महागुरु फाल्गुनन्दको दर्शनमा उत्तरआधुनिक सापेक्षता - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दको दर्शनमा उत्तरआधुनिक सापेक्षता

  • सन्जित फलाना

दार्शनिक ह्यारोल्ड ब्लुमका अनुसार प्रत्येक पठन भ्रम पठन हो । (All Reading is misreading) कुनै पठन फाइनल नभएर एक भ्रमपाठ, अहिलेको लागि र व्यक्तिगत बुझाइ मात्र हो । विषयपरक निरूपण मात्र हो, वस्तुगत अन्त्य हैन । यो भनाइलाई गहन रूपमा बुझ्ने हो भने पठनको सार्थकता केवल शब्द र अक्षरहरूको सोझो अर्थ केलाउनु मात्र नभएर त्यसमा निर्दिष्ट बिम्बहरूको बिराटता र व्यापकताको क्षितिज चियाउनु पनि हो । यहाँ मैले उठाउनु लागेको कुरा हाम्रा साम्जिक मुन्धुम र महागुरू फाल्गुनन्दको सिवाखाहुनको दर्शनलाई कसरी व्याख्या र विश्लेषण गरिरहेका छौ भन्ने हो ।

महागुरू फाल्गुनन्द एक समाजसुधारक र गुरू मात्र नभएर महान दार्शनिक नि हुनुहुन्छ । वहाँको उपदेश र दर्शन किरातिहरूको धार्मिक साम्जिक मुन्धुम र सिवाखाहुन पुस्तकमा लिपिबद्ध छ । तर वहाँको दर्शन र उपदेशलाई प्राय वैज्ञानिक र बस्तुगत रूपमा व्याख्या र विश्लेषण कमैले मात्र गर्न सकेको देखिन्छ । वहाँको दर्शनको समय चेतनालाई विश्वव्यापी रूपमा कसैले हेर्न सकेको देखिँदैन । वहाँका दर्शन र विचार सायद विसौ शताब्दिको निम्ति नयाँ र.नविन थियो ।

विश्वमा उत्तरआधुनिकताको प्रार्दुभाव लगभग सन १९६७ मा जोन हप्किन्स युनिभर्सिटिमा दार्शनिक ज्याक्स डेरिडाले “Structure, sign and play in the discourse of human science“( मानव विज्ञानको संकथनमा संरचना, संकेत र खेल) भन्ने शीर्षकको नवीन विचार प्रस्तावना कृति प्रस्तुत गरेपछी मात्र सुरू भएको हो । यस घटनाक्रमलाई विक्रम संवतमा हेर्दा लगभग ५३ वर्ष पहिले यानिकी २०२४ २५ तिरको समय मान्न सकिन्छ ।

  • विश्वमा अनेकौ नवीन सोच र दर्शन देखा परि विचारहरूमा बहुलता आएको देखिन्छ । जातियताको बोध, बहुसंस्कृतिक तर्क, नारी सचेतता, यथास्तितिविरुद्ध बिद्रोह, उत्तरसंरचना, प्रतिसंवेदी समालोचना, सवाल्टर्न र किनारिकृतहरूको मुद्दाहरू यसै समयबाट अङ्कुरण भएको देखिन्छ ।

