कुम्मायक गाउँपालिकामा मगर समुदायको जागरण अभियान कार्यक्रम सम्पन्न - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा मगर समुदायको जागरण अभियान कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

असोज १२, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा नेपाल मगर संघ कुम्मायक समितिद्वारा आयोजित जनजागरण तथा भेटघाट अभियान कार्यक्रम सम्पन्न भएको छ ।

जहाँ मगर त्यहाँ मगर संघ भन्ने मुल नाराका साथ शुक्रबार भएको सो कार्यक्रममा इतिहासको विभिन्न कालखण्ड देखिनै मगर समुदायलाई एकाधिकारवाद चिन्तनले ग्रसित राज्य सम्यन्त्रले विभेद पुर्ण व्यबहार गरेको बताइएको छ ।

हामी रैथाने मुलवासी हौ सबै जातिका नागरिकहरु सचेत हुनु जरुरी छ तसर्थ अब राज्यको शासन सत्ता हातमा लिन बुलेटले होइन ब्यालेट द्वारा मात्र संभव भएको नेपाल मगर संघका महासचिव टेकबहादुर नाम्जालिले बताए । जबसम्म मुलुकको राजकीय बागडोर सन्चालनमा यो देशका मुलबासि नागरिकहरु हिम्मतका साथ सत्तामा पुग्दैनन तबसम्म नेपाल र नेपालीको अवस्था गरिबिकै रेखामुनि रहिरहने उनले भने ।

भौतिक बिकासले मात्रै समृद्धि नआउने भएकोले अब ग्रामीण स्तर बाट नै आफ्नो भाषा लिपि कला सस्कृति र पहिचान प्रती सङ्गठित भएर सचेतना तथा जागरण अभियानलाई तिब्र गति दिनको विकल्प नभएको आदिवासी जनजाति महासंघ कुम्मायक गाउपालिकाका सस्थापक अध्यक्ष तारानाथ सम्बाहाम्फे र किराँत याक्थुङ चुम्लुङका केन्द्रिय निवर्तमान सदस्य गणेश चेम्जोङले बताए ।

छोटो समयमै कुम्मायक गाउपालिकामा रहेका मगर समुदायहरु सङ्गठित भएर अघि बढेकोमा नेपाल आदिवासी जनजाति महासंघ कुम्मायक गाउँकार्य समितिका अध्यक्ष दुर्गा बम्जन र किरात याक्थुङ चुम्लुङ कुम्मायकका निवर्तमान सचीव तेजेन्द्र चेम्जोङले शुभकामना व्यक्त गरेका थिए ।

सो समारोहमा नेपाल मगर संघ १ नम्बर प्रदेश कार्य समितिको असोज ११ देखि १६ गते सम्म १४ जिल्ला मगर जागरण तथा भ्रमण कार्यक्रमका केन्द्र, प्रदेश र जिल्लाका सहभागी प्रतिनिधि टिमको समेत उपस्थिति रहेको थियो । कुम्मायक गाउँपालिकामा जम्मा ८० घरधुरी रहेको मगर समुदायका भाषा तथा लिपि प्रवर्द्धनका लागि स्थानीय सरकारले बिधालयमा भाषिक शिक्षक राखेर मगर भाषा लिपि पढाउन सकिने १ नम्बर वडा अध्यक्ष देवेन्द्र लावतिले बताए ।

गाउँपालिकामा रहेका मगर समुदायका बिकास र मौलिक उनीहरुको हकहित तथा भाषा लिपि र सस्कृतिलाई पहिचान गर्दै १ नम्बर वडाको आर्थिक सहयोगमा ८ लाख रुपैयाँ रोधिघर निर्माण गर्ने योजना रहेको वडाअध्यक्ष लावतिले भने । उक्त रोधिघर भवन निर्माणकार्यका लागि नेपाल मगर संघका केन्द्रिय सदस्य हरि थापा मगरले पनि ५० हजार आर्थिक सहयोग गर्ने बताए ।

खाल्डे सभाहलमा भएको सो कार्यक्रममा नेपाल मगर संघका प्रदेश अध्यक्ष तेजकुमार आले मगर, सचीव पार्वती मगर लगायत केदार राणा मगर र शान्ति आले मगरको पनि उपस्थिति रहेकोे थियो । उक्त जागरण अभियान कार्यक्रम कुम्मायकका मगर संघ कलाकारहरूको सास्कृतिक नृत्य सहित अशोक राणा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर