प्रदेशको नाम ‘कोशी’ प्रस्तावक राम रानालाई गृह जिल्लामा मोसो दलियो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेशको नाम ‘कोशी’ प्रस्तावक राम रानालाई गृह जिल्लामा मोसो दलियो

जेठ २५, इलाम । प्रदेश नं. १ को नाम ‘कोशी’ प्रस्तावक एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले गृह जिल्लामा मोसो दलेका छन् ।

बुधबार इलाम नगरपालिका ११ सोयाकमा मगरलाई मोसो दलेको प्रदेश १ पुनः नामकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिमले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आज ०८० जेठ २५ गते इ.न.पा-११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई सोयाकबासी जनताले करिब सवा ११ बजेको समयमा अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पूरै कालो मोसो मोबिलले स्वागत गरी पठाइएको र उहाँ सवार सेतो गाडी पनि कालो मोबिलले रंगाएर सजाइ पठाइएको खबर छ ।’

यसैगरि पहिचान पक्षधरले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई समेत दुर्व्यवहार गरेका छन् । उनी सवार गाडी छेकेर आक्रमणको प्रयास गरिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

कोशी प्रदेश सरकारले गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर सडक आन्दोलनले उग्ररूप लिन थालेपछि बुधबार पहिचान पक्षधरको आन्दोलनको माग सुनुवाइ गर्नका निमित्त खानेपानी, सिचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङवोको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठनसमेत गरेको छ ।

तर, पहिचान पक्षधरले भने कोशी विधेयक खारेज गर्नुपर्ने र अल्पमतको सरकारसँग वार्ता नगर्ने अडान लिएको छ ।

सम्बन्धित खवर