उत्तरआधुनिकताको यहीं समयबाटै विश्वमा अनेकौ नवीन सोच र दर्शन देखा परि विचारहरूमा बहुलता आएको देखिन्छ । जातियताको बोध बहुसंस्कृतिक तर्क, नारी सचेतता, यथास्तितिविरुद्ध विद्रोह, उत्तरसंरचना, प्रतिसंवेदी समालोचना, सवार्ल्टन र किनारिकृतहरूको मुद्दाहरू यसै समयबाट अङ्कुरण भएको देखिन्छ । तर महागुरू फाल्गुनन्दको दर्शन र विचारलाइ हेर्ने हो भने वहाँले १९८० तिर यस्ता नवीन विचारहरू लिम्बुवानको गाउँ गाउँसम्म फैलाईसक्नुभएको थियो । औपचारिक रूपमा त्यसलाई वि.स १९८८ मा सत्य धर्म मुचुल्काको नामबाट व्यापक बनाउनु भएको थियो । जसमा मात्रै सातवटा बुँदाहरू थिए । त्यही सत्य धर्म मुचुल्काको माध्यमबाट वहाँले नारी शिक्षा र समानताको संखघोस गर्नुभएको थियो । जुन कुरो सन १९६७ पश्चात मात्रै सिमोन दा बुभार, हेलेन सिक्स र अन्य फेमिनिस्टहरूले उदघोस गरे । त्यस्तै त्यही मुचुल्कामै अहिंसा र विश्व शान्ति शाकाहारी भोजनमा जोड, धर्म, संस्कार र संस्कृतिमा जोड, मातृशिक्षामा पहुँच, कृषि सान्दर्भिकता जस्ता विषयमा विचार प्रसार गर्नु भएको थियो । जबकी मातृभाषामा शिक्षा आजको अपरिहार्यता बनेको छ । वहाँको विचार एक तरिकाले त्यतिबेलाको यथास्थितिबिरूद्ध परिवर्तन र नबिनताको आवाज थियो । तर दुर्भाग्यवस वहाँको विचार र दर्शन त्यतिबेलाको जहाँनिया राणा शासनले ओझेलमा पार्यो ।

दार्शनिक मिसेल फुकोले ‘शक्ति र ज्ञान’को विषयमा भन्नुहुन्छ कि मानिसहरूको शक्ति उनीहरूले विभिन्न निकाय, संस्थान र विद्यालयहरूमा हासिल गरेको ज्ञान र शिक्षाको आधारले मापन गर्दछ । यसको अर्थ यो हो कि हामी जति शिक्षित हुन्छौ उति नै शक्तिशाली । अब यसलाई महागुरू फाल्गुनन्द ज्युको सापेक्षतामा हेर्ने हो भने वहाँले शिक्षाको बारे उहिल्यै बकेका पाउँछौं । अझ लिम्बु जातिहरू जस्ता राज्यको राजनैतिक, सामाजिक र आर्थिक पहुँचबाट किनारिएका एक अर्थमा सवाल्टर्नहरू शक्तिशाली भई राज्यको राजनिती, समाजशास्त्र र अर्थनितिहरूको मुल पहुचमा उक्लिन बिद्यालय र विश्वविद्यालहरूको शिक्षामा अग्रसर हुन जरूर छ । साथै महागुरू ज्युको दर्शन र विचारहरूलाई हृदयंगम गर्न नि आवश्यक देखिन्छ । अधि कुरा गरियो हामिले वहाँको दर्शनको सान्दर्भिकता केवल त्यसले दिने अर्थ र बिम्बहरूमा सिमित नगरेर त्यसले आममानव समुदायको कर्म र व्यवहारमा पार्ने प्रभावमा नि हेर्न सकिन्छ ।

हरेक महामारी रोगहरुको उत्पती मांसाहारी भोजनबाट भएको मानिएको छ । यसरी यो समयचक्रलाई हेर्दा आजभोली शाकाहारी भोजनको महत्वलाई बुझ्न सकिन्छ, जुन लगभग आजभन्दा ८०÷९० वर्ष अगाडिनै महागुरू ज्यूले संकेत गरिसक्नुभएको थियो । त्यसैगरी कृषिको सान्दर्भिकता आजभोली जुन रूपमा हामी मनन गरिरहेका छौं यसलाई नि त्यतिबेलै महागुरुज्युले निर्दिष्ट गरिसक्नुभएको थियो । वहाँले पुजापाठ र सेवाभक्तिमा दिनुभएको जोडलाई आजको जर्जर संसारिक महामारीको त्रासमा हेर्दा सान्दर्भिक नै देखिन्छ । वहाँले त्यतिबेलै समयकालको खराबीको संकेत गर्नुहुदै प्राकृतिक जीवनयापनमा जोड दिनुभएको थियो । प्रष्ट हुन्छ, महागुरू फाल्गुनन्द कति दुरदर्शी दार्शनिक र स्पष्ट भविष्यवेत्ता हुनुहुन्छ ।

