संगीत जीवनको अंग हो : सञ्चमान - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत जीवनको अंग हो : सञ्चमान

संगीत इश्वरको बरदान हो । संगीत साधना हो । संगीत पूजा अनि भक्ति हो । त्यसैले त संगीतले जो कोहीलाई सजिल्यै मन्त्र मुग्ध पार्न सक्छ । संगीतको यिनै शक्तिको आकर्षणले गर्दा होला बाल्यकालमा आमाले धान नाच्दा पालाम गाएको सुनेर गीत संगीतमा लाग्ने प्रेरणा अनि हौसला मिल्यो गायक सञ्चमान ताम्लिङ सुब्बालाई ।

बाल्यकालदेखि नै गीत गाउँन रुचि र सपना थियो गायक ताम्लिङको । तर त्यो सपना उनले १६ वर्षपछि मात्र पूरा गर्न पाए । त्यसपछिको उनको लगाबले गर्दा खास गरी लिम्बू गीत संगीतमा लाग्ने पछिल्लो पुस्ताका लागि अहिले प्रेरणाका स्रोत बनेका छन् सञ्चमान । उनी लिम्बू गीत संगीत सम्बन्धी खोज अनुसन्धान कर्ता समेत हुन् । त्यसैले पनि उनका गीतहरुमा मुन्धुम, संस्कार, संस्कृति झल्किने गर्दछन् ।

‘इतुङाङ वये’ बोलको लिम्बू गीत पहिलो पटक रेकर्ड गरेर गायन यात्रामा पाइला चालेका सञ्चमानले ११ वटा गीति संग्रहहरु सार्वजनिक गरिसकेका छन् भने, सय धन्दा बढी गीतहरुमा आवाज दिएका छन् । उनका गीति संग्रहहरु कदाविट फेङु(सन् ः २००३), माङसेवा सुङ (२००६), का–खापसुविट फेङ (२००८), नाजुमफो(२००९), काह–मिङ–ओ(२०१०), काह हुसिङविट फेङ (लिम्बू नर्सरी राइम्स्)(२०११), काह नासाङ ओ(२०१२), कनचिट टङ(नर्सरी राइम्स)(२०१३), काह माङढुक–ओ(लिम्बू भजन लगायत पोबेनछा ग्रुप संकलन)(२०१४), काह इङकबोङ(२०१८), आह मिम्जिीमा फुङ ए (२०१९) रहेका छन् ।

‘संगीत जीवनको अभिन्न अंग हो’ सञ्चमान भने, ‘सुर र तालको माध्यमबाट मनको व्यथाहरु बग्ने तरंगहरु नै संगीत हो । इश्वरीय प्रेम, सम्बन्धीय प्रेम र पारिवारिक प्रेम गरेर जीवनमा तीन प्रकारका प्रेम सम्बन्धहरु हुन्छन् । ती तीन नै प्रकारका प्रेम सम्बन्धबाट म अछुतो छैन् भन्दा फरक नपर्ला ।’ अहिलेसम्म औपचारिक संगीत शिक्षा भने नलिएको सञ्चमानको भनाई छ । अनुभव, मेहेनत र लगनशिलताले संगीतको ज्ञान आर्जन गर्न सकिने उनको भनाई छ ।

सुखिम साप्सक साप्लोन चुम्भो र सिक्किम लिम्बू सिङ्गर संघको महासचिव साथै वाई.एम.सी.सी र श्रीजंगा कल्वका सांस्कृतिक सचिव समेत रहेका सञ्चमान भविष्यमा जाति, भाषा, लिपि, संस्कृति र साहित्यलाई संरक्षण गर्दै अघि बढाउने अठोट र लक्ष रहेको सुनाउँछन् । पारिवारिक सहयोग राम्रो रहेको बताउने सञ्चमान भारतको सिक्किम राज्य अन्तर्गत गेजिङ जिल्ला हुलाक डराप थेगुपाङभेका स्थायी बासिन्दा हुन् । उनको जन्म सन् १९८२ अप्रिल ६ मा भएको हो ।

थुप्रै गीतहरु सृजना गरेर कुसल गीतकारको रुपमा समेत छवि बनाएका सञ्चमान – Initial Limboo Song Presentation at Al India Radio Gangtok w.e.f. मा सन् १९९९ देखि हालसम्म कार्यरत रहेका छन् । सन् २०१० मा अल इन्डिया रेडियो गान्टोक बी. + २ पास र आकाशबाणी बी + १ अडिसन समेत प्राप्त गरेका उनले उत्तर पूर्विय क्षेत्र सांस्कृतिक केन्द्र, सांस्कृतिक मन्त्रालय, भारत सरकारद्वारा सञ्चालित गुरु–शिष्य परम्परा योजना अन्तर्गत एक वर्षको लागि संगीत शिक्षकको रुपमा समेत काम गरेका छन् । जसमा याःलाक (पालाम), हाक्पारे, ख्याली गाउन र नाच्न सिकाउने गर्थे ।

अल इन्डिया रेडियो गान्तोक र अल इन्डिया रेडियो सिलङ्गबाट सय भन्दा बढि गीत रेकर्ड गरिसकेका सञ्चमानले गीति संग्रह पुस्तक समेत प्रकाशन गरेका छन् । पाश्र्व गायनमा समेत दखल राख्ने, लिम्बू भाषामा दखल राख्ने माधुर्य बोली, मिजासिला स्वभाव भएका लिम्बू गीत संगीतको लागि समर्पित गायक सञ्चमान ताम्लिङ सुब्बालाई थप सफलताको लुङमेन्दिङ नोनिङवा ।

 

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर