प्रदेशभर जसपाले आफ्ना नेतालाई जिम्मेवारी तोक्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेशभर जसपाले आफ्ना नेतालाई जिम्मेवारी तोक्यो

असोज १०, इटहरी । जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ समितिले पार्टी सुदृढीकरणको लागि घोषित तीन महिने अभियान सम्पन्न गर्न जिम्मेवारी तोकेको छ ।

जसपा नेपाल प्रदेश १ समितिको असोज ७ गते सम्पन्न बैठकले पार्टीले घोषणा गरेको ३ महिने पार्टी सुदृढीकरण अभियान सम्पन्न गर्न १३७ पालिकभरि नेताहरु खटाउने निर्णय गरेको हो । जसपा केन्द्रीय समितिले भदौ महिनादेखि सुरु भएर कार्तिक मसान्तमा सम्पन्न हुनेगरी तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन क्षेत्रका आधारमा पार्टीका नेताहरुलाई सिङ्गो जिल्ला वा निर्वाचन क्षेत्रको जिम्मेवारी तोकिएको जसपा नेपाल प्रदेश १ अध्यक्ष दिपक याक्खाले जानकारी दिए । ‘बढी जनसंख्या भएका झापा, मोरङ, सुनसरीका विभिन्न पालिकाहरुमा दुईदेखि पाँच जनासम्म प्रदेश नेताहरुलाई जिम्मेवारी दिएका छौं’, याक्खाले भने ।

तीन महिने अभियानमा नेताहरुले आ–आफ्नो जिम्मेवारी रहेको भूगोलमा पार्टी सदस्यता नवीकरण÷वितरण, संगठन विस्तार, पार्टीका तहगत समितिहरुको गठन वा पुनर्गठन र सुदृढीकरण कार्य गर्नुपर्ने बताइएको छ ।

पार्टी कार्यालय समिति र इन्चार्ज तोकियो

यसैबीच सोही बैठकले जसपा प्रदेश पार्टी कार्यालय समिति गठन गरेको छ । मुख्य सचिव घनश्याम कटुवाल प्रमुख रहेको सो समितिका सदस्यहरुमा घनराज सुब्बा, आइत चेम्जोङ, टंक मोक्तान र मनोज यादव सदस्य छन् ।

त्यसैगरी समाजवादी विद्यार्थी इन्चार्जमा भरत याक्खा र सह–इन्चार्ज आइत चेम्जोङलाई तोकिएको छ भने समाजवादी महिला इन्चार्जमा शर्मिला आङ्देम्बे र युवा इन्चार्जमा गौरीमान राई र सह–इन्र्चाजमा मनकला लिम्बूलाई जिम्मेवारी तोकिएको प्रदेश सचिव हस्त शोभा राईले जानकारी दिइन् ।

सम्बन्धित खवर