  • सत्यको स्वरूप सँधै अस्थिर र चलायमान रहेछ । यसरी अर्थलाई बद्दस्वरूपबाट मुक्ती दिएर अरू वैकल्पिक अर्थहरू आउन आउन सक्ने सम्भावनालाई, त्यस्तो प्रयत्न वा कर्मलाई विनिर्माण भनिन्छ । अब महागुरू फाल्गुनन्दको सिवाखाहुन र किरात साम्जिक मुन्धुमको पनि तर विनिर्माणिक पठन हुन जरूर छ ।

दार्शनिक ज्याक्स डेरिडा विनिर्माण Deconstruction मा भन्नुहुन्छ । समयले छोपेका सत्यहरूलाई खोतल्दै प्रकट गर्दै हाम्रा दृष्टिकोणमा परिवर्तन गर्दै अनि सत्यमा थपघट गर्दै जानुपर्ने रहेछ । सत्यको स्वरूप सँधै अस्थिर र चलायमान रहेछ । यसरी अर्थलाई वदस्वरूपबाट मुक्ती दिएर अरु वैकल्पिक अर्थहरू आउन सक्ने सम्भावनालाई त्यस्तो प्रयत्न वा कर्मलाई बिनिर्माण भनिन्छ । अब महागुरू फाल्गुनन्दको सिवाखाहुन र किरात साम्जिक मुन्धुमको पनि बिनिर्माणिक पठन हुन जरूर छ । सिवाखाहुनलाई हेर्दा थुप्रै यस्ता शब्द, वाक्य र चेतनालाई पठन गर्न सकिन्छ जसले व्यापक अर्थबोध गराउँदछ । जस्तै वहाँले हर्दम भनिरहनुभएको खाहुन ‘माङ् निङवारे माङ् आबोङ, हाङ निङ्वारे आयोड, योक निङ्वारे योक आबोङ, लायो निङ्वारे आमेक्लो, थुडमेलो थि निवारक ई, चामेन्लो सा मिक्वारक था, सेनिङ्वा सेसे लरेम्मेओ, फोनिङ्वा फोभो लरेम्मेओ ।’ भनालाई हेर्ने हो भने हामिले सिधा अर्थ मात्रै नलाएर कस्तो कर्म, वचन, व्यवहार र भोजनलाई अनुसरण गर्नुपर्ने रहेछः भन्ने विश्वदृष्टिकोण बुझिन्छ ।

यसले दिने विराट अर्थबोध र दिशाबोध के हुनसक्छ हामी प्रस्टसइ बुझ्न सक्छौं । त्यस्तै साम्जिक मुन्धुममा नि स्वस्ता धेरै मुन्धुमी शब्दहरू रहेका छन्, जसको सोझो अर्थ लाउन भन्दा नि त्यसले दिने बिम्ब र प्रतिकको व्यापक अर्थको क्षितिजलाई बुझ्न र त्यसैअनुरूप व्याख्या गर्न आवश्यक छ । अहिलेसम्म प्रायः मुन्धुमविद र माङसेवासाबा ज्युहरुले ती मुन्धुमी शब्द र अलंकारहरूको बिनिर्माणिक पठन गरेको पाइएको छैन । मैले यो लेखिरहंदा फेरि मेरो पठन र बुझाई पनि भ्रमपठन बनिरहेको हुन्छ । हामिले यसरी नयाँ नयाँ दृष्टिकोण र मान्यताहरू ल्यायौं भने मात्रै अंश बनेर सत्यको नजिक पुग्न सक्छौ । त्यसै त भनिएको हैन होला, कि हामी सबै सत्यका स–साना दृष्टिकोण मात्रै हो ।

snjitfalana@gmail.com

 

सम्बन्धित खवर