।

 

यसरी शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु अन्तर्गत प्रदेश नं. १ प्रदेश सभा घेराउ गरी अवरोध गर्ने साथै अनिश्चितकालीन आमहडताल समेत गर्ने कार्यक्रम रहेको जनाइएको छ । आम हडताल कार्यक्रमको समय आगामी समयमा तोक लगाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर