प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा थप सशक्त आन्दोलनको घोषणा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा थप सशक्त आन्दोलनको घोषणा

बैशाक २५, काठमाडौं । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले बैशाख २६ गते देखि जेठ दोस्रो हप्तासम्मको थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

 

काठमाडौंमा सोमबार प्रत्रकार सम्मेलन गरी प्रदेश नाम कोशी खारेजी गर्न जनजागरण अभियानलाई तीव्रता दिनेदेखि निकट भविष्यमा हुने प्रदेश सभा अधिवेशन केन्द्रित विशाल जनप्रदर्शनको व्यापक तयारी गर्नेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

 

प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्ति लेखिएको छ, ‘प्रदेश नं. १ को नाम छापामार शैलीमा एकल शासक जातीय, नश्लीय एवम् गोत्रीय कोशी राखिएपछि हामी संघर्षको मैदानमा छ । कोशी नाम खारेजीको आन्दोलनको क्रममा देशभक्त एवम् पहिचानवादी भूमिपुत्र पदम कुमार लिम्बू ‘लाजेहाङ’ को नश्लवादी राज्यद्वारा हत्या गरिएको साथै फागुन १७ देखि दुई महिना बितिसक्दा पनि त्यहाँ उठेको माग मुद्दालाई सम्बोधन गर्नुको सट्टा राज्य पक्ष कानमा तेल हालेर बसिरहेको छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा सहभागी दर्जनौ घाइते अवस्थामा छन, १३ जनाभन्दा बढीलाई झुटा मुद्दा लगाइएको र सयौंलाई धरपकड गरिएको छ । सहिद लाजेहाइलाई अहिलेसम्म क्षतिपूर्ति राज्यले दिएको छैन । राज्य पक्षको यो व्यवहार हेरेर गाउँ गाउँका जनमानसमा आक्रोश बढ्दै गएको छ ।’

 

संघर्ष समितिले पहिचान प्राप्तिको आन्दोलन जारी रहेको भन्दै, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्ष कुनै पनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पार्दै प्रदेशको नाम ‘कोशी’ राख्ने ८२ प्रदेश सभा सदस्य र नश्लीय नाम राख्न निर्देशन गर्ने दलका अध्यक्ष र यसको लागि मुख्य भूमिका खेल्ने मुख्यमन्त्री हिक्मत कार्की सहभागी हुने कार्यक्रममा ‘कोशी’ नाम खारेजी नभएसम्म र प्रदेश सभाबाट ऐतिहासिक पृष्ठभूमि र प्राचीन सभ्यताको आधारमा बहुपहिचानयुक्त पुनः नामाङ्कन नहुन्जेल र आन्दोलकारीहरू प्रति लागेको झुटा आरोप, मुद्दा फिर्ता र सहिद परिवारलाई क्षतिपूर्ति नदिलाउन्जेलसम्म सशक्त विरोधको आन्दोलन हुने सबैमा जानकारी गराउन चाहन्छौं ।’

संघर्ष समितिले यो आन्दोलनमा सशक्त रुपमा उत्रनका लागि सम्पूर्ण न्यायप्रेमी पहिचान पक्षधर, आन्दोलनकारी एवम् आम प्रदेश नं. १ निवासी र आम नेपाली जनसमुदायलाई हार्दिक आह्वान समेत गरेको छ ।

 

कोशी नाममा हस्ताक्षर गर्ने सांसद र उनीहरूलाई आदेश दिने दलका नाइके विरुद्ध विरोध जारी रहेको भूमिमा बहिष्कार र विरोधलाई अझ सशक्त बनाउनको लागि वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गर्ने संघर्ष समितिले जनाएको छ ।

 

त्यसैगरी वैशाख २८ बाट ८२ सांसद र उनीहरूका दलीय शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थान, उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधका कार्यक्रम गर्ने र यसका लागि होटलमा बस्न र कार्यक्रम गर्न हल नदिन सम्बन्धित पक्षहरूलाई अनुरोध पत्र दिने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिको एक घटक पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

वैशाख २८ बाट ‘कोशी’ नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला आमसभा, संघर्ष समिति विस्तार, तालाबन्दी, ‘कोशी’ नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने, ८२ सांसद बहिष्कार कार्यक्रम जारी एवम् तीव्रता दिने संघर्ष समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यसरी जेठ २ देखि ५ गतेसम्म प्रदेश १ को १४ वटै जिल्लाका मुख्य स्थानहरूमा संघर्ष समितिका केन्द्रीय नेताहरूको सहभागितामा प्रदेश नाम ‘कोशी’ खारेजी गर्न जनजागरण अभियानलाई तीव्रता दिने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

आगामी जेठ दोस्रो हप्ताको प्रारम्भमा संघर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको बृहत् भेला आयोजना गर्ने साथै प्रदेशको नाम ‘कोशी’ खारेजीको आन्दोलनलाई व्यवस्थित गर्न पहिचानको लागि युवा शक्ति निर्माणमा तीव्रता दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर