बैंक र सहकारीको रिण तिर्न गरिएको पालिकाको आग्रह अवाज्ञा गरिने  - Mangsebung News
  • सोमबार, मङि्सर २५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बैंक र सहकारीको रिण तिर्न गरिएको पालिकाको आग्रह अवाज्ञा गरिने 

असार २५, दमक । मेडिकल व्यवसयी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्टृयता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले दमक नगरपालिकाले बैंक र सहकारीका रिणीले ब्याज र किस्ता तिर्न भनी जारी गरेको सूचना तत्काल फिर्ता लिन माग गरेको छ ।

सोमबार झापाको दमकमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो माग गरेको हो ।

महाअभियानका दमक नगर अध्यक्ष रामकुमार उपाध्याय नेपालले दमक नगरपालिका र शिवसताक्षी नगरपालिकालगायतले सूचना जारी गरेर पीडित रिणी र व्यवसायीहरुमाथि अनावश्यक दवाव सिर्जना गर्न खोजेको भन्दै सो कदमको प्रतिवाद गरिने बताएका हुन् ।  ‘आर्थिक मन्दीले थलिएका व्यवसायीहरुलाई थप दवाव  दिने कार्य तत्काल नरोकिए हामी कडा आन्दोलनमा उत्रनुको विकल्प छैन’, नेपालले भने ।

सूचना फिर्ता लिने बारे महाअभियानले असार १७ गते दमक नगरपालिकामा ज्ञापन पत्र बुझाइएको बिक्रम ताजपुरियाले बताए ।

तर, दमक नगरपालिकाले भने सूचना बारे थप कुनै सूचना जारी गरेको छैन ।

दमक नगरपालिकाका सहकारी शाखा  प्रमुख इच्छाराम चम्लागाईले महाअभियानको ज्ञापन पत्र बारे आफूलाई जानकारी नभएको बताए । ‘हामीले नगर प्रमुखज्यूकै निर्देशनमा सूचना जारी गरेका हौं । ज्ञापन पत्र उहाँलाई बुझाएको हुन सक्छ । त्यो बारे मलाई थाहा भएन ।’ महाअभियान अन्तरगत शिव सताक्षी नगरपालिकाकी अध्यक्ष मञ्जु ताजपुरियाले समेत विज्ञप्ति जारी गरेर रिण तिर्न गरिएको आग्रहको विरोध गरेका हुन् ।

उनीहरुले खाएको रिण तिर्ने तर त्यसको निम्ति राज्यले निश्चित समय उपलव्ध गराउनु पर्ने माग गरेका छन् । नेपाले भने -‘आर्थिक मन्दी हट्नु पर्यो । हामीले व्यापारबाट कमाउन पाउनु पर्यो । अनि पो तिर्न सकिन्छ । नतिर्ने भनेकै होइन । तर, त्यति समय त राज्यले जिम्मेवारी लिइदिनु पर्यो नि ।’

सम्बन्धित खवर