राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको सालिक तोडफोड गर्नेलाई संघद्वारा कार्वाहीको माग - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको सालिक तोडफोड गर्नेलाई संघद्वारा कार्वाहीको माग

साउन ५, माङसेबुङ । किरात धर्म दर्शनका पुनः उत्थापक, महान दार्शनिक, समाज सुधारकका साथै नेपालका राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको पुर्ण कदको सालिक तोडफोड गर्नेलाई कानुनी कार्वाही गर्न माग गरिएको छ ।

प्रदेश नं १ पान्थर जिल्ला फिदिम नगरपालिका वडा नं १० स्थित खलंगाटारमा फिदिम नगरपालिका समेतको समन्वय र सहयोगमा निर्माण गरिएको सालिक विहिबार विहान महागुरूको दाहिने हात र त्रिशूल जबर्जस्त भाँचेको अबस्थामा पाइएकोले किरात धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघले विज्ञप्ती जारी गर्दै दोषीलाई कार्वाही गर्न माग गरेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गते बिहान कुनै अमुक अपराधी वा आपराधिक समूहले महागुरूको दाहिने हात र त्रिशूल जबर्जस्त भाँचेको अबस्थामा पाइएको कारण किरात धर्मावलम्बी एवं उहाँका समस्त अनुयायीहरूको भावनात्मक चोट लाग्नका साथै गम्भीर ध्यानाकर्षण भएको छ ।’

महागुरू फाल्गुनन्दको अध्यात्मिक एवं दार्शनिक चिन्तनले आज दिनानुदिन अनुयायी विश्वभरी बढ्दो क्रममा र महागुरूको सम्मानमा यत्रतत्र सालिकहरू निर्माण हुने क्रम बढिरहेको भन्दै विज्ञप्तिमा थप लेखिएको छ, ‘नेपाल सरकार नै राष्ट्रिय विभूतिको संरक्षक भएको र संविधानको प्रस्तावनाको भावना विपरित कार्य भएको हुँदा संविधानको धारा ४, मुलुकी अपराध संहिता २०७४ को दफा १५२, १५५ र १५६ बमोजिम नेपाल सरकारमार्फत तदारूकता साथ दोषीलाई खोजी गरी पत्ता लगाई कार्वाही प्रक्रिया अघि बढाउन आग्रहका साथ यो विज्ञप्ति जारी गरिएको छ ।’

सम्बन्धित खवर