विराटनगरमा प्रहरी र पहिचानबादि प्रदर्शनकारी विच झडप, २९ भन्दा बढि घाइते - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विराटनगरमा प्रहरी र पहिचानबादि प्रदर्शनकारी विच झडप, २९ भन्दा बढि घाइते

चैत १४, विराटनगर । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् ।


दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सांसदहरू सहभागी हुने भएपछि मंगलबार पहिचानवादीहरु विराटनगरस्थित सो होटल नै घेराउ गरी प्रदर्शन गरेका हुन् ।


यूएनडीपीको आयोजनामा आज र भोलि कार्यक्रम हुने तय थियो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविज्ञ स्वर्णिम वाग्लेले प्रवचन दिने कार्यक्रम थियो । तर, कार्यक्रम सुरु हुनुअगावै पहिचानवादीले प्रदर्शन सुरु गरेका थिए ।


होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि प्रदर्शनकारीहरुले नाराजुलुसँ गर्दै प्रहरी घेराउ तोड्न खोजेपछि प्रहरीले १७ राउण्ड हवाई फायर र ४४ सेल भन्दा धेरै अश्रुग्यास प्रहार गरेको वताइएको छ । सो क्रममा आन्दोलनकारी पक्षबाट शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई, एन के दर्नाल, सुरज राई, सरोज लिम्बु, अशोक राई, पदम लिम्बु, विशाल राई, रेशम राई, रोयल राई, विमल किराँती र आस्था राई गरी १३ जना रहेका छन् भने प्रहरी तर्फ डिएसपी विजय श्रेष्ठ सहित १५ जना घाइते भएको जनाइएको छ । घाइते आन्दोलनकारीहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार भईरहेको छ ।


प्रदेश नं. १ को पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ ।


गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा झडप हुँदा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । शहीदलाई राष्ट्रिय शहीद घोषणा गरी सरकारलाई उचित क्षतिपूर्तिको माग समेत संघर्ष समितिले राख्दैआएको छ ।

सम्बन्धित खवर