‘पहिचानका निम्ति जनतासँग जसपा’ अभियान सञ्चालन गर्दै जसपा प्रदेश १ - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘पहिचानका निम्ति जनतासँग जसपा’ अभियान सञ्चालन गर्दै जसपा प्रदेश १

मंसिर २०, इटहरी । जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश नम्बर १ समितिले पहिचानको नामाङ्कनका लागि जारी आन्दोलनलाई सघाउ पुर्याउने उद्देश्यले फागुन महिनामा मध्यहाडी लोकमार्गमा जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

जसपा प्रदेश १ को सोमबार पार्टी कार्यालय इटहरीमा बसेको बैठकले ‘पहिचानका निम्ति जनतासँग जसपा’ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अयिभानका दौरान लिम्बुवानको च्याङ्थापुदेखि किरात भूमिहुँदै शेर्पालुङको सल्लेरीसम्म पदयात्रा कार्यक्रम गर्ने निर्णय गरेको जसपा प्रदेश १ ले अभियानको योजना तर्जुमा गर्न दुई उपाध्यक्षसहित पाँच जनाको कार्यदल गठन गरेको अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

कार्यदलमा उपाध्यक्षद्वय प्रेम वनेम र दिपेश राईसहित सदस्यहरु आङ्छेपाल शेर्पा, विष्णु लावती र रिता राई छन् । ‘अभियानले पहिचानको आधारमा प्रदेशको पुनः नामाकरणको लागि जारी आन्दोलनमा उर्जा थप्ने छ भन्ने हाम्रो बुझाइ हो । पहिचान पक्षधर राजनीति दल हुनुका नाताले यो हाम्रो अभिभारा पनि हो’, याक्खाले भने ।

फागुन महिनामा सञ्चालन हुने सो अभियानका बारे कार्यदलले अध्ययन गरी योजना तयार गर्ने बताएका अध्यक्ष याक्खाले पार्टीका शीर्ष नेताहरुको समय अनुकूलतामा मिति तय हुने स्पष्ट पारे ।

त्यस्तै बैठकले जसपा पार्टीको विधान २०८० लाई पूर्ण कार्यान्वयन गर्न विधानको धाना ४३ को (६) अनुसार ८ जना प्रदेश सदस्यलाई प्रदेश कार्यकारिणी समितिमा मनोनित गरिएको मुख्य सचिव घनश्याम कट्वालले जानकारी दिएका छन् । जसमा कमन देवान, उपेन्द्र लावती, बलबहादुर राई, कृष्ण कट्वाल, मिना राई, गम्बु शेर्पा, राम माण्डुपा राई र देवकृष्ण यादव छन् ।

पार्टी प्रदेश समितिमार्फत प्रस्तुत ‘बैठक सञ्चालन कार्यविधि २०८०’ सोमबारको बैठकले सुझावसहित पारित गरेको र विभिन्न विभाग, संयन्त्रहरु र निकायमा जिम्मेवारी तोकिएको मुख्यसचिव कट्वालले बताए ।

सम्बन्धित खवर