द भ्वाइस अफ नेपाल सिजन ५ असोज ५ गतेबाट, कोचमा दूई परिवर्तन - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वाइस अफ नेपाल सिजन ५ असोज ५ गतेबाट, कोचमा दूई परिवर्तन

भदौ २८, काठमाडौं । सिङगिङ रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेबाट सुरु हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिजन ५ को घोषणा गरिएको हो । यसैगरि नयाँ सिजनका कोच पनि सार्वजनिक गरिएको छ । यस सिजनमा गायक उदय सोताङ कोचको रुपमा भित्रिएका छन् ।

यस्तै ‘भ्वाइस किड्स’मा कोच रहेकी मिलन नेवार पनि भ्वाइस अफ नेपाल सिजन ५ को नयाँ कोचमा अनुबन्धित भएकी छन् । अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनमा कोच रहेका राजेशपायल राई नयाँ संस्करणमा दोहोरिएका छन् ।

डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १ सय २० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । ब्लाइन्ड अडिसनबाट छनोट ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ । एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए ।

‘गत वर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो । त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो,’ निर्देशक पौडेलले भने, ‘यसपटक धेरै जना ग्रामीण भेगबाट मौलिक आवाज आएका छन् । ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १ सय २० प्रतिभा साँच्चिकै अद्भूत छन् ।’

कोच उदय सोताङले आफ्ना लागि नयाँ अनुभव भएकाले पनि रमाइलो लागिरहेको बताए । अर्का कोच राजेशपायलले अघिल्लो सिजनको अनुभवलाई आफूले नयाँ सिजनमा पेश गर्ने बताए ।

सम्बन्धित खवर