फोनिज २४ औँ स्थापना दिवसमा छ प्रतिभा सम्मानित साथै संवाद कार्यक्रम हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज २४ औँ स्थापना दिवसमा छ प्रतिभा सम्मानित साथै संवाद कार्यक्रम हुने

साउन २५, दमक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले यस वर्ष विभिन्न छ जना प्रतिभालाई सम्मानित र पुरस्कृत गर्ने भएको छ ।

आफ्नो २४ औँ स्थापना दिवसको अवसर पारेर प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजना गरिने बृहत् समारोहका बीच फोनिजले स्थापना गरेको राष्ट्रिय पत्रकारिता सम्मान र पुरस्कार वितरण गरिन लागिएको हो ।

यस वर्ष फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० बाट सरोकार टेलिभिजन काठमाडौंका दिलिप थापामगर सम्मानित हुँदैछन् भने फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० बाट नेपालभाषा टाइम्स दैनिक, काठमाडौं सम्मानित हुने छ ।

त्यस्तै, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० बाट किसन राई (मरणोपरान्त), हङकङ, देव पचभैया मगर, श्रीनगर एफएम, पाल्पा, जीवन लामा, कालिन्चोक सन्देश, दोलखा र उन्नति चौधरी, केर्नीन्यूज, कैलाली पुरस्कृत हुँदैछन् ।

फोनिज संघीय महासचिव मिलन लिम्बूले बिहीबार जारी गरेको प्रेस नोटमा सम्मानित र पुरस्कृत प्रतिभाहरुको बारे जानकारी दिइएको छ ।

फोनिज संघीय समितिले पुरस्कार तथा सम्मान छनोट गर्न निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहनुभएको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरिएको थियो ।

फोनिजले २८ गते आइतबार बिराटनगरमा नै पहिचानको आन्दोलन : अबको बाटो शीर्षकमा संवाद कार्यक्रम आयोजना गर्दै छ ।

सो कार्यक्रममा वक्ताका रूपमा प्राद्यापक डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक खगेन्द्र संग्रौला र वरिष्ठ पत्रकार भवानी बराल सहभागी हुने छन् ।

त्यस्तै फोनिजका विभिन्न प्रादेशिक समिति र जिल्ला समिति, प्रवास समितिहरुले समेत २४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउने बताइएको छ ।

२४ औँ स्थापना दिवसमा आयोजना गरिने सबै कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको फोनिज संघीय सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर