जेठ १४ प्रदेश सभा बैठकलाई लक्षित गर्दै संघर्ष समितिद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेठ १४ प्रदेश सभा बैठकलाई लक्षित गर्दै संघर्ष समितिद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

जेठ १०, दमक । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जेठ १४ गतेदेखि प्रदेशको राजधानी बिराटनगर केन्द्रित आन्दोलन गर्ने भएको छ ।

 

प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामाकरण गर्नुपर्ने मागसहित आन्दोलनरत संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

 

प्रदेश सरकारले आन्दोलनकारीका माग सम्बोधन गर्नुको साटो पेलेर जाने नीतिका साथ जेठ १४ गते २ बजेबाट प्रदेश सभाको नीति तथा कार्यक्रमबारे छलफल डाकेको भन्दै संघर्ष समितिले आन्दोलन घोषणा गरेको हो ।

 

प्रदेश सरकारले प्रदेशको नीति तथा कार्यक्रम बारे छलफलका लािग जेठ १४ गते २ बजेलाई प्रदेश सभा बैठक आह्वान गरिसकेको छ । बैठकलाई प्रभावित पर्न आन्दोलनरत पक्षले भने आन्दोलन घोषणा गरेको छ । आन्दोलनको प्रकृति शान्तिपूर्ण हुने बताइएको छ ।

 

जारी संघर्ष समितिको विज्ञप्तिमा भनिएको छ –‘आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार मानमा तेल हालेर बस्नुका साथै उल्टै आन्दोलनरत जनतालाई आक्रोशित पार्ने प्रयास भइरहेकाले २०८० जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’

समितिले विज्ञप्तिमार्फत शान्तिपूर्ण सशक्त आन्दोलनमा जुट्न प्रदेशवासीमा आह्वानसमेत गरेको छ । समितिले प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले आफूहरुलाई च्यालेन्ज दिएको भन्दै त्यसलाई स्वीकार गर्दै आन्दोलन घोषणा गरेको विज्ञप्तिमा भनिएको छ ।

 

आन्दोलनका क्रममा १ सय ५० भन्दा बढी आन्दोलनकारी घाइते भएको, १५ जनामाथि विभिन्न मुद्दा लगाइएको र केही आन्दोलनकारी पुर्पक्षका लागि जेलमा रहेका समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

आन्दोलन कुनै पार्टी र समुदायप्रति लक्षित नभइ प्रदेशको नाम कोशी नाम राख्न निर्देशन दिने एमाले अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सभा सदस्यहरुविरुद्ध लक्षित रहेको बताइएको छ ।

 

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट प्रदेशको नाम कोशी घोषणा गरिएको थियो । त्यसलगत्तै पहिचान पक्षधर राजनीतिक र जातीय संघसंस्था र संगठनहरुले विभिन्न समयमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

 

गत चैत ५ गते प्रदेश राजधानी बिराटनगरमा भएको विशाल जनप्रदर्शनका क्रममा प्रहरीको लाठी टाउकोमा लागेर गम्भीर घाइते भएका पदम लिम्बू (लाजेहाङ) को चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । नेपाल सरकारले लिम्बूलाई सहिद घोषणा गरेको छ ।

त्यस्तै गत वैशाख २६ गते झापाको दमकमा संघर्ष समितिले आह्वान गरेको राँके जुलुशका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप उत्पन्न भई गोली चल्दा चुलाचुलीका गजेन्द्र फागोको देब्रे घुँडामा गोली लागेको थियो । उनको हाल राजधानीस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

 

सुरक्षाकर्मीतर्फ समेत आन्दोलनका क्रममा विभिन्न समयमा धेरै संख्यामा घाइँते हुँदै आएका छन् ।

 

सम्बन्धित खवर