लोकेनको निर्देशनमा भीम र मनुको पालाम ‘मिम्जिमा ए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेनको निर्देशनमा भीम र मनुको पालाम ‘मिम्जिमा ए’ सार्वजनिक(भिडियो सहित)

मंसिर १५, काठमाडौं । निर्देशक लोकेन साम्बा लिम्बूको निर्देशनमा लिम्बूहरुको मौलिक संस्कृतिमा आधारित पालाम साम्लो ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पालाम साम्लो ‘मिम्जिमा ए’ सार्वजनिक गरेका हुन् ।

गायक भीम लिम्बू र गायिका मनु नेम्वाङको आवाजमा सजिएको २५ मिनेट लामो पालाम साम्लो सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए ।

उनले गायक भीमसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै संगीत यात्रामा अगाडि वढेको बताए ।

‘भीमले सपना देखेर सङ्गीत यात्राको प्रारम्भ गरे’ मन्त्री किरातीले भने, ‘चौरमा बसेर गएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण छ ।’ उनले थपे, ‘मैले राजनीति रोजे र उनले सङगीत रोजे । उनको गीतसङ्गीत प्रतिको लगाव अझैँ उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’

पालामसँग लिम्बूहरुको सांस्कृतिक पहिचान जोडिएको र पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको मन्त्री राईले बताए ।

पालाममा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बु, निरन्ता नेम्वाङ्ग, शिव साम्बाहाम्फे, दीपा सुहाङले आवाज दिएका छन् ।

सुवर्ण नेम्वाङको शव्द संकलन तथा गायक भीमकै लय संकलन रहेको पालाम साम्लोमा अशोक लोहरूङ राईको संगीत संयोजन रहेको छ । राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको पालामको मिक्सिङ किशोर थापाले गरेका छन् ।

पालाम भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बु, कृष्ण सेनेहाङ, नविन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो, दिपा सुहाङको साथमा मनु नेम्बाङ र भीम लिम्बूले अभिनय गरेका छन् ।

तारेभिरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहिँ भेटघाटको क्रम बसेको मायालाई देखाइएको छ ।

दुई दशक अगाडि गीत सङ्गीतमा पाईला टेके यता गायक लिम्बूको यो लिम्बु भाषामा भने पहिलो गीत हो । भिडियोमा छायाङ्कन युवराज राई, मेकअप सञ्जु थलाङ, सम्पादन अनिल राना र फोली साउण्ड मानसी किरणले गरेका हुन् । भिडियो गायक भीम लिम्बूकै अफिसियल युट्यूव च्यानलबाट समेत सार्वजनिक गरिएको छ ